नेपालकै एक बद्रीनारायण मन्दिर ओझेलमा

तानसेन नगरपालिका १४ अर्गलीमा रहेको नेपालकै एकमात्र भनेर दावी गरिएको बद्रीनारायण मन्दिर प्रचार अभावले ओझेलमा परेकोे छ ।

वि.सं.२०६१ सालमा स्थानीय खिमानन्द पाण्डेले भारतको प्रसिद्ध धार्मिकस्थल बद्रीनाथबाट अनुमती लिएर स्थापना गरेको मन्दिरको प्रचार हुन नसकेको हो ।

पितृ मोक्षका लागि नेपालबाट वर्षेनी हजारौंको संख्यामा नेपाली भक्तजन भारत जाने गरेको बाध्यतालाई अन्त्य गर्न मन्दिर स्थापना गरिएको पाण्डे परिवारको भनाई छ ।

नेपालमै मन्दिर स्थापना गर्न भारतको बद्रीनाथ समितिलाई नगद शुल्क बुझाएर ताम्रपत्रमा मुर्ती प्रतिस्थापन गरि अर्गलीमा ल्याएको खिमानन्दका भतिजा बलराम पाण्डेयले बताउनुभयो । पछिल्लो समय मन्दिरको सोचे जस्तो प्रचार नहुँदा भक्तजनहरु मन्दिरमा पुग्न सकेका छैनन् ।

स्थापनाकालदेखि मन्दिरको व्यवस्थापनमा दोहोरोपन देखिएकोले प्रचार प्रसार हुन नसकेको हो । जसले गर्दा नेपालमा रहेको एक मात्र बद्रीनारायणको मन्दिर ओझेलमा परेको स्थानीयको भनाई छ ।

मन्दिर स्थापना गरिएको अर्गलीको रनुवामा बद्रीनारायणका सवै अंग सहित मन्दिरका साथै अन्य देवी देवताहरुको समेत मुर्ती प्रतिस्थापन गरिएको छ । यस ठाउँमा सर्वप्रथम वि.सं.२०१३ सालमा गाउँमा झाडा पखालाको प्रकोप चलेको समयमा देशान्तरी माई भगवतीको स्थापना गरेर पुजा गरेपछि प्रकोप साम्य भएको स्थानीय टिकाराम पाण्डेयले बताउनुभयो ।

त्यसपछि २०१४ सालमा अष्टभुजा भगवती देवी र २०६१ मा गणेशको मूर्ती समेत स्थापना गरिएको छ । हाल बद्री नारायाण मन्दिर परिसरमा ९ वटा देवीदेवताको मन्दिर रहेको छ ।

पछिल्लो समय नेपालमै एकमात्र बद्री नारायणको मन्दिर पाल्पामा छ, भन्ने जानकारी नेपाली भक्तजनमा नहुँदा पाल्पाबाटै समेत धेरैको संख्यामा भक्तजन भारत जाने गरेको स्थानीय शैलोच्च पराजुलीले बताउनुभयो ।

हाल कोरोना कहरका बेला गाउँ फर्केका युवाहरु यस मन्दिरको प्रचारसंगै विकास, प्रर्वधनमा लागि परेको स्थानीय युवा अगुवा दुर्गादत्त पाण्डेले बताउनुभयो । उहाँले नेपालकै चार धाम मध्येको एक रुरु क्षेत्र धाम नजिकै रहेको यो मन्दिरको उचित प्रचार तथा अन्य पूर्वाधार विकास नहुदाँ समस्या रहेकोले आफूहरु लागि परेको बताउनुभयो ।

मन्दिरको स्थापना स्थानीय खिमानन्द पाण्डे परिवारले व्यक्तिगत रुपमा गरेको र हालसम्म समुदायमा हस्तान्तरण नभएकोले पनि मन्दिरको प्रचार र विकासमा स्थानीयले खुलेर अपनत्व लिन नसकेको देखिन्छ ।

मन्दिरमा दैनिक नित्यपुजाका लागि एकजना पुजारी तथा एकजना हेरालु राखिएको छ । उनीहरुबाट दैनिक नित्य पुजा तथा सरसफाईको काम मात्र हुँदै आएको छ । जसको खर्च मन्दिर स्थापना गरेको पाण्डे परिवारलेनै दिने गरेको वडा सदस्य रमेश न्यौपानेले बताउनुभयो ।

मन्दिरलाई समुदायमा हस्तान्तरण गरेर स्थानीय तहले जिम्मा लिएर प्रचार प्रसार गर्नका लागि स्थानीय तहपनि लागि परेको वडा सदस्य न्यौपानेको भनाई छ । तर स्थानीय भने पुजारी तथा अन्य खर्च व्यवस्थापनमा समस्या आउन सक्ने भन्दै मन्दिर समुदायमा ल्याउन आँट गरेका छैनन् ।

सम्बन्धित खवर