
पाल्पा ,अघिल्लो वर्ष यतिबेला माथागढी–४, झडेवाका पृथबहादुर गाहालाई चर्खे पिङ् राख्ने चटारो थियो ।
यसवर्ष उनी आफै कहाँ दसैं मनाउने हो भन्नेमा चिन्तामा छन् । गाउँका युवाहरु कहाँ छन् भन्ने समेत खासै चासो उनमा छैन । गाउँघरमा कोरोना संक्रमण त्रास बढ्दो छ ।
जसले गर्दा यस वर्षको दसैंको उल्लाख देखिएको छैन । ‘पहिलाजस्तो दसैं आएजस्तै भएको छैन,’ माथागढी–४, कै सुरेश चौहानले भने, ‘यसवर्ष दसैंको उल्लास नै छैन ।’ गाउँटोलमा राखिने लिंगे र चर्खे पिङसमेत यसवर्ष छैनन् ।
विदेश गएका र भारतबाट साथै मुलुकका विभिन्न स्थानबाट युवाहरु आउन पाएका छैनन् । दसैं अघि मुलुककै विभिन्न स्थानमा काम पाएपछि जिल्लाका कतिपय युवा काममा फर्केका छन् ।
नगद आम्दानी केही नभएपछि काम पाएका बेलामा काममा जान बाध्य भएको झडेवाकै कृष्ण रेग्मीले बताए । यी केही उदाहरण मात्र हुन् । जिल्लाका विभिन्न स्थानमा दसैंको कुनै रौनक छैन । नवदुर्गा लागेपछि भीडभाड हुने, मेला पर्व हुने स्थानमा पनि यसवर्ष चहलपहलसमेत छैन । रामपुर नगरपालिका–९, का दिलबहादुर रानाका अनुसार दसैं आएको जस्तो समेत छैन ।
नवदुर्गा सुरु भएपछि भीडभाड हुने देवीका मन्दिर र अग्लो डाँडामा रहेका कोतघर यसवर्ष सुनसान छ । भलिवल, फुटवल, क्रिकेट प्रतियोगिता हुन सकेको छैन । जिल्ला प्रशासन कार्यालयको आग्रह अनुसार सर्वसाधारण मन्दिर, कोतघरमा पूजा गर्न पुगेका छैनन् । कतिपय मन्दिरमा सामाजिक दुरी कायम गर्दै स्वास्थ्य सतर्कताका साथ पूजा गर्न श्रद्धालु पुगेका छन् ।
जिल्ला प्रशासनको आग्रहलाई मान्दै दैनिक नित्यपूजा बाहेक सर्वसाधारणका लागि पश्चिम भेगकै ख्यातीप्रँप्त भैरवथान मन्दिर पनि खुल्ला नगरिएको व्यवस्थापन समिति अध्यक्ष तुलबहादुर अधिकारीले बताए । नवदुर्गा अवधिभर भैरवनाथको दर्शन गर्न ५० हजार बढी श्रद्धालु आउने गर्थे । जिल्लाका भुवनपोखरी, मुझुङ, लिपिनदेवी, जव्गादी, सिलुवा, रामपुर लगायतका अग्ला डाँडामा रहेका कोतघरमा पनि दर्शनार्थी गएका छैनन् ।
जव्गादी कोतघरका पुजारी गोपालप्रसाद काफ्लेका अनुसार कोतघरमा परम्परा धान्ने गरी दैनिक नित्यपूजा मात्र गरिएको छ । तानसेनस्थित दसैंघरमा पनि दैनिक नित्यपूजामात्र गरिएको छ । प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले उच्च सतर्कता अपनाएर मात्र नवदुर्गाको दैनिक नित्यपूजा गर्नुपर्ने बताए ।
प्रशासन कार्यालयले उच्च सतर्कता अपनाएर परिवारभित्र मात्र चाड पर्व मनाउन विज्ञप्तिमार्फत् आग्रह गरेको थियो । चाडपर्वको अवसरमा हुने भीडभाडले महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणको जोखिम अझै बढ्ने विज्ञप्तिमा जनाइएको छ ।
उच्च सतर्कता अपनाएर परिवार भित्र चाड मनाउन आग्रह गरे अनुसार जिल्लाका देवीका मन्दिर र कोतघरमा भीड नलागेको हो । ‘दसैं, तिहार, नेपाल संवत्, छठ आदि पर्वमा यातायातका साधन, धार्मिकस्थल, पसल लगाएत सर्वजनिक स्थलमा हुने भीडभाडले संक्रमणको जोखिम अझै बढ्ने संभावना भएकाले चावपर्व मनाउने क्रममा अनावश्यक आवागमन्, भेटघाट, भेला, सराय नाँच, र मानिस जम्मा हुनेकुनै पनि धार्मिक, सांस्कृतिक वा मनोरञ्जनात्मक कार्यक्रम नर्गन तथा उच्च सतर्कता अपनाई परिवार भित्र मात्र स्वस्थ वातावारणमा आफ्नो धर्म, संस्कृति, परम्परा अनुरुप चाड पर्व मनाउन तथा अनुष्ठान सम्पन्न गर्न अनुरोध छ,’ प्रमुख जिल्ला अधिकारी न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।