पाल्पामा डढेलो नियन्त्रण जनचेतना सप्ताहको शुभारम्भ

पाल्पा । वन डढेलो नियन्त्रण जनचेतना सप्ताह शुभारम्भ भएको छ । हरेक वर्षको चैत्र महिनाको १ गते देखि ७ गते सम्म वन डढेलो जनचेतना सप्ताह मनाउने गरिन्छ । विगतका वर्षमा जस्तै यस वर्ष पनि डिभिजन वन कार्यालयले विभिन्न जनचेतनामूलक कार्यक्रम गरी सप्ताह मनाउने जनाएको छ ।

सोही सप्ताह अन्तरगत वन डढेलो नियन्त्रण तथा रोकथाम सम्बन्धी सरोकारवालसंगको अन्तरक्रिया सम्पन्न भएको छ । जिल्ला वन सुरक्षा समन्वय समिति पाल्पाको आयोजनामा भएको अन्तरक्रियामा सहभागीहरुले वन डढेलो नियन्त्रणका लागि आवश्यक औजार, तालिमप्राप्त मानविय जनशक्तिको व्यवस्थापनमा सबै पक्ष जिम्मेवार भएर काम गर्नुपर्ने कुरा उठाएका छन् ।

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले वन उपभोग गर्नेले वन क्षेत्रको डढेलो नियन्त्रणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो । उहाँले अधिकार मात्र खोज्ने तर दायित्व भूल्ने व्यवहारले सबैले दुख भोग्नु पर्ने अवस्था रहेको बताउनुभयो । वनमा डढेलो लाग्दा वातावरण र स्वास्थ्यमा पर्ने असर बारे नागरिकलाई जनचेतना जगाउनुपर्नेमा प्रमुख खनालले जोड दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी आनन्द काफ्लेले वन डढेलो नियन्त्रणका लागि सबैभन्दा पहिले समुदाय नै जाग्नुपर्ने बताउनुभयो । उहाँले विशेषगरी डढेलो नियन्त्रणको विषयमा सामुदायिक वन उपभोक्ता समितिको नेतृत्वले ध्यान दिनुपर्नेमा जोड दिनुभयो । प्रमुख जिल्ला अधिकारी काफ्लेले स्थानीय तहहरुले स्रोत व्यवस्थापन र जनचेतना अभिवृद्धिका लागि समन्वय बैठकबाट निर्णय गरेको समेत जानकारी गराउनुभयो ।

सप्ताहव्यापी कार्यक्रममा पूर्व तयारी चरणहरु वन डढेलो नियन्त्रका लागि अग्नी रेखा सरसफाई सामुदायिक वन उपभोक्ता समूहले गर्ने छन् । यसका साथै स्थानीय तह, सुरक्षा निकाय र सव डिभिजन वन कार्यालयले जनचेतामूलक कार्यक्रम अन्तरगत स्कुल शिक्षा, ज्वलनशील पर्दाथको व्यवस्थापनमा सहजीकरण, प्राङ्गारिक मल उत्पादन, उद्यम सञ्चालनमा सहयोग, समूह परिचालन, सञ्चार माध्यमबाट सचेतनामूलक सामग्री प्रकाशन प्रसारणलगायतका कार्यक्रम गरिने डिभिजन वन कार्यालय पाल्पा प्रमुख नारायणदेव भट्टराईले बताउनुभयो ।

अन्तरक्रिया कार्यक्रममा वन अधिकृत संयोग बस्नेतले समग्र नेपाल र पाल्पा जिल्लामा वन डढेलोको अवस्था, वन डढेलो नियन्त्रण योजना २०८० र सरोकारवालको भूमिकाका विषयमा प्रस्तुति राख्नुभएको थियो । उहाँका अनुसार पाल्पाको दश स्थानीय तहमध्य रम्भा, रामपुर र बगनासकालीमा वन ढडेलोको उच्च सम्भावना छैन । वन डढेलोको उच्च संवेदनशील भएको गाउँपालिकाहरुमा रिब्दीकोटका ५ वडा, तिनाउका ४ वडा, तानसेनका ४ वडा, रैनादेवी छहराका ४ वडा, माथागढीका ४ वडा, निस्दीका ३ वडा र पूर्वखोलाका ३ वडा रहेका छन् । यो प्रतिशतका हिसावले कुल ८१ वटा वडा मध्य २७ वडा रहेको छ । जसको प्रतिशत ३७ प्रतिशत हुन जान्छ । यस्तै मध्यम संवेदनशीलता २९ प्रतिशत र न्यून सम्भावना रहेको वडाको २५ प्रतिशत रहेको वन अधिकृत बस्नेतको भनाइ छ ।

आर्थिक वर्ष २०७९/८० मा पाल्पाका २ सय १९ स्थानमा वन डढेलो लागेको थियो । जसमा मानविय क्षति भने भएन । गत आर्थिक वर्षमा लामो समय खडेरी पर्दा डढेलो बढी लागेकोे रेञ्जर यमलाल पोखरेलले बताउनुभयो । उहाँका अनुसार डढेलो लागेमा ठुलो दुर्घटना निम्तन सक्ने भएकोले सचेतना र उपभोक्ताहरुको क्रियाशीलता आवश्यक रहेको बताउनुभयो ।

पाल्पामा ७ सय १ सामुदायिक वनहरु रहेका छन् । यी सामुदायिक वनहरुमा डढेलो लागेमा आन्तरिक रुपमा कारवाही गर्ने व्यवस्था गरिएको हुन्छ । यदि जिल्ला अदालतमा मुद्दा दर्ता गरेको खण्डमा सामुदायिक वनमा डढेलो लगाएको कसुर ठहर भएमा वन ऐन २०७६ को दफा ४९/५० अनुसार ६० हजार जरीवाना सहित तीव वर्ष जेल सजाए हुने कानूनी व्यवस्था रहेको छ । अहिलेसम्म भने डढेलो लागेपनि कारबाही भने भएको छैन । यस पटक कडाईका साथ कारबाही गर्नेगरी काम भएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।

सम्बन्धित खवर