
तानसेन नगरपालिकाभित्र रहेका छ वडाका करिव एक सय १५ जनाले कौसी खेती सम्बन्धी तालिम लिएका छन् ।
तानसेन नगरपालिका र संयुक्त राष्ट्र संघीय कार्यक्रमको आर्थिक सहयोगमा ग्रामीण आर्थिक विकास संघ (रेडा), पाल्पाको सहजिकरणमा तालिम भएको हो ।
तालिममा नगरपालिकाको एक नम्वर वडादेखि ६ सम्मका व्यक्तिहरुको सहभागिता रहेको थियो ।कौसी खेतीमा इच्छा भएका तालिमा सहभागी हुन चाहेका व्यक्तिहरुको समूह विभाजत गरी तीन दिनसम्म तालिम संचालन गरिएको हो । गएको असोज २८, २९ र ३० गतेसम्म तालिम चलेको हो ।
तालिममा उपप्रमुख लक्ष्मी देवी पाठकले बजारमा बसोवास गर्नेहरुको समय सदुपयोग गर्नका लागि कौसी खेती राम्रो हुने बताइन् । उनले समय सदुपयोग संगै आर्थिक व्ययभार समेत कम हुने, स्वच्छ र ताजा तरकारी सेवन गर्न पाइने भएकोले सिकेको कुरा व्यवहारमा लागू गर्न आग्रह गरिन् ।
तालिममा कोभिड १९ प्रतिकार्यका लागि युवा उद्यमशिलता विकास कार्यक्रमका कार्यक्रम संयोजक मोतीकुमार श्रेष्ठले कौसी खेतीले दैनिक खर्च बचतमा सहयोग गर्ने विश्वास व्यक्त गरे ।
तानसेन ५ का वडा अध्यक्ष रामबहादुर रावलले शहरी क्षेत्रमा घर पिच्छ कौसीमा तरकारी खेती गर्दा हरियाली देखिने भएकोले बजारको सुन्दरता समेत बढने बताए । उनले कौसी खेती एक जनाको मेहनतमा सम्भाव हुने र लगानी समेत कम हुने बताए ।
तालिममा सहभागीहरुलाई कौसी खेती गर्न सकिने विभिन्न दश किसिमका तरकारीका वीउविजन, ग्रो ब्याग र कम्पोष्ट बनाउनका लागि कम्पोष्ट बिन वितरण गरिएको रेडाका कार्याकारी निर्देशक लिलाबहादुर कार्कीले बताए ।