खरको छाना हटाउन जस्तापाता

पाल्पा,स्थानीय सरकारले आफ्ना नागरिकको हितलाई केन्द्रित गरी सामाजिक, आर्थिक विकासका विभिन्न कार्यक्रमहरु संचालन गर्दै आएका छन् । नागरिकको जनजीविका उकास्ने देखि समय अनुसार आवास व्यवस्थापनमा जिल्लाका सबै नगरपालिका र गाउँपालिका लागि परेका हुन् । यसै क्रममा निस्दी गाउँपालिकाले यस आर्थिक वर्षमा खरको घर रहित गाउँपालिका बनाउने उद्देश्य सहित आफ्नो सहयोग कार्यक्रमलाई तिब्रता दिएको जनाएको छ ।

गाउँपालिले खरका छाना रहेका घरहरुको तथ्याङ्क गएको आर्थिक वर्षमा संकलन गरेको थियो । सोहि विवरणका आधारमा निस्दीलाई खरको छानो मुक्त पालिका बनाउन प्रत्येक घरधुरीलाई जस्तापाता बितरण गरिएको गाउँपालिका प्रवक्ता मेखबहादुर सुनारीले बताए ।

पालिकाले लिएको तथ्याङ्क अनुसार निस्दीमा २ सय ८३ घरमा खरको छानो रहेको छ । खरको छानो हुने प्रत्येक घरधुरीलाई २४ पाताको दरले निलो रङ्गको जस्तापाता वितरण गरिएको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारुले बताए । उनले खरको छाना व्यवस्थापनका लागि नागरिकलाई सास्ती भएकोले खरको छाना हटाउन लागिएको बताए ।

खरको छानाका लागि खर व्यवस्थापनमा देखिएको समस्या साथै घाम र पानीमा समेत जनताले दुःख खेप्नु परेकोले गाउँपालिकाले यस्तो कार्यक्रम तर्जुमा गरेको समेत बताए ।

समय र जनताहरुको माग र आवश्यकतालाई मध्यनजर गरी कार्यक्रम लागू गरिएको गाउँपालिकाले जनाएको छ ।

जसका लागि निस्दीले यस वर्ष खरको छाना रहित पालिका बनाउनका लागि एक करोड रुपैयाँ बजेट विनियोजन गरेको प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालले जानकारी दिए ।

घर छाउने समय भएको तर आर्थिक समस्यामा रहेका जनताले भने गाउँपालिकाबाट जस्तापाता पाएपछि खुसी भएका छन । बस्नका लागि वातावरणमैत्री खरको छाना भएको घर पछिल्लो समयमा छाउनका लागि खरका साथै कामदार समेत अभाव हुने गरेको समयमा जस्तापाता वितरण गरेकोमा यामबहादुर सारुले स्थानीय सरकारको प्रशंसा गरे ।

निस्दी गाउँपालिकाको बाकामलाङ्गमा सबैभन्दा धेरै ६९ घर खरको छानाका रहेका छन् । यसैगरी सहलकोटमा १८ घर, झिरुबासमा ३८ घर, मित्यालमा ३५ घर, गल्धामा ३८ घर, अर्चलेमा ३५ घर र ज्यामिरेमा ५१ घरधुरी गरी कूल २ सय ८३ घरपरिवार रहेका छन् । केहि वडामा जस्तापाता वितरण भइसकेको र बाँकी वडामा समेत चालु आर्थिक वर्षमा जस्तापाता वितरण गरी खरको छाना रहित गाउँपालिका बनाउने अध्यक्ष सारुको भनाई रहेको छ ।

जिल्लामा सबैभन्दा पहिला खरको छाना रहित गाउँपालिका बनाउने उद्देश्यले रैनादेवी छहरा गाउँपालिकाले जस्तापाता वितरण गर्न सूरु गरेको हो ।

पाल्पाका दशवटै स्थानीय तहले संचालन गरेको यो अभियानमा बगनासकाली गाउँपालिकाले गएको आर्थिक वर्षमा पालिकालाई खरको छाना रहित बनाएको दावी गरेको छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय