विकृत बन्दै संस्कार र संस्कृतिको पर्व तीज

पाल्पा । संस्कार र संस्कृतिको पर्वका रुपमा नेपाली महिलाहरुले मनाउने हरितालिका तीज पर्व पछिल्लो समय विकृत बन्दै गएको छ । तीज पर्वको मर्म विपरित हुने गरेका विविध गतिविधिले पर्वमा विकृती आएको हो । तीज पर्व आउनुभन्दा महिनौं अघिदेखि महिलाहरु भेला हुने दर खाने, पर्वको भाव विपरितका गीत बजाउने, नाच्ने कार्यले पर्वलाई विकृत बनाएको छ ।

हिन्दु महिलाको महान पर्व तीज धार्मिक आस्था र सांस्कृतिक महत्वका साथ मनाइने भएपनि समयको विकाससंगै आधुनिकताका नाममा तडक भडक बढेको छ । लामो समयसम्म घरायसी कामकाजमा व्यस्त चेलीबेटी वर्ष दिनको तीजमा माईत गएर बुबा आमा दाजुभाई दिदीबहिनीसँग बसेर मिठो मसिनो खाने, रमाइलो गर्ने, मनका बहहरु पोख्ने पुरानो सास्कृति हो । यसलाई कतिपय दिदी बहिनीहरुले भोग्नु परेको मनको पीडा भुलाउने माध्यमका रुपमा पनि तीज पर्वलाई लिने गरिन्छ । तर , अहिले पार्टी प्यालेसदेखि पाँचतारे होटलसम्म दर खाने, खुवाउने र बहुमूल्य वस्तुको प्रदर्शनी गर्ने होडले तीज पर्वकोे वास्तविक मौलिकता हराउन थालेको जिल्ला समन्वय समिति पाल्पाका उपप्रमुख काशीका गैरेले बताउनुभयो ।

पछिल्ला केही वर्षदेखि विभिन्न संघसंस्था, राजनीतिक दलहरु र तिनका भातृ संगठन वा समूहको आयोजनामा सामूहिक रुपमा दरखाने अभियान चल्ने गरेको छ । कुनै पनि चाडपर्व आफ्नो हैसियत अनुसार मनाउनुपर्छ । धर्म संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नुपर्छ । समयक्रम अनुसार केही परिवर्तन हुनु स्वभाविक भएपनि तीज पर्व नेपालीहरुले भड्किलो बनाउँदै लगेको उपप्रमुख गैरेको भनाइ छ ।

सांस्कृतिक र पारिवारिक महत्व बोकेको तीज मनाउने क्रममा आएको परिवर्तनले तीजमा सस्तो र अभद्र माया प्रेमको विषयले स्थान पाएको छ । तीजका पुराना लोकभाका र सन्देशका गीत आधुनिकतासँगै हराएका छन । तीज आउनुभन्दा धेरै अघिदेखि मायाप्रेमका गीतले सांगीतिक माहोल तयार बनिरहेको हुन्छ । धार्मिक र सांस्कृतिक मौलिकतालाई बिर्सेर तीजलाई समय अनुसार परिस्कृत गर्ने नाममा भडकिलो बनाइएको पत्रकार राजेन्द्र लिगलले बताउनुभयो ।

केही वर्ष अघिसम्म तीजलाई महिलाहरुले आफनो खास पर्वका रुपमा मनाउने गर्दथे । उनीहरुले आफ्ना पिर, व्यथा, वेदना अनि सुख दुखलाई गीत संगीतका माध्यमबाट अभिव्यक्त गरेको सुन्न पाइन्थ्यो । तीजका गीतहरुमा महिलाहरु एकत्रित भएर नाच्ने एकापसमा गाउँने गर्ने भएपनि अहिले त्यस्ता गीतहरु सुन्न छाडिएको छ । समयाक्रमसँगै तीजको संस्कृति विकृतीमा परिणत भएकोले यस विषयमा सबै जिम्मेवार बन्नुपर्ने तानसेन ९ की भुमिकला पाण्डेको भनाइ छ ।

तीजमा गाइने मिठा सामाजिक सन्देश बोकेका र गम्भीरलय तथा भाव भएका गीतहरु आजभोली सुनिन् छाडेका छन् । महिला होस वा केटा केटी अमर्यादित पाराले मायाप्रेमका गीतहरुमा नाचिरहेका दृश्यहरुले सामाजिक सञ्जाल रंगिएका छन् । महँगा गहना र भेषभुषलाई प्राथमिकता दिएको दृश्यले आर्थिक हिसाबले पनि तीज झन खर्चिलो बनेको देखिन्छ । जसले गर्दा सर्वसाधारण परिवारमा आर्थिक भार र मानसिक असर बढ्दो देखिन्छ । त्यसैले सबैपक्षको अवस्थालाई ध्यानमा राखेर चार्डपर्व सामान्य रुपमा मनाउने गर्दा समाजमा राम्रो सन्देश जाने सरोकारवालाहरुको भनाइ छ ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय