तानसेन । पाल्पामा पछिल्लो समय व्यावसायिक फूल खेती फस्टाउन थालेको छ । प्रायजसो करेसाबारी र आँगनको छेउछाउमा शोभा बढाउन वा सोखका रुपमा लगाइ फूल अहिले व्यावसायिक रुपमा लगाउन सुरु गरिएको हो । विभिन्न कार्यक्रम र उत्सवमा बढ्दो फूल मालाको प्रयोगले व्यावसायिक फूलको खेतीमा कृषकहरु आर्कषित भएका छन । पाल्पाको अन्य स्थानीय तहमा जस्तै तानसेन नगरपालिका वडा नं. ७, ८ र १० नंं वडामा अहिले व्यावसायिक रुपमा फूल खेती गरिएको छ ।
तानसेन ८ मा ध्रुर्व भण्डारीले गतवर्षबाट व्यावसायिक रुपमा फूलखेती सुरू गर्नुभएको छ । फूलखेतीमा भण्डारीले एक लाख भन्दा धेरै लगानी गरेको बताउनुभयो । अहिले बजारमा एउटा मालाको मूल्य फूलको साइजअनुसार सय रुपैयाँदेखि १ सय ४० रुपैयाँसम्म कायम छ । ‘उत्पादन गरेको फूललाई बजारको समस्या छैन । आगामी वर्ष फूल खेती थप क्षेत्रमा विस्तार गर्ने योजना छ ।’ भण्डारीले भन्नुभयो । सयपत्री फूल बारिभरी ढकमक्क फूलेका छन् । जहाँ माहुरी र पुतली मात्रै नभई धेरैलाई फुल खेतीले लोभ्याउने गरेको छ ।
चाडपर्व नजिकिएसँगै फूल खरिद गर्ने, फूलको बगैँचा हेर्न, फोटो÷भिडियो खिच्न र टिकटक बनाउन आउने युवायुवतीको संख्या दैनिक बढ्दो छ । ‘अरु खेतीमा भन्दा फूलमा राम्रो आम्दानी हुँदो रहेछ त्यसैले अहिले पाल्पाका अन्य ठाउँमा पनि व्यावसायिक फूल खेती हुन थालेको छ ।’ भण्डारीले भन्नुभयो । अहिले एक किलो फूलको मूल्य ५ सय रुपैयाँ कायम गरिएको छ । प्रत्येक वर्ष विदेशबाट आयात हुने लाखौँ मूल्य बराबरको प्लाष्टिकका माला र खादालाई विस्थापन गर्दै फूल खेतीलाई व्यावसायिक बनाउनुपर्ने कृषक भण्डारीको भनाइ छ ।
तानसेन नगरपालिका वडा नं.१० तेल्घाका रामबहादुर कुमालले पनि व्यावसायिक फूलखेतीको सुरुवात गर्नुभएको छ । उहाँले बजारमा चाडपर्वको बेला कृत्रिम रबरका फूल तथा मालाले बजार कायम गरिरहेको अवस्थामा त्यस्ता फुललाई निरुत्साहित गर्न व्यावसायिक रुपमा फूल खेती गरेको बताउनुभयो । उहाँले फुलकै लागि लाखौँ पैसा बाहिर गइरहेको समयमा आफूले उत्पादन गरेको फूलहरुले बाहिरबाट भित्रिने कृत्रिम फूलको आयातमा कमि हुने बताउनुभयो । पहिलो पटक ७ हजार सयपत्रीका बोटहरु रोपेकोमा अहिले ६ हजार जति बोटहरु रहेको कुमालले बताउनुभयो । उहाँले ८० हजारको लागतमा ६ रोपनी क्षेत्रफलमा फूलखेती गर्दै आउनुभएको छ । उत्पादन भएका फूलहरु पाल्पामा मात्र नभइ बाहिरी जिल्लामा पनि पठाउने गरेको उहाँको भनाइ छ ।
पछिल्लो समय स्वदेशमा आफ्ना खेतबारी बाँझै राखेर विदेशीने युवाहरुको संख्या ठूलो छ । जग्गा प्लटिङ गरिएको ठाउँमा र घडेरी किनेर बाँझै राख्नुभन्दा त्यो ठाउँमा ९० दिनमा तयार हुने फूलखेती गर्न सके त्यसबाट राम्रो फाइदा लिन सकिने कृषि विज्ञको भनाइ छ ।
अहिले पाल्पाको तानसेन, रामपुर, पुर्वखोला, बगनासकाली, रम्भा र माथागढी, रिब्दीकोटलगायतका स्थानीय तहमा व्यावसायिक फूलखेती हुँदै आएको छ । फूल खेतीलाई प्राथमिकतामा राखेर स्थानीय सरकारले कृषकलाई सहयोग गर्नुपर्नेमा अहिलेसम्म ध्यान पुग्न नसकेको कृषकहरुको गुनासो छ ।