
पाल्पा । नेकपा एमाले पाल्पाले कार्तिक २९ गते शनिबार तानसेनमा गर्ने जनप्रदर्शनको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
प्रतिगमन, संसदको पुनस्र्थापना र भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्षतिको निस्पक्ष छानविन र दोषी उपर कडा कारबाहीलगायतका माग राख्दै शनिबार एमालेले ७७ जिल्लामा जनप्रदर्शन गर्न लागेको छ ।
जनप्रदर्शनको तयारीका विषयमा एमाले पाल्पा प्रचार प्रसार तथा प्रकाशन विभागले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पत्रकार सम्मेलनमा एमाले पाल्पाका अध्यक्ष ओमबहादुर घर्तीमगरले लोकतन्त्र र संविधान रक्षाका निम्ती जनप्रदर्शन गर्न लागिएको बताउनुभयो । उहाँले केन्द्रको निर्णय अनुसार जनप्रर्दशनको तयारी स्वरुप जिल्लाका ८१ वटै वडा र दश वटै पालिकाहरुमा भेला तथा बैठक सम्पन्न गरिएको बताउनुभयो । तयारी अनुसार दश हजार बढी नेता, कार्यकर्ता र शुभेच्छुकहरुको जनसहभागीता हुने विश्वास लिइएको अध्यक्ष घर्तीमगरको भनाइ छ ।
पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरुले जनप्रदर्शन के का लागि ? जेनजीको सहभागिता कति रहन्छ ? पाल्पाको विकासमा एमालेले खेलेको भूमिकालगायतका विषयमा प्रश्न उठाएका थिए । पत्रकारहरुको प्रश्नको विषयमा बोल्दै नेकपा एमाले केन्द्रीय पोलिटब्यूरो सदस्य तथा पाल्पा जिल्ला इन्चार्ज ठाकुर गैरेले जेनजीहरुको मागलाई संवैधानिक रुपमा पूरा गर्न जनप्रर्दशन आवश्यक भएको बताउनुभयो । उहाँले जेनजीले उठाएको भ्रष्टाचार नियन्त्रण र सुशासन कायमको मुद्दा एमालेको पनि रहेको बताउदै नेता गैरेले संविधानको रक्षाका लागि सबै एक जुट हुनुपर्ने बताउनुभयो ।
नेकपा एमाले पाल्पा प्रचार तथा प्रकाशन विभागका प्रमुख दीपक विश्वकर्माको अध्यक्षतामा भएको पत्रकार सम्मेलन उपप्रमुख मिलन विश्वकर्माले स्वागत र सचिव रेखिराम रानाले सञ्चालन चलेको हो ।









