रम्भामा नाचियो मारुनी नाच

पाल्पा । रम्भा गाउँपालिकामा मारुनी नाच नाचिएको छ । गाउँपालिकाको वडा नं. २ फोक्सिङ्गकोटको रानीबास गाउँमा तिहारको अवसरमा नाच नाचिएको हो । मगर समुदायले नाच्ने मारुनी नाच ऐतिहासिक र साँस्कृतिक रुपमा महत्वपूर्ण मानिन्छ ।

रानीबास गाउँमा हरेक वर्ष बडा दशैं, तिहार, हरिबोधनी एकादशी र मंसिरे पूजाका दिन गरी ४ पटक मारुनी नाच नाच्ने चलन रहेको छ । यस नाचमा भर्खरका युवाहरुलाई चोलिया, कण्ठीया, टिकीया, सारी, फरिया, घलेकजस्ता परम्परागत भेषभुषाले सिंगारेर मारुनी तयार गरिन्छ । मारुनी संगै नाच्ने पुरुषलाई पुर्छुङ्गे भनिन्छ । मारुनी नाचको गीत गाउने मुखियालाई रौरा भनिन्छ । हाल सालै मारुनी नाचका बृद्ध रौराको मृत्यु भएपछि आफूहरुको काँधमा मारुनी नाच जगेर्नाको जिम्मेवारी आएको नयाँ रौरा देवेन्द्रकुमार्र सारुले बताउनुभयो ।

मारुनी नाचको गीतमा ख्याली, मझौटे, झुमरी, डाँडी, रम्भायण, कृष्ण चरित्रलगायतका गीतहरु फरक फरक लय र भाखामा समूहमा गाउने चलन छ । ख्याली गीत रमाईलो गर्ने खालको गीत हो । यो गीतमा माया पिरतीका कुरा, राजामहाराजका गाथा, देवी देउताका कुरा, स्थान विशेषका कुरालाई जोडेर गाउने प्रचलन रहेको छ । यो नाचमा मादल र मजुरा वाद्य वाधनका रुपमा प्रयोग हुने गर्दछ ।

मारुनी नाच नाच्ने घरको मुखियालाई गीत र नाचबाटै आशिष दिने चलन रहेको छ । घरको मुखियाको जय जयकार गर्दै भलो चिताउँदै गीतका माध्यमबाट रमाईलो पारामा आशिक दिंदा गाउँभरिका मानिसहरु भेला हुने गर्दछन । यसपालिको तिहारमा मारुनी नाच नाच्न आफू काठमाण्डौदेखि नै उत्साहित भएर आएको काठमाण्डौमा कलाक्षेत्रमा काम गर्ने ताराबहादुर सारुले बताउनुभयो ।

मारुनी नाच नाच्न आउनेहरुलाई आमा समूहका सदस्यहरुले खानाको व्यवस्था गर्ने गर्दछन । सबै घरबाट उठाएको चामल, साग, सिमीबोडी, तरकारी, अचार एकैठाउँ मिसाई सामुहिक खाना खानुको मज्जा नै बेग्लै हुने स्थानीय गंगाबहादुर गाहाले बताउनु भयो ।

मारुनी नाच नाच्दा कला र संस्कृतिको संरक्षण मात्र हैन आर्थिक संकलन समेत हुने गरेको छ । तिहारमा मात्र झण्डै २९ हजार रुपैयाँ आम्दानी भएको मारुनी नाचका मादले जगत पाडेमगरले बताउनुभयो । बडा दशैंको अवसरमा मारुनी नाचमा ३३ हजार बढी संकलन भएको उहाँले जानकारी दिनुभयो ।

कोरोना महामारीका समय बन्द गरिएको मारुनी नाचको जगेर्ना गर्न केही युवाहरु लागि परेको देख्दा आफूहरु निकै उत्साहित भएको र संरक्षणको लागि आफू लागि पर्ने जिल्ला समन्वय समिति पाल्पाका सदस्य भोवीसरा सारुले बताउनुभयो ।

मारुनी नाच हरेक वर्ष महाष्टमी कालारात्री देखि नाच्न सुरु गरिन्छ । नयाँ घर उद्घाटन, अन्न प्रासन, हर्ष बढाई, विजय उत्सवमा मारुनी नाच नाच्ने चलन रहे पनि आजभोली चाडपर्वमा मात्र नाच्ने गरिन्छ । रानीबासवको मारुनी नाचको बारेमा डा.मुकुन्द शर्माले विद्यावारिधि समेत गर्नु भएको छ ।

सम्बन्धित खवर