
पाल्पा । निस्दी गाउँपालिकाको झिरुबासमा लामो खडेरीका कारण आम्दानी दिंदै आएको अलैंचीको बिरुवा सुकेपछि कृषक मर्कामा परेका छन् । जसबाट खादरमा अलैंची खेती गरेका कृषकहरु मध्यका एक तुलबहादुर बयम्बुलाई करिब पन्ध्र लाख रुपैयाँ घाटा भएको छ ।
गाउँपालिकाले यहाँका आठ घर परिवारलाई व्यवसायिक रूपमा अलैंची खेती गर्न केही वर्ष अगाडि निस्दीको खादरलाई अलैंची पकेट क्षेत्र बनाएर अनुदान उपलब्ध गराएर खेती सुरु भएको थियो । जसमध्यका एक बयम्बु अहिले आम्दानी लिन नपाउने भएपछि चिन्तामा हुनुहुन्छ । अन्य कृषकको पनि समस्यामा परेका छन ।
करिब १२ वर्ष अगाडि अलैंची खेती सुरु गर्नुभएका बयम्बुले सुरुमा इलाम भ्रमण जाँदा दुई गाँज बिरुवा ल्याएर लगाएको बताउनुभयो । अहिले उहाँको अलैंची खेती करिब ३० रोपनी क्षेत्रफलमा फैलिएको छ । प्रत्येक वर्ष आठदेखि दश क्विन्टलसम्म अलैंची विक्री गर्दै आउनु भएका बयम्बुले यस वर्ष आवश्यक समयमा पानी नपर्दा पाँच किलो पनि नहुने अवस्था रहेको बताउनुभयो । कृषक बयम्बुले यस वर्ष करिब १५ लाख बराबरको अलैंची विक्री गर्ने योजना राखेको भएपनि लामो खडेरीले सबै बिरुवा मरेपछि योजना असफल भएको बताउनुभयो । यसवर्ष धेरै आम्दानी हुने आशा भएपनि प्राकृतिक कारणले गर्दा आफू मर्कामा परेको र कमाउने सपना सपनामै सीमित रहन पुगेको कृषक बयम्बुले सुनाउनुभयो ।
गएको पुस, माघ महिना तिर पानी परेको भए यसरी सबै बिरुवा मर्ने थिएनन् । समयमा पानी नपरेका कारण भएको लामो खडेरीले गर्दा सबै बिरुवा धमाधम मरेको बयम्बुको भनाइ छ । सिँंचाइको लागि पानीको मुहान नै छैन । गाउँमा समेत खानेपानीको समस्या रहेको छ । आफ्नो लगानीले मात्रै सिँंचाइको व्यवस्थापन गर्न सक्ने अवस्था छैन । आकासे पानीको भरमा काम गर्दा समस्यामा परेको बयम्बुले बताउनुभयो । खडेरीले नखाएका अलिअलि बाँचेका बिरुवा पुनः सबै ठाउँमा लगाउन थालेको छु । मौसमले पनि साथ देला, सधैं भरी खडेरी त नहोला भन्दै बयम्बुले जिन्दगीभर अलैंची खेतीलाई निरन्तरता दिने बयम्बुको भनाइ छ । बिरुवा लगाएको दुई वर्षपछि उत्पादन दिने अलैंची खेती गर्न सजिलो र आम्दानी धेरै हुने उहाँले बताउनुभयो ।
अलैंची खेतीका लागि उत्तर दिशातर्फ फर्केको ओसिलो जमिन सबैभन्दा उपयुक्त हुने कृषि विज्ञहरुले बताउछन् । खुला जग्गामा भन्दा चिलाउने, कुटमेरो जस्ता मझौला खाले रुखको छहारीमा लगाउदा अलैंची छिटो फैलिने बयम्बुको भनाइ छ । आफूले उत्पादन गरेको अलैंची नवलपुरको अरुणखोलामा लगेर विक्री गर्ने गरेको बयम्बुले बताउनुभयो ।
अलैंची उत्पादन गर्न सके विक्रीको लागि बजारको समस्या नरहेको उहाँले बताउनुभयो । बयम्बुले गएको वर्ष मात्रै दश क्विन्टलसम्म अलैंची विक्री गरेको जानकारी दिनुभयो । बजार मुल्य घटिबढी भइरहने अलैंचीको बयम्बुले प्रति केजी पाँच सयदेखि दुई हजार दुई सय सम्ममा विक्री गरेको बताउनुभयो ।