राज्य र जनजाति महासंघ दुबैबाट पीडित भयौं


काठमाडौं , २७ पुस । आदिवासी जनजाति महासंघ लगायत विभिन्न जातीय र धार्मिक संघ संस्थाको आन्दोलनपछि सरकारले ०७६ सालमा दिइने सार्वजनिक विदा पुनरावलोकन गर्दा पनि घलेको पहिचान स्वीकार नगरिएको भन्दै आदिवासी घले समुदायले आपत्ति जनाएका छन् । उनीहरुले आन्दोलनकै रुपमा यस वर्षको लिःल (घले) ल्होसर मनाउने भएका छन् ।

घले जातिले प्रत्येक वर्ष माघ १ गते लिःल ल्होसर अर्थात घलेहरुको नयाँ वर्ष मनाउने गर्छन् । तामाङ,गुरुङ र शेर्पाहरुको ल्होसरमा सरकारले सार्वजनिक विदा सिफारिस गरे पनि घले ल्होसरको अस्थित्व स्वीकार नगरिएकोमा घले समाज लिःल फङले आपत्ति जनाएको छ ।

नेपालको प्राचिन इतिहासदेखिनै आफ्नै भाषा,संस्कृति र लिपी रहेको आदिवासी जनजाति समुदाय घलेलाई गत वर्ष सम्पन्न स्थानीय चुनावमा अल्पसंख्यक आदिवासीको मान्यता सरकारले दिएको थियो । ०६८ सालको जनगणना अनुसार करीव २३ हजार जनसंख्या रहेको घलेलाई आदिवासी जनजाति महासंघले भने घटक संगठनको मान्यता दिएको छैन ।

घलेहरुको पर्व लिःल ल्होसरलाई राष्ट्रिय पर्वको मान्यता दिन आफूहरुले माग गरेको लिःल फङका अध्यक्ष दिनेश घलेले बताए । माघ १ गतेलाई थारु,मगर र हिन्दू समुदायको पर्वका रुपमा मान्यता दिए जस्तै घलेको नयाँ वर्षको मान्यता दिइनुपर्ने उनीहरुको माग छ ।नेपालको इतिहासमा शाह र मल्ल वंशअघि नै घलेहरुले रसुवा, नुवाकोट, धादिङ, गोरखा, लम्जुङ क्षेत्रमा राज्य गरेको पाइन्छ । पृथ्वीनारायण शाहका अग्रज द्रव्य शाहले लिगलिगे दौडमा षडयन्त्रपूर्वक जितेर घले राज्य खोसिएको इतिहास छ

घले समुदायमाथि राज्यमात्र होइन पहिचानवादी हौं भन्ने आदिवासी जनजाति महासंघबाट समेत बिभेद भएकाले त्यसको बिरोध गर्दै यस वर्षको लिःल ल्होसर घलेहरुको आदिभूमी धादिङको धादिङबेसीमा सामुहिक रुपमा मनाउन लागिएको लिःल फङकी केन्द्रीय सदस्य शारदा घलेले बताइन् ।

देशभरका घलेहरुको उपस्थिति रहने सो कार्यक्रमको प्रमुख अतिथी सत्तारुढ नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड हुनेछन् । घलेहरुको पहिचान स्थापित गर्नका लागि सरकारलाई दबाब दिन सत्तारुढ दलका अध्यक्षलाई बोलाइएको उनले बताइन् ।


सम्बन्धित खवर