पाल्पामा सत प्रतिशत विद्युतिकरणको लक्ष्य : इ. मरासेनी

पाल्पा । नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रका प्रमुख इन्जिनियर दिलिप मरासेनीले चालु आर्थिक वर्षको अन्त्यसम्ममा जिल्लामा सत प्रतिशत विद्युतिकरण हुने बताउनुभएको छ । उहाँले यस वर्षको ७ महिनामा केन्द्रले गरेको कार्य सम्पादन बारे पाल्पाली पत्रकारहरुलाई जानकारी गराउन आयोजना गरेको पत्रकार अन्तरक्रिया कार्यक्रममा प्रतिशत विद्युतिकरणको लक्ष्य राखेर काम भैरहेको जानकारी गराउनुभएको हो ।

पाल्पाको ८१ वटा वडामध्य ७२ वडामा विद्युतिकरणको काम पूरा भएको र अब ९ वटा वडामा मात्र विद्युतिकरण हुन बाँकी रहेको छ । अहिले विद्युत नपुगेका वडाहरु तिनाउ गाउँपालिका १ नं. वडाको कचलको केही भाग, ४ नं. वडाको सत्यवती, माथागढी गाउँपालिकाको ६ गोठादी, ७ सहबास र ८ बहादुरपुर र निस्दी गाउँपालिकाको १ नं. वडा बाकामलाङ्ग, २ नं. वडा सहलकोट, ३ झिरुवासको केहि भाग र ७ नं. वडा ज्यामिरेमा विद्युतिकरणको काम तीव्रताका साथ भैरहेको प्रमुख मरासेनीले जानकारी दिनुभयो ।

यसका साथै केन्द्रले हालसम्म गरेका कार्य प्रगति बारे जानकारी गराउदै सहज रुपमा विद्युत आपूर्तिका लागि यस वर्ष बजार क्षेत्र सहित विभिन्न स्थानमा ३३ वटा ट्रान्सफर्मर जडान गरिएको, ८ वटा वितरण ट्रान्सफर्मरको क्षमता वृद्धि गरिएको, ५० प्रतिशत काठका पोल बदल्नेगरी काम भएको, निस्दी गाउँपालिकामा केन्द्रीय प्रशारण लाइन जडान गरी फ्युज सेवा स्थापना गर्न सफल भएको प्रमुख मरासेनीले बताउनुभयो । उहाँले तानसेन खानेपानी उपभोक्ता समितिको भुल्के खण्डको खानेपानी महशुलमा ग्राहक वर्ग परिर्वतन गरी करिब ५० प्रतिशत छुट दिएको, माघ महिनादेखि अनलाइन डिभाइस रिर्डिङ सेवा लागु गरिएको जानकारी दिनुभयो ।

अहिले निशुल्क थ्रीफेज स्मार्ट मिटर जडान कार्य भैरहेको, कालोसूचिमा रहेका २० जना ग्राहकबाट २ लाख ९६ हजार, २ सय ६३ रुपैयाँ असुल गरिएको र बुटवल पाल्पाको ३३ केभी लाइन जंगलको रुट हुँदै आएकोले हिउद वर्षात जुनसुकै समयमा पनि दुख दिएकोले सिर्दाथ राजमार्गको चरचर डुम्रे हुँदै सञ्चालन गरिएको, माथागढीको झडेवा, जगात, धमिगा, भुटुके र तिनाउ ४ को सत्यवती गिजनचौरमा केन्द्रीय लाइन सञ्चालनमा ल्याइएको साथै नेपाल टेलिकमको ट्रंक लाइन वापतको १२ लाख ३ हजार ५ सय ९ रुपैयाँ ३१ पैसा भूक्तानी गर्न सफल भएको प्रमुख मरासेनीको भनाइ छ ।

उहाँले पाल्पाको विद्युतमा देखिर्दै आएको समस्या समाधानका लागि सबै पक्षको सहयोग र समन्वयमा काम भैरहेकोले पत्रकारहरुले पनि सघाउन आग्रह गर्नुभयो । यसका साथै अहिले केन्द्रले तयार गरेको कार्य योजनामा तोकिएको लक्ष्य भन्दा धेरै राम्रो प्रगति हासिल गरेको केन्द्रको दावी छ ।

कार्यक्रमा सहभागी नेपाल पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाले नियमित रुपमा ग्राहकले विद्युत उपभोग गर्ने अवस्था सिर्जना गर्न आग्रह गर्नुभयो । उहाँले बिजुली छिनछिनमा जाने आउने समस्याका विषयमा ग्राहकलाई जानकारी नहुँने बताउदै यस विषयमा दिगो समाधान हुनेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो ।

सहभागी अन्य पत्रकारहरुले भोल्टेज पुरा नआउने, भोल्टेज अपडाउन हुँदा दुर्घटनाको जोखिम बढ्ने, पहुँच हुनेहरुले मात्र विद्युत कार्यलयबाट राम्रो सेवा प्राप्त गर्ने अवस्थाको अन्त्य हुनुपर्ने, काठको पोल विस्थापनको विषय प्राथमिकताका आधारमा गर्नुपर्ने साथै ग्राहक वर्गले सहज महसुस गर्ने गरी कार्यसम्पादन गनुपर्र्ने सुझाव राखेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय