
सानैदेखि नाच्न मन पराउने निरुता सिंहको एक मात्र सपना थियो, तुलसी घिमिरेको चलचित्रको हिरोइन बन्ने । अफिसको कुर्सीमा बसेर काम गरौंला भन्ने त उनले सोचेकी पनि थिइनन् । उनलाई दिनभर अफिस बसेर काम गर्ने भनेको सुन्दा पनि दिक्दार लाग्थ्यो । निरुता भन्छिन्–‘मलाई अफिसमा बसेर काम गर्छु भन्ने अलिकति पनि थिएन । सानैदेखि हिरोइन बन्ने सोच पालेको थिए । आखिर मेरो सपना पूरा पनि भइदियो ।’
निर्देशक तुलसी घिमिरे र निरुताको परिवारमा राम्रो चिनजान थियो । एकदिन तुलसीले निरुताको अंकलसँग आफू ‘दक्षिणा’ नामक चलचित्र बनाउन लागेको र आफूलाई नायिका चाहिएको बताए । निरुताको अंकलले निरुतालाई देखाइदिए । तुलसीले निरुताको फोटो हेरे । फोटो हेरेपछि तुलसीले निरुतालाई स्क्रिन टेस्ट गर्न बोलाए । निरुताले स्क्रिन टेस्ट पनि दिइन् । सबैले उनलाई राम्रो भने ।