दसैं घरमा फुलपाती भित्राइयो

पाल्पा, कर्नेल उजीरसिंह थापाले स्थापना गरेको दसैंघरमा अहिलेपनि परम्परागत शैलीमा सरकारी तवरबाट दसैं अवधिभर पूजा हुन्छ । परम्परा धान्न उहिलेकै शैलीमा फुलपाती भित्राउने चलन छ ।

पाल्पा दरबार परिसरमा रहेको दसैंघरमा परम्परा शनिबार बडा दसैंको फुलपाती भित्राइयोे । कोटघरमा भगवतीको सलामीसहित घटस्थापनादेखि पुजाआजा गर्ने परम्परा छ ।

सैनिक, प्रहरी र मन्दिरका पुजारी दरबार परिसरमा रहेको दसैंघरबाट बाजागाजा सहित फुलपाती लिन नेपाली सेनाको गोरखदल गण नागपोखरी व्यारेक जाने परम्परा छ ।

प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरीक्षक, सेनाका गणपति, सशस्त्र, प्रहरी, अनुसन्धान प्रमुख लगायत सेनाका अधिकृत तथा जवान र प्रहरी, कर्मचारीको सहभागिता थियो । काठमाण्डौको टुंँडिखेलमा जस्तै बढाई गर्ने र सलामी दिने चलन थियो । भगवतीको सलामी दिएपछि बाजागाजा सहित रातो डोली सहित फुलपाती लिन नागपोखरी व्यारेकभित्र जाने परम्परा छ ।

दरवारवाट बाजा बजाउदै असनटोल, नारायणटोल हुदै टुँडिखेल सेनाको व्यारेकमा फुलपाती लिन जाने परम्परा छ । तानसेन, प्रभास र विभिन्न स्थानबाट संकलन गरि ल्याइएको नौ किसिमको फुलपाती पूजाआजा सहित बोकाको वली दिएपछि पुन बजार परिक्रमा गर्दै कोटघरमा भिœयाइयो ।

भित्राउँदा सेना, प्रहरीको टोलीबाट भगवतीको सलामी दिने गरिन्छ । दसैंघरमा घटस्थापनादेखि दैनिक पुजा गर्ने गरिन्छ । दैनिक पुजाको बेला सेनाले बढाई गर्ने चलन थियो ।

यस वर्ष भने कोरोना भाइरस संक्रमणका कारण बली दिइएको छैन । भने दैनिक पूजाका लागि पनि भीडभाड गरिएन । फुलपाती लिन प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव उपरिक्षक, नेपाली सेनाको प्रमुख लगायत प्रहरी र सेना पुगेका थिए ।

राणाकालमा तानसेनको दसैघरमा गोरखा दरबारवाट नै फुलपाती ल्याउने चलन थियो । तानसेनको टुँडिखेलमा बढाई र सलामी दिँदा तानसेनवासीको उल्लेख्य सहभागिता हुने गर्दथ्यो ।

स्थानीय वासिन्दाका अनुसार अहिलेको अवस्थामा चलिआएको परम्परा धान्ने काम मात्र भएको छ । महाअष्टमीको दिनमा रणउजिरेश्वरी भगवती मन्दिरमा निशान घुमाउने र पुजा गर्ने चलन छ ।

दसै घरमा पूजाआजा गर्ने चलन छ । अष्टमीको दिनमा बली चढाउनुकासाथै तोप, सलामी अर्पण गर्ने गरिन्छ । जिल्लाको बन्दीपोखरा, भैरवस्थान, मुझुङ, छहरा, बतासे, बौघागुम्हा लगायतका स्थानमा रहेको देवीका कोटघरमा पनि पन्चेबाजा सहित फुलपाती भित्राउने प्रचलन छ ।

यसैगरी जिल्लाको जव्गादी, सिलुवा, रामपुर, अर्चले, बीरकोट, रिङनेरह लगायतका देवीका कोटघरमा पनि स्थानीयले बाजागाजा सहित फुलपाती भिœयाए । देवीका मन्दिरमा दैनिक पूजा गर्ने र सप्तीमा फुलपाती भित्राउने गरिन्छ ।

सम्बन्धित खवर