
पाल्पा । न्यून आन्तरिक आम्दानीमा काम गर्दै आएको जिल्लाका दश स्थानीय सरकारले जनाएका छन् । उनीहरूले आन्तरिक आम्दानीको अवस्था कमजोर हुँदा विकासमा समेत समस्या देखिएको बताएका छन् । सीमित स्थानीय तह बाहेक अधिकांश स्थानीय सरकारको आन्तरिक आम्दानी कम देखिएको छ । आन्तरिक आम्दानी कम हुँदा नागरिकले चाहे र मागे अनुसारको विकास गर्न असहज भएको स्थानीय तहका प्रमुखहरूको भनाइ छ । कम आय हुँदा संघ र प्रदेशको योजना बाहेक आफ्नो आवश्यकता अनुसारको विकासको योजना सञ्चालन गर्न नसकिएको प्रमुखहरूको गुनासो छ ।
स्थानीय तहमा मालपोत, भूमीकर, घर, जग्गा वहाल कर, व्यवसाय कर, सिफारिस दस्तुर, आवेदन शुल्क, नदीजन्य पदार्थ विक्री, नक्सा पास वा अभिलेखीकरण दस्तुर, भ्याट रकम, सेवा तथा अन्य र बेरुजु असुलीलगायतका शीर्षकबाट आन्तरिक आम्दानी संकलन गर्दछन् ।
गत आर्थिक वर्षमा पाल्पाका दश स्थानीय तहको आन्तरिक आम्दानीलाई हेर्दा निस्दी गाउँपालिकाको ७ करोड ७७ लाख २४ हजार ७ सय ८ रूपैयाँ २ पैसा संकलन गरेको छ । यस्तै गरी तानसेन नगरपालिकाको ७ करोड २६ लाख ५८ हजार ९ सय २३ रूपैयाँ ८९ पैसा आन्तरिक आम्दानी गरेको जनाएको छ । रामपुर नगरपालिकाका ३ करोड ७४ लाख २७ हजार ३ सय ५९ रूपैयाँ ४१ पैसा रहेको छ ।
तिनाउ गाउँपालिकाले ३ करोड ९० लाख ७८ हजार २ सय ९७ रूपैयाँ ६९ पैसा, माथागढी गाउँपालिकाले २ करोड ७४ लाख २ हजार ४ सय ८४ रूपैयाँ, रैनादेवी छहरा गाउँपालिका १ करोड ११ लाख ४७ हजार १ सय २२ रूपैयाँ ४० पैसा, रम्भा गाउँपालिकाले ७७ लाख ९९ हजार ९ सय ५६ रूपैयाँ, रिब्दीकोट गाउँपालिकाले ७५ लाख २१ हजार ७ सय ५० रूपैयाँ २५ पैसा, बगनासकाली गाउँपालिकाले ६८ लाख ३७ हजार ६ सय ३५ पैसा र पूर्वखोला गाउँपालिकाले ६१ लाख ९२ हजार ९ सय ८० आन्तरिक आम्दानी गरेको जनाएका छन् ।
आर्थिक वर्ष २०७९/८० को आम्दानी विवरण हेर्दा जिल्लामा सबैभन्दा बढी आन्तरिक आम्दानी गर्ने गाउँपालिकाका रूपमा निस्दी गाउँपालिका रहेको छ । यस्तै गरी कम आन्तरिक आम्दानी संकलन गर्ने गाउँपालिकाका रूपमा पूर्वखोला गाउँपालिका देखिएको छ ।
आन्तरिक आम्दानी कम हुँदा जनताका आवश्यक अनुसार योजना सञ्चालन गर्न समस्या हुने पूर्वखोला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले बताउनुभयो । उहाँले करको दायर फराकिलो बनाउदै आन्तरिक आयमा वृद्धि गर्नुपर्ने भएपनि गाउँपालिकामा बसोबास गर्ने जनताको संख्या घट्दो क्रममा रहेकोले समस्या भएको बताउनुभयो ।
धेरै आम्दानी गरेको निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले आम्दानी बढी हुँदा संघको राजस्व बाँडफाडबाट स्थानीय तहको विकासमा प्रभाव नपरेको बताउनुभयो । उहाँले आन्तरिक आम्दानीले योजना र विकास निर्माण काम गर्न सहज भएको बताउनुभयो । आम्दानी बढाउन स्थानीय जनताको अधिकतम हितलाई मध्यनजर गर्दै गाउँपालिका भित्र रहेका खानीलाई विनाअवरोध सञ्चालनको प्रयास गरिएको प्रमुख प्रशासकीय अधिकृत दयालले जानकारी दिनुभयो ।
गाउँपालिकालाई बलियो बनाउन आन्तरिक आम्दानी बढाउनुको विकल्प नरहेको लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले बताउनुभयो । उहाँले सधैभरी संघ र प्रदेशले दिएको बजेटबाट मात्र स्थानीय नागरिकको चाहना र आवश्यकताको विकास सम्भव नभएकोले गाउँपालिकाहरू आम्दानी बढाउने योजना अनुसार काम गर्नुपर्ने बताउनुभयो ।