
डोलबहादुर विक पाल्पा, २०६८ साल साउन २२ गते अपहरणमा परी वेपत्ता पारिएका पूर्वखोला गाउँपालिका २ जल्पाका किशोर न्यौपानेको घटना ७ वर्ष हुँदा समेत अझै सार्वजनिक हुन सकेको छैन । जनता उच्च माविमा कक्षा ११ मा पढ्ने किशोर न्यौपाने साथीको घरमा जान निस्केका बेला अपहरणमा परेका थिए । घरपरिवारले प्रहरी प्रसाशन, मानव अधिकार आयोग, नागरिक समाज लगायतका निकायमा छोराको खोजीका लागि हार गुहार गरेपनि त्यसको सुनुवाई भएको छैन् । अहिले किशोरका परिवार त्यो पिडाले अर्ध पागल जस्तै बनेका छन् । किशोरका बुवा राम प्रसाद न्यौपानेले किशोर अपहरणका प्रमाणहरु आफूसँगै बोकेर हिड्छन् सवारोकार वाला निकायहरुलाई देखाउछन् तर त्यसको खोजीका लागि कही कतैबाट सुनुवाई समेत नभएको बताउछन् । नेपालमा हरेक किसिमका ऐन कानुनहरु बनेका छन् तर दिन दुःखी हामी जस्तो पीडकको पक्षमा कानुन बनेको रहेनछ त्यो अनुभुती भएको छ बुवा रामप्रसाद न्यौपानेले भने । मेरो छोरा अपहरण गरी बेपत्ता पारिनुमा ठूलो संजाल छ, त्यो संजालबाट प्रहरी प्रशासन समेत डराएर पछि हट्यो म एक्लैले के पो गर्न सक्छु र आशु पुछ्दै रामप्रसाद दुखेसो पोखे । छोरा पढे लेखेको मोवाईल फेसबुक चलाउन जान्ने सक्ने थियो कतै जीउदो भएको भए कहिन कहिबाट सम्पर्कमा आउथ्यो रामप्रसादले रुदै भने नेपालमा न्याय छ भने मलाई छोराको कित लास कि सास चाहियो । जिल्ला प्रहरी कार्यालय पाल्पाले भने किशोर अपहरण घटनाका विषयमा अनुसन्धान जारी रहेको जनाएको छ । प्रहरी नायव उपरिक्षक गोविन्द घिमिरेले जिल्ला तहदेखि हेडक्वाटरबाट समेत किशोर घटनाको विषयमा तीब्र रुपमा अनुसन्धान जारी रहेका बताउनुभयो. …राष्ट्रिय मानव अधिकार सरोकार केन्द्र नेपालका केन्द्रीय सदस्य तथा पाल्पा शाखाका अध्यक्ष दिवाकर पाण्डेले किशोर न्यौपानेको बारेमा राष्ट्रिय मानव अधिकार सरोकार केन्द्रले उनको खोज तलास गर्न र सत्य तथ्य बाहिर ल्याउन अपिल गरेको बताउनुभयो । हराएको व्यक्तिको बारेमा जवाफ दिनु राज्यको कर्तव्य हुन्छ पाण्डेले भन्नुभयो यसको लागि राष्ट्रिय मानव अधिकार सरोकार केन्द्रले पुन ध्यानाकर्ष समेत गराएको छ । किशोरका बारेमा अहिलेसम्म कुनै खालको सूचना सत्य तथ्य पत्ता नलाग्नु दुखद पक्ष भएको उहाँको भनाई छ । उहाँले प्रहरी प्रशासन अनुसन्धानकासंग सम्बन्धीत निकाय नेपाल प्रहरी, राष्ट्रिय अनुसन्धान व्युरो, सिआइवी व्युरो सबै परिचालन गरी किशोर अपहरणको घटना बारे सत्य तथ्य बाहिर ल्याउनु पर्ने बताउनुभयो । कानुनी शासनको परिपालना गर्ने हो भने हराएको व्यक्तिको विषयमा राज्यले जवाफ दिन नसक्नु गैर जीम्मेवारी हो पाण्डेले भन्नु भयो यो घटनामा प्रशासनको जवाफदेही र वफादारी देखिएन । प्रहरीलाई दोषी किटानी जाहेरी गरेका व्यक्तिहरु अहिले खल्लायमखुला हिँडेका छन्, किशोरका बुवा राम प्रसादले भन्नुभयो प्रहरी प्रशासनबाट प्रभावकारी अनुसन्धानको कमीले अन्यायमा परेको छु । तत्कालीन समयमा रामप्रसादका आफन्तले अपहरणकारीसँगको फोन वार्ताको रेकर्ड नष्ट गर्न र फिरौती माग्ने अपहरणकारीलाई सघाएको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको थियो । तर पछि अन्य प्रमाणहरु फोला नपरेको भन्दै प्रहरीले ति आफन्तलाई छुटकारा दिएको थियो ।