दसैं नजिकियो, संक्रमण बढ्यो

पाल्पा, तीन महिना अघि भारतबाट फर्केका र क्वारेन्टिनमा बसेकाहरुकामा कोरोना भाइरस संक्रमण बढेको थियो । अहिले भने समुदायमै भाइरस संक्रमण बढेको छ । दसैंको शुभारम्भसंगै जिल्लामा भाइरस संक्रमित पनि बढेका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार शनिबार घटस्थापनाकै दिनमा एकै दिन ७५ भाइरस संक्रमित देखिएको छ । ‘शनिबार दसैं घरमा घटस्थापना गरेर शुभारम्भ भएको छ,’ स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीले भने, ‘घटस्थापनाकै दिन पछिल्लो तीन महिना यताकै धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।’

स्वास्थ्य कार्यालयले लकडाउन खुकुलो भएयता शनिबार मात्रै ७५ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । यस्तै नवरात्रीको दोस्रो दिनमा पनि थप १९ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये अधिकांश समुदायका हुन् । कार्यालयका अनुसार संक्रमण जोखिम बढ्दै गएको यसबाट पनि पुष्टि हुन्छ । सरकारले लकडाउन खोलेर सार्वजनिक सवारीलाई पूर्ण रुपमा संचालन गर्ने अनुमति दिएको छ । त्यससँंगै जिल्लामा राजधानी लगायत देशभरका विभिन्न स्थानबाट चाडपर्व मनाउन भित्रिने नागरिक बढेका छन् । नेपालीहरुको महान पर्व विजयादशमी मनाउनका लागि नागरिकमा विगतका वर्षहरुमा जस्तो उत्साह छैन । तर चाडपर्वको समयमा कोरोना संक्रमण बढ्न सक्ने जोखिमतर्फ भने सर्तकता नदेखिएको स्थानीय सुधीर रावलले बताए । ‘हाम्रा समुदायमा यस विषयमा कुनै सतर्कता नै देखिएको छैन,’ उनले भने, ‘यसमा सरोकारवाला निकायको पनि कुनै चासो देखिएको छैन ।’ पछिल्लो केही सातायता ज्वरो आउने, रुघाखोकी लाग्ने, घाँटी दुख्ने बिरामीको संख्या समुदायमा बढेको छ । यसतर्फ सरोकारवाला निकायको पनि ध्यान नै पुगेको
छैन । तानसेनका शोभाखर पोखरेलका अनुसार बिरामी नभएका घर नै भेटिदैन जस्तो भइसकेको छ ।

‘यस्तो अवस्थामा जाँच गर्दा कोरोना पोजेटिभ नदेखिने कुरै हुँदैन,’ उनले भने, ‘यस विषयमा सबै सतर्क हुने बाहेक अरु कुनै उपाय देखिएको छैन ।’ जिल्ला प्रशासन कार्यालयले दसैं, तिहार लगायतका चार्डपर्व घर परिवारका सदस्यहरुबिच मात्र मनाउन जिल्लाबासीमा आग्रह गरेको छ । प्रशासनकै नियम पालना गरेपनि घर परिवारका सदस्यहरु बाहिरी जिल्लाबाट पर्व मनाउनका लागि घरमा आउने हुँदा संक्रमणको जोखिम बढ्ने उनले बताए ।
साता अघिसम्म सुनसान रहेका सदरमुकाम तानसेन लगायतका व्यापारिक केन्द्रमा नागरिकको चहलपहल बढेको छ । जसले गर्दा सोही स्थानबाट संक्रमण फैलिनसक्ने जोखिम बढेको स्थानीयले बताए । दसैको किनमेल गर्दा, सार्वजनिक सवारीमा यात्रा गर्दा तथा पर्व मनाउनका हुने हिँड्डुलका लागि हुने आवागमनले गर्दा संक्रमण फैलिनसक्ने जोखिम उच्च रहेको स्वास्थ्य कार्यालय निमित्त प्रमुख विश्वनाथ न्यौपानेले बताए ।

कोरोना महामारीको चिन्ता सबै नागरिकमा भएपनि स्वास्थ्य सुरक्षा सावधानी नअपनाउँदा जोखिम बढेको उनले बताए । जिल्लाका सदरमुकाम तथा व्यापारिक केन्द्रमा मात्र नभएर ग्रामीण भेगमा समेत होम आईसोलेशनमा बसेकाले स्वास्थ्य मापदण्ड अपनाएका छैनन । त्यसैले संक्रमण बढ्ने जोखिम बढेको निमित्त प्रमुख न्यौपानेले बताए ।

हालसम्म सुरक्षित रहेका अविभावकमा समेत पर्व मनाउन घर फर्किएका आÇनै सन्तानबाट संक्रमण फैलिन सकने जोखिम बढेको बगनासकाली–४, खानीछापका राजन अधिकारीले बताए । रोजगारी तथा अन्य कामका लागि घर तथा जिल्लाबाट बाहिर बस्ने नागरिकलाई पर्वका समयमा स्वास्थ्य सावधानी अपनाउन नसकने हो भने दीर्घ रोगी तथा उमेर पुगेका अविभावकमा समेत यही समयमा संक्रमण बढ्न सक्ने उनले बताए ।
प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले विज्ञप्ति जारी गर्दै मठ, मन्दिर तथा शक्तिपीठहरुमा दैनिक नृत्यपूजा बाहेकका क्रियाकलापहरु नगर्न अनुरोध गरेका छन् । पछिल्लो समय कोरोना संक्रमण फैलने क्रम तिव्र रहेको भन्दै जिल्ला प्रशासनले कुनै पनि मठ न्दिरहरुमा भेलाभई दर्शन नगर्न अनुरोध गरेको उनले बताए ।

नगरपालिका तथा गाउँपालिकाहरुमा भेला भई शुभकामना आदानप्रदान तथा अन्य गतिविधि पनि संचालन नगर्न अनुरोध गरेको प्रजिअ न्यौपानेले बताए । उनले दसैं, तिहारका अवसरमा हुने जात्रा, पर्व, सराय नाँच तथा देउसी भैलो पनि नखेल्न आग्रह गरिएको बताए ।

सम्बन्धित खवर