पाल्पा, रिब्दीकोट गाउपालिका अध्यक्ष नारायणबहादुर जि.सी.ले कृषकलाई आत्मनिर्भर बनाउन कृषि क्षेत्रमा लगानी बढाएको बताएका छन् ।
उनले आलु तरकारीबाली मात्र नभइ खाद्यबालीका रुपमा रहेकोले कृषकको माग अनुसार सहभागितात्मक रुपमा वीउ वितरण गरिएको बताए ।
आलु हाम्रो दैनिक उपभोग्य वस्तु भएको हुँदा गरिव तथा विपन्न परिवारले खानाकै रुपमा समेत प्रयोग गर्न सक्ने भएकोले यसमा प्राथमिकता दिएको समेत बताए ।
गाउँपालिका उपाध्यक्ष लक्ष्मी खनालले आलुबाली खेती गर्न सहज रहेको बताइन् । उनले उत्पादन भएको बस्तु लामो समयसम्म भण्डार गर्न सकिने र आम्दानीको राम्रो स्रोत भएकोले वीउ वितरण गरिएको बताइन् ।
चालु आर्थिक वर्षमा कृषक लक्षित कार्यक्रमबाट गाउँपालिकाभित्रका २ हजार ५ सय १३ परिवारका लागि निलो आलुको वीउ वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्यालले बताए ।
उनले कृषको ५० प्रतिशत लागत सहभागितामा पालिकाले ५० प्रतिशत अनुदान थपेर आलुको विउ वितरण गरिएको बताए ।
गाउँपालिकाले आफ्ना नागरिकलाई कृषि पेशामा प्रेरित गर्ने उद्देश्यका साथ १९ लाख ५५ हजार बराबरको आलुको वीउ वितरण गरिएको हो ।
पालिकाभित्र कूल २ सय ९० क्विन्टल आलुको विउ वितरण गरिएको हो । आलु पाएपछि कृषकहरुले परम्परागत आलुबाट भन्दा यसबाट राम्रो उत्पादन र आम्दानी दिन सकिने बताए । उनीहरुले स्थानीय सरकारले समय अनुसार वीउपल र प्रविधि हस्तान्तरण गर्दा खेती गर्न सहज हुने गरेको कृषकको भनाई छ ।