पर्यटक लोभ्याउने पाल्पाको बौघागुम्हा होमस्टे

पाल्पा,पुस २३ । तानसेनबाट करिब १० किलो मिटरमा बौघागुम्हा होमस्टे पर्दछ । २०६६ सालमा स्थापना भएको यो होमस्टे जिल्लाकै सबै भन्दा पहिलो होमस्टे हो ।
मगर जातीको बाहुल्यता रहेको यस क्षेत्रमा मगरी कला संस्कृति, मगरी खाना त्यहाँको सभ्य तथा, सफा समाज र रमणीय वातावरण अवलोकनका लागि बाह्रै मास पर्यटकहरु पुग्ने गर्दछन् । नेपालको ताजमहल रानीमहलको काखैमा अवस्थित मगर गाउँको होमस्टेमा पुग्ने पाहुना को आतिथ्य सत्कार, मगरी संस्कृति, कला, भेषाभुषा र खानपानले त्यहाँ पुग्ने पर्यटकलाई चकित र मोहित बनाउछ । यहाँ १८ घरमा होमस्टे संचालनमा छन् । पर्यटकको चाहना अनुसार मगरी संस्कृति झल्कने ठूलो नाच, मारूनी, जिओमामै, कृष्ण चरित्र, झाम्रे, सोरठी लगायतका गीत र नृत्य प्रस्तुत गरिन्छ । त्यहाँ नजिकैको रानीमहल दरबार, मगरी कला संस्कृति, आरामदायी बसाई, नाचगान, वरिपरिको सफा र हरियाली वातावरण, तरिकारी, फलफुल खेती, मगरी खानपान, आर्गनिक खाना, सिगारिएका घर यहाँबाट देखिने हिम श्रृङ्खला यस क्षेत्रको मुख्य आर्कषर्ण हो । यहाँ घुम्न आउने पर्यटको संख्या वर्षेनी बढ्दै गएको होमस्टेका अध्यक्ष लेखबहादुर थापाले बताउनुभयो । सुरु सुरुमा पर्यटक कम आउनु हुन्थ्यो पाल्पा स्मार्ट पत्रिकासँग कुरा गर्दै अध्यक्ष थापाले भन्नुभयो पर्यटहरुको सल्लाह सुझाव अनुसार उहाँहरुको आवश्यकतालाई मध्येनजर गर्दै होमस्टेलाई थप व्यवस्थित गरियो त्यस पश्चात वर्षेनी पर्यटकहरुको आगमन बढेको छ । गाउँका १८ घरमा संचालित होमस्टेमा ३६ भन्दा बढी बासका लागि बस्न सकिने अध्यक्ष थापाले जानकारी दिनुभयो । गाउँको १८ घरमा होमस्टे संचालनमा ल्याइएको छ । प्रत्येक घरको होमस्टेमा पर्यटकका लागि एक एक वटा छुट्याई व्यवस्थित गरिएको छ । त्यहाँ पुगेपछि पर्यटकहरुलाई बासको लागि घर देखाइन्छ र पर्यटकको चाहना अनुसार खाजा नास्ता, खाना, नाचगानको तयारी गरी देखाउने चलन रहेको छ ।
प्रसिद्ध रानीमहल दरबारको काखैमा रहेको बौघागुम्हा गाउँको यो रमाइलो होमस्टेमा मगरी संस्कृति, भेषभुषा, गीत संगित र खानपानमा रमाउन स्वदेशी र विदेशी पर्यटकहरू समूहमा पुग्ने गर्छन् । यहाँको होमस्टे संचालन रहेका घरघरमा मोटरबाटो पुगेका छन् तर कच्ची र धुलाम्य बाटोले पर्यटकलाई भने असहज हुने गरेको छ यसलाई सुधार गर्न सकिए थप पर्यटकको संख्यामा थप बृद्धि हुने निश्चित छ यसमा सम्बन्धित निकायको ध्यान पुग्नु आवश्यक छ ।

सम्बन्धित खवर