
पाल्पा । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले रक्त संचार केन्द्र(ब्लड बैक) संचालनमा ल्याएको छ । ब्लड बैक स्थापनाको लागि स्रोत संकलनका लागि अभियान चलाउदै आएको सोसाइटीले तानसेन २ मा रहेको कार्यालय भवनबाट रक्त संचार केन्द्र सञ्चालनमा ल्याएको हो ।
पाल्पामा वार्षिक चार हजार पाँच सय पिन्ट रगत आवश्यक रहेको तर यसको सहज व्यवस्थापन नहुँदा आमनागरिकले भोग्नु परेको समस्यालाई समाधान गर्न ब्लड बैक सुरु गरिएको सोसाइटीका सभापति बावुराम कार्कीले बताउनुभयो । जिल्लामा रगत अभाव हुन नदिन विगत डेढ वर्षदेखि निरन्तर रूपमा रक्त संचार केन्द्र स्थापनाका लागि गरिएको पहललाई नतिजामुखी बनाउन भवन निर्माण कार्य सम्पन्न नहुँदासम्मका लागि कार्यालयबाट सेवा सुरु गरिएको उहाँले बताउनुभयो । केन्द्रका लागि तानसेन १ भुसलडाँडामा भवन निर्माण भैरहेको छ । भवनका लागि नेपाल सरकारबाट गत वर्ष एक करोड ५३ लाख र यो वर्ष तीन करोड रकम विनियोजन भएको शाखाका महामन्त्री केशवराज नेपालले जानकारी दिनुभयो । हालसम्म केन्द्र सञ्चालनका लागि तानसेन र रामपुर नगरपालिका, रिव्दीकोट र रम्भा गाउँपालिकाले जिन्सीसामग्री सहयोग गरेका छन् ।
पाल्पामा करिब ६३ प्रतिशत महिलालाई र ३७ प्रतिशत पुरुषहरुलाई रगतको आवश्यकता पर्ने गरेको शाखा उपसभापति भीमसेन कार्कीले जानकारी दिनुभयो । उहाँले बढ्दो दीर्घरोगको जोखिमले पनि रगत अभाव हुने गरेकोले स्थापनासंगै दीगो सञ्चालनका चुनौतीहरु धेरै रहेको बताउनुभयो । सोसाइटीले ब्लड बैक नियमित रूपमा सञ्चालन गर्न विभिन्न व्यक्तिहरूसँग हाम्रो ब्लड बैँक हामी बनाउँछौँ अभियान मार्फत विभिन्न शीर्षकमा ६८ लाख रकम संकलन गरेको बताउदै उपसभापती कार्कीले केन्द्र सञ्चालन र व्यवस्थापनका लागि ५ करोड आवश्यक रहने बताउनुभयो ।
ब्लड बैकमा अहिले दुई जना प्राविधिक कर्मचारीसहित पाँच जनाको जनशक्ति व्यवास्थापन गरी रक्त संचार केन्द्र सञ्चालन सुरु गरिरहेको शाखाका सदस्य डा.झपेन्द्र ढकालले बताउनुभयो । उहाँले कर्मचारीलाई आवश्यक तालिम प्रशिक्षण दिएर सेवामा लगाइएको बताउनुभयो ।
सुरु गरिएको ब्लड बैकको दिगोपना र निरन्तरताका लागि धेरै चुनौतीहरु रहेको सरोकारवालाहरुको भनाइ छ । सुरु गर्नुभन्दा अगाडि आर्थिक स्रोतको व्यवस्थापन मात्र चुनौतीका रुपमा रहेपनि अब आर्थिक संगै रगतको व्यवस्थापन पनि समस्याको रुपमा देखिएको उनीहरुले बताएका हुन । जसको समस्या समाधानका लागि रक्तदाताहरुको समूह पहिचान, नियमित रक्तदान अभियान, गुणस्तरीय रगत वितरणसंगै दैनिक कर्मचारीको व्यवस्थापन, सामग्री खरिदलगायतमा विशेष ध्यान दिनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका थिए ।
विरामीका लागि रगत आवश्यक परे ९७६६७९९७७७ मा सम्पर्क गरी (होल ब्लड) प्राप्त गर्न सक्ने सोसाइटीका जिल्ला शाखा अधिकृत विनोद भारतीले जानकारी दिनुभयो । रगत परीक्षणको शुल्कसहित प्रति पिन्ट एक हजार ५० रुपैयामा उपलब्ध हुने उहाँले बताउनुभयो । ब्लड बैकमा रगत अभाव हुन नदिँन सोसाइटीका जिल्ला भर रहेका १९ उपशाखा, युवा रेडक्रस सरर्कल र नियमित रक्तदाताहरुसंग समन्वय र छलफल अगाडि बढाइएको अधिकृत भारतीले बताउनुभयो । यसका साथै महिला समूहहरुमा पनि सचेतनाका कार्यक्रम लैजाने उहाँको भनाइ छ । सुरु भएको केन्द्रको नियमित सञ्चालनका लागि सबै पक्षको सकारात्मक सहयोग आवश्यक रहेको सोसाइटी जिल्ला शाखाले जनाएको छ । (करुवा अर्धसाप्ताहिक )









