
पाल्पा । माथागढी गाउँपालिकाले अनुदानमा बिउ बिजन र कृषि सामग्री वितरणको तयारी थालेको छ ।
उन्नत बिउमा कृषकहरुको पहुँच वृद्धि गर्न, व्यवसायिक कृषकलाइ प्रोत्साहनका साथै आधुनिक खेती प्रविधि अपनाएर कृषकलाई खेती गर्ने वातावरण निर्माणका लागि अनुदानको कार्यक्रम सञ्चालनको प्रकृयामा अगाडि बढेको गाउँपालिका अध्यक्ष यमबहादुर चिदीले बताउनुभयो । उहाँले कृषकहलाई प्रोत्सहान गर्ने काम स्थानीय सरकारकै भएकोले आवश्यकता र मागलाई ध्यानमा राखेर योजना तयारी गरी कार्यान्वयन चरणमा पुगिएको समेत बताउनुभयो ।
गाउँपालिकाले लहरे तरकारीको बिउ तथा प्लास्टिक टनेल तथा मल्चिङ अनुदानमा दिनका लागि १० दिनको सूचना प्रकाशन गरी माग संकलन गरेको छ । गाउँपालिका भित्रका ८ वडामा निवेदन संकलन भएको र त्यसको विवरण पालिकामा आउने क्रम जारी रहेको कृषि शाखा प्रमुख गौतम थापाले बताउनुभयो । केही दिनमा वडागत रूपमा विवरण संकलन भएपछि अनुदान वितरणको काम हुने उहाँको भनाइ छ ।
गाउँपालिकाले आर्थिक वर्ष ०८०÷८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार लहरे तरकारीको बिउबिजन अनुदान कार्यक्रमका लागि तीन लाख विनियोजन गरेको छ । यसबाट ७५ प्रतिशत अनुदानमा लहरे तरकारीका बिउ बिजन वितरण गरिने छ । गाउँपालिकाले काँक्रा, करेला, भिंडी, सिमी, बोडी, तर्बुजा लगायतका बिउ बिजनमा अनुदानका लागि निवेदन माग गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद घिमिरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाउँपालिकाले ७० प्रतिशत र कृषकको ३० प्रतिशत लागत साझेदारीमा प्लास्टिक टनेल तथा मल्चिङ अनुदानमा उपलब्ध गराइने छ । गाउँपालिकाले भित्र रहेका र बिउ बिजन आवश्यक पर्ने कृषक, समूह, कृषि फार्म तथा सहकारीहरुलाई सूचना प्रकाशन गरेर दश दिन भित्र आवश्यक कागजात सहित निवेदन माग गरिएको थियो ।
आवश्यक र इच्छुक व्यक्ति तथा समूह, सहकारीले निवेदन, व्यक्तिको हकमा नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कृषि फार्म, समूह तथा सहकारीको हकमा दर्ता तथा नविकरणसहितको प्रमाणपत्रको प्रतिलिपि र समूह सहकारीको हकमा हिउँदे तरकारीको बिउ माग गर्ने सम्बन्धीको निर्णयको प्रतिलिपि सहित सम्पर्क राख्न पौष २० गते सूचना प्रकाशित गरिएको थियो । सूचनाको म्याद सकिएको र माग भएका निवेदन संकलनको काम भैरहेको गाउँपालिकाको कृषि शाखाले जनाएको छ ।
कृषकहरुलाई वर्खामा मात्र नभई हिउँदमा पनि कृषि कर्ममा जोड्ने गरी गाउँपालिकाले बिउ बिजन वितरणको कार्यक्रम ल्याएको गाउँपालिकाका प्रवक्ता शंकर दर्लामीले बताउनुभयो । उहाँले बेमौसमी तरकारी उत्पादन गरेर कृषकलाई आत्मनिर्भर र आर्थिक रूपमा बलियो बनाउने गाउँपालिकाको लक्ष्य रहेको जानकारी दिनुभयो । परम्परागत रूपमा खेती गरिरहेका कृषकहरुलाई सम्भावना देखाउन प्रोत्सान गर्दै क्षेत्रमा कृषक अघि बढाउँदै जाने र व्यवसायिक कृषक बनाउने योजना अनुसार गाउँपालिकाले अनुदानको कार्यक्रम प्राथमिकताका साथ अगाडि बढाएको छ ।
गत आर्थिक वर्षमा पनि गाउँपालिकाले ४ लाख बजेटबाट अनुदानको कार्यक्रम सञ्चालन गरेको थियो । जसबाट २ लाख बजेटबाट १६ वटा मल्चिङ र ४८ वटा टनेललाई अनुदान उपलब्ध गराएको थियो । यस्तै २ लाख रुपैयाँबाट तरकारी खेतीका लागि बिउ बिजन वितरण गरेको गाउँपालिकाले जनाएको छ । अनुदानमा बिउ बिजन र कृषि सामग्री प्राप्त गर्दा कृषकहरु खुसी हुनुका साथै कृषि कर्ममा आकर्षित हुँदै गएका छन् ।