पाल्पा,पाल्पामा चक्लाबन्दी र बीउ श्रोत केन्द्र स्थापना गर्ने कार्यक्रम लागू हुनेभएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईले चालु आर्थिक वर्षमा यस्तो कार्यक्रम तर्जुमा गरि कार्यान्वयनमा लागेको हो ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख दीपक भट्टराईले परियोजना कार्यान्वयन इकाईले जग्गा र बालीको चक्लाबन्दी गरी उत्पादन क्षेत्र बिस्तार , तरकारीको उत्पादन वृद्धिको लक्ष्यसहित कार्यक्रम तयार गरिएको बताए ।
यस वर्ष ६ स्थानमा चक्लाबन्दीको कार्यक्रम गर्न सकिने छ । यो कार्यक्रममा सहकारी, निजी उद्यमीले सेवा लिन सक्ने परियोजना प्रमुख भट्टराईले जानकारी दिए ।
जोन सञ्चालन समन्वय समितिका अध्यक्ष पदमराज पौड्यालले तरकारी जोन चौथो वर्षमा चलेको बताए । उनले सुपर जोनमा लागि बजारीकरण र प्रशोधन उद्योगमा जानुपर्ने बताए । पाल्पाका किसानले तरकारीलाई प्रशोधन, भण्डारण र प्याकेजिङ गरी बजारमा लैजाने व्यवस्था मिलाउनुपर्नेमा जोड दिदैं आएका छन ।
सरकारले यस परियोजनाको लागि चालु आर्थिक वर्षका लागि पूँजीगत ३० लाख ९० हजार र चालु ३ करोड ३९ लाख १४ हजार रुपैँया गरी कुल ३ करोड ७० लाख ४ हजार रुपैँया बजेट विनियोजन गरेको छ ।
न्यूनतम समर्थन मूल्यका लागि तथ्यांक संकलन र विश्लेषण, स्थानीय तहसँगको समन्वयमा नर्सरी श्रोत केन्द्र स्थापना, कफी र तरकारी क्षेत्र बिस्तार, प्राविधिक शिक्षालयको साझेदारीमा व्यावसायिक उत्पादन अनुदान, बीमा सहजकर्ता तालिम, सिंचाई पूर्वाधार निर्माण, भण्डारण, प्रशोधन उद्योग स्थापनालगायतका शीर्षकमा बजेट तथा कार्यक्रम समावेश छ ।
पाल्पामा आर्थिक वर्ष २०७३/०७४ मा लागू भएको परियोजनाले हालसम्म कृषि क्षेत्रमा ७ करोड ८४ लाख ८८ हजार रुपैँया खर्च गरेको छ ।