
पाल्पा, पाल्पाको पूर्वखोला गाउँपालिका २ जल्पाका स्थानीय पर्यटकीय स्थल विकास तथा संरक्षण प्रर्वद्धनमा जुटेका छन् । गाउँमा आन्तरिक तथा वाह्य पर्यटक भित्र्याइ आय आर्जन बढाउन यहाँका स्थानीय पर्यटकीय सम्भावना बोकेका स्थलहरुको प्रर्वद्धन तथा स्थानीय कला संस्कृति संरक्षण अभियानमा जुटेका हुन् ।
पूर्वखोला गाउँपालिका २ जल्पाका लालबहादुर रानाले वडा कार्यालयको सहयोगमा जल्पाको साकिनेमा रहेको पर्यटकीय महत्वको चिडिया घर मादले गुफाको संरक्षण तथा व्यवस्थापन र लोप उन्मुख स्थानीय कला संस्कृति संरक्षणमा आफूहरु लागि परेको बताउनुभयो । गुफा वरिपरि सरसफाई बाटो पुर्याउने, गेट बनाउने, वाल उठाउने लगायतका मर्मत सम्भारको काम भएको छ, गुफा व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका रानाले भन्नुभयो गुफा अवलोकन गर्न आउने पर्यकलाई स्थानीय कला संस्कृति मारुनी नाच, घाटुनाच, झाम्रे, कौरा, भजनकृर्तन लगायतका नाचहरु समेत देखाउने तयारीमा छौ ।
पूर्वखोला गाउँपालिका २ जल्पाका वडा अध्यक्ष निरबहादुर सारुले वडालाई पर्यटक गन्तव्यको रुपमा विकास गर्नका लागि पर्यटकीय स्थलहरुको अध्ययन गरी त्यसको पूर्वाधार विकास तथा व्यवस्थापनमा वडा कार्यालयलले जोड दिएको बताउनुभयो । जल्पाका दुई वटै गुफामा बाटो पुर्याउने, जंगली जनावर नपसोस भनेर तारबार गेट बनाउने, विजुली पुर्याउने र गुफालाई थप आकर्षण बनाउने काम भएको छ अध्यक्ष सारुले भन्नुभयो ।
तानसेन सदरमुकामदेखि झण्डै ४३ किलोमिटर पूर्व तर्फ पर्ने यस गाउँमा प्रसस्त पर्यटकीय सम्भावना बोकेका स्थालहरु रहेका छन् । पर्यटकीय महत्वका गुफा, मठ मन्दिर, प्राकृतिक सौन्दर्यका स्थल, विभिन्न जातजातिमा आधारीत मारुनी नाच, घाटु नाच, झाम्रे, कौरा, भजनकृतन लगायतका ऐतिहासिक महत्व बोकेका स्थानीय नाच यस क्षेत्रको विशेषता हो । १५० मिटर लामो रहेको मादले गुफाभित्र बाँघ, मृग, हात्ति, गोरु, लगायतका जनावरसँगै नाग, अजिङ्गर, विभिन्न खालका भगवानका ढुङ्गे आकृतिहरु प्रसस्त देख्न सकिन्छ ।
गुफामा पूजा आजा गरे मनोकांक्षा पूरा हुने किंम्वदन्ते समेत रहेको छ । यही क्षेत्रमा रहेको अर्को गुफा ढोलिमारास्थित खाँड देवी गुफा व्यवस्थापनको काम समेत भएको स्थानीय दान बहादुर कवलले बताउनुभयो । जल्पा आउने पर्यटक अम्रिसो, टिम्बुर खेती अवलोकन गर्न समेत पुग्ने गर्दछन् । स्थानीय समाज सेवी याम बहादुर सारुले यस क्षेत्रमा रहेका पर्यटकीय महत्वका स्थलहरुको प्रचार प्रसार तथा व्यवस्थापनले गाउँमा आन्तरिक तथा बाह्य पर्यटक आगमन बढ्ने र स्थानीयको जीवन स्तरउकान मद्दत पुग्ने बताउनुभयो ।