टर्की पालनबाट विदेशको कमाइलाई टक्कर दिदै छन पाण्डे

डोलबहादुर विक

पाल्पा, पुस २८ । कृषि पेसाबाट जिल्लाका युवाहरुले पछिल्लो समय राम्रो आय आर्जन गर्न थालेका छन् । विदेशीनु भन्दा स्वदेशमै केही गर्नु पर्छ भनेर कृषिमा लागेका युवाले अहिले विदेश को कमाइलाई टक्कर दिदै आएका छन् । माथागढी गाउँपालिका २ रुप्सेका तारा प्रसाद पाण्डेले टर्की, लौकाट र लोकल कुखुरा पालनबाट मनग्य आम्दानी गर्न सफल हुनु भएको छ । टर्की पालनबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहारण पाण्डेले दिनुभएको छ ।

२०७० सालबाट यो पेसा अगाल्नु भएका पाण्डेले अहिले मासिक ५० हजार बचाउन सफल भएको बताउनुहुन्छ । सिप जागर र मेहनत भए पैसा कमाउनकै लागि विदेशीनु पर्दैन पाण्डेले भन्नुभयो १, २ वर्ष कृषि पेसामा टिक्न सकियो भने स्वदेशलाई विदेश बनाउन सकिन्छ ।
टर्की, लौकाट र लोकल कुखुरा पालनमा झण्डै ५ वर्षको अनुभव सगालेका पाण्डेले यसबाट छोटो समयमै राम्रो आय आर्जन गर्न सकिने भएकाले पछिल्लो समय किसानको आकर्षण पनि बढ्दै गएको बताउनुहुन्छ । टर्की, लौकाट, लोकल कुखुरा पालन गर्न चाहाने किसानलाई सल्लाह सुझाव दिने र किसानले गरेको उत्पादनलाई बजार प्रबन्ध समेत मिलाई दिने गरेको पाण्डे बताउनु हुन्छ । पाण्डेले यहाँ उत्पादन भएका अण्डा चल्लाका लागि बाहिर पठाउने गरेका छन् ।

अहिले हप्तामा ५० चल्ला उत्पादन हुँदै आएको छ, पाण्डेले भन्नुभयो गाउँपालिकाको सहयोग भयो भने आफै मेसिन किनेर हप्तामा १ सय भन्दा बढी चल्ला उत्पादन गर्ने सोचमा छु । ५ लाखको लगानीबाट व्यवसाय सुरु गर्नुभएका पाण्डेको यो पेसामा अहिले ९ लाख बढी लगानी पुगेको छ । उहाँको फाममा ६ सय लौकाट, ३० टर्की र २ सय ५० लोकल कुखुरा छन् । यहाँ उत्पादन भएका टर्की, लौकाट, लोकल कुखुरा बाहिरका जिल्ला झापा, पाँचथर, इलाम, महेन्द्र नगर, डढेलधुरा लगायतका स्थानमा विक्रीका लागि पठाउने गरिएको छ । टर्की प्रतिकिलो ७ सय रुपैयाँ, लोकल कुखुरा प्रतिकिलो ६ सय ५० र लौकाट बच्चाको ३ सय पचास र माउको १२ सय रुपैयाँमा बेच्ने गरेको पाण्डेले बताउनुभयो ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय