कायमै छ पूर्वखोला जल्पामा भेजा प्रथा

पाल्पा । लोपोन्मुख अवस्थामा रहेको भेजा प्रथा पूर्वखोला गाउँपालिको २ नं. वडा जल्पामा कायम नै रहेको स्थानीयवासीले बताएका छन् । भेजा पश्चिम नेपालको मगर समुदायमा प्रचलित प्रथा हो । मगर समुदायमा भेजाको निकै नै महत्व रहेको छ । वर्षभरी मगर गाउँमा रीतिथिती, संस्कार, मूल्य र मान्यता, झारा–पर्म, मानापाथी के कति लिने—दिने भन्ने निर्णय भेजाद्वारा नै गर्ने गरिन्छ । पछिल्लो समय लोपोन्मुख अवस्थामा पुगेको यो प्रथा पाल्पाको जल्पामा भने कायम रहेको वडाध्यक्ष निरबहादुर सारुले बताउनुभयो ।

यस वर्षको भेजाले विवाह,चाडपर्वको समयमा हुने अनावश्यक खर्च निरुत्साहित गर्न को लागि बजारबाट खरिद गर्ने मदिराजन्य वस्तु प्रयोग गर्न नपाइने निर्णय गरेको छ । भेजाले सामूहिकताको भावनामा विश्वास गर्ने हुँदा आफूलाइ यो प्रथा निकै नै राम्रो लागेको स्थानीयवासी माया रानाले बताउनुभयो । भेला बसेर एक वर्षको लागि नियम बनाउने, ज्याला निर्धारण गर्ने जस्ता काम हुने भएकाले यो समुदायका लागि राम्रो भएको उहाँको भनाइ छ ।

भेजामा सामूहिक कामको योजना बनाउनुका साथै आफूले उत्पादन गरेका सामानको मूल्य निर्धारण पनि गरिन्छ । अनि खेतीपाती राम्रो होस् र समुदायका कसैलाई विघ्न बाधा नपरोस् भनेर पूजाआजा गरिन्छ । यो मौलिक प्रथाले समुदायका सबै पक्षलाई समेट्ने जल्पाका स्थानीयवासी पहलसिंह घर्तिमगरले बताउनुभयो । हिजोदेखि नै चलिआएको यो प्रथा हाम्रो गाउँ, छिमेकमा छुटेको छैन । महिनामा एक चोटी बाराना हुन्छ । देवीदेवतालाई धार दिएर ठूलाठूला काम नगर्ने आराम गर्ने गरिने उहाँको भनाइ छ ।

गाँउगाँउमा सरकारी ऐन नियम पुगिनसकेका बेला समुदायमा थिती बसाउन र सामूहिक भावना विकास गराउन भेजाको सुरुवात गरेको मानिन्छ । पुर्खाहरुले वर्षौँ पहिले सुरु गरेको भेजा अहिले पनि समुदायलाई जोडिराख्ने रसायन जस्तो रहेको कमला आधारभूत विद्यालय जल्पा २ मैदानका शिक्षक मोहनबहादुर रखालले बताउनुभयो ।

भेजाबाट पारित हुने निर्णयमगर समुदायका सबैले पालना गर्छन् । आफ्नो समुदायको इतिहास र परम्परा जोगाइराख्नुका साथै सामूहिकता भित्र एकता कायम राख्न सहयोग पु¥याएकाले भेजाको जगेर्ना जरुरी रहेको लुम्बिनी प्रदेश सांसद खेमबहादुर सारुले बताउनुभयो ।
समुदायका भिन्न भिन्न प्रथा र परम्पराले नै देशलाई सैयौँ थरी फूलको साझा फूलबारी बनाएको छ । तर आधुनिक बन्ने होडमा राम्रा परम्परा पनि बिर्सदैँ जाने क्रमले आफ्नो पहिचान नै संकटमा पारिरहेको उहाँको भनाइ छ ।

मगर जातिले परम्परादेखि नै आफ्नो भेजा प्रथामार्फत् प्राकृतिक स्रोत साधनको संरक्षण गर्दै आएको पूर्वखोला गाउँपालिकाका अध्यक्ष नुनबहादुर थापाले बताउनुभयो । उहाँले मगर समुदायले भेजामार्फत कोटघर तथा मन्दिर सञ्चालन गरी परम्परादेखि नै प्राकृतिक स्रोत साधनको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आएको समेत बताउनुभयो । समय अनुसार केही परिर्वतन भएपनि पूर्वखोलाको अधिकांश वडामा भेजा प्रथा कायम नै रहेको अध्यक्ष थापाको भनाइ छ ।

सम्बन्धित खवर