
पाल्पा, जिल्ला अस्पतालले संचालन सुरुगरेको कोभिड १९ परीक्षण प्रयोगशालाबाट पिसिआर परीक्षण गर्न सुरु भएको छ ।
पाल्पा अस्पतालको मातहतमा संचालन हुनेगरि जिल्ला समन्वय समितिको काजिपौवामा रहेको भवनमा पिसिआर मेशिन जडान गरि बिहीबारबाट परीक्षण सुरुवात गरिएको पाल्पा अस्पतालले जनाएको छ ।
पाल्पा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नेत्र प्रसाद पाण्डेयका अनुसार हरेक दिन बिहान ८ बजेदेखि दिउसो २ बजेसम्म नाम दर्ता गरि अर्को दिन स्वाब परीक्षण गरिने छ । नाम दर्ता भने फोनबाटै गर्ने व्यवस्था मिलाईएको अध्यक्ष पाण्डेयले बताए ।
स्वाव परीक्षण हरेकदिन अपहन्न १२ देखि दिउँसो २ बजेसम्म हुने अस्पताल व्यवस्थापन समितिले जनाएको छ । परीक्षण शूल्क भने नेपाल सरकारले निर्धारण गरे अनुसार प्रतिव्यक्ति दुई हजार लाग्ने अस्पतालले जनाएको छ ।
जिल्लका स्थानीय तह तथा अन्य स्वास्थ्य संस्थाबाट कोरोना परीक्षणका लागि आउँदा स्वास्थ्य कार्यालयको सिफारिस अनिवार्य हुनुपर्नेछ र स्वास्थ्य कार्यालयबाट कोरोना परीक्षणका लागि सिफारिस भई आउनेको हकमा निःशुल्क परीक्षण हुने अध्यक्ष पाण्डेयले जानकारी दिए ।
केही महिना अघि जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि संघिय सासंद तथा पूर्व उद्योग मन्त्री सोमप्रसाद पाण्डेयको विशेष सक्रियतामा पाल्पामा प्रयोगशाला स्थापना भएको थियो ।
नेपाल सरकारल पाल्पा अस्पताल विकास समितिका नाममा एक करोड रुपैया निकासा पठाएको थियो । जिल्लामै पिसिआर ल्याब संचालनमा आएसंगै जिल्लाबाट बाहिरी प्रयोगशालामा रिपोर्ट आउन ढिलाई हुने समस्याको समाधान हुने आशा जिल्लबासीमा रहेको छ ।