
पाल्पा । बारीमा भर्खर फललाग्ने तयारीमा रहेका मकैमा बाँदरको हुल पसेर खेती सखाप पार्न थालेपछि किसान चिन्तित भएका छन् । मेहनत गरेर वर्षभरीका लागि खानेखेती बाँदरले नास गर्न थालेपछि किसान बिहानदेखि बेलुकासम्म बारीकै पाटामा बसेर बाँदरबाट मकै जोगाउन प्रयास गर्ने गरेका छन् । तर पनि बाँदरको ठूलो संख्याको हुलबाट बारीको मकै जोगाउन नसकेपछि किसान चिन्तामा परेका हुन् ।
अहिले अधिकांश गाउँका किसान बाँदरबाट बाली जोगाउन उज्यालो नहुँदैदेखि बेलुकीसम्म खेतबारीमा परिवारका सदस्य पालो गरेर बाली कुरेर बस्ने गरेको देखिन्छ । खेतीबाली लगाउन र हुर्काउन जस्तै बाँदरबाट जोगाउन उस्तै चुनौती भएको किसानहरुको भनाइ छ । तानसेन ७ ठाटिका किसानहरु मकैको बोटमा घोगा लागेदेखि नै सबै काम छाडेर बाँदर धपाउन लागिपरेका छन् । बिहान उठेदेखि बाँदरकै पछि लाग्दा पनि बाली जोगाउन मुस्किल परेको किसान तुल्सा पुरीले बताउनुभयो ।
तानसेन ८ मदनपोखराका कृषक गोबिन्द पाण्डेको समस्या पनि उस्तै छ । बाँदरका कारण खेतबारी बाँझै राख्नुपर्ने अवस्था आउन लागेको दुखेसो उहाँको छ । मिहिनेत गरेर खेती लगायो हुर्कायो स्याहार्ने बेला बाँदरले नष्ट गरिदिँदा खेती नै गर्न मन लाग्न छाडेको कृषक पाण्डेले दुखेसो गर्नुभयो । पछिल्लो समय स्थानीय सरकारले कृषि क्षेत्रको विकास र विस्तारका लागि विभिन्न अनुदान र सहयोगका कार्यक्रम सञ्चालन गर्ने गरेका छन् । जसबाट कृषकहरु उत्साहित भएर लामो समय बाँझो अवस्थामा रहेका जमिन खनजोत गरेर कृषि कर्मप्रति आर्कषित भएका छन् । तर कृषकहरुले उत्पादन गरेको कृषि उपज वन्यजन्तुबाट बचाउनका लागि विशेष कार्यक्रम भने ल्याउन नसकेको कृषकहरुको गुनासो छ ।
गतवर्ष तानसेन नगरपालिकामा वडा न ११ ले मात्र बाँदर नियन्त्रणलाई एक लाख बजेट छुट्टाएको थियो तर त्यो बजेट कहाँ कसरी खर्च गर्ने अन्योल हँुदा समस्या यथावत र¥यो । अन्य वडामा भने बाँदर आतंक नियन्त्रणका लागि तानसेन नगरपालिकाले कुनै चासो नदेखाएको कृषकहरुको गुनासो छ । बगनासकाली गाउँपालिकाका कृषकहरु पनि बाँदरबाट मकै खेती जोगाउन नसकेपछी गतवर्ष देखि पोखराथोकमा सामूहिक रूपमा अदुवा बेसार खेती सुरु गरेका छन् । वर्षेनि बाँदरबाट बाली जोगाउन नसक्दा क्षतिमात्र व्यहोर्नु पर्ने भएपछि वैकल्पिक खेतीका रुपमा अदुवा बेसार खेती सुरु गरेकोे कृषक लक्ष्मी गाहाले बताउनुभयो । गाउँपालिकाले गत वर्ष बाँदर नियन्त्रणका लागि दश लाख बजेट छुट्टाएको थियो तर त्यो बजेट कहाँ कसरि खर्च गर्ने अन्योल हँुदा काम हुन सकेन ।
यो वर्ष पनि दश लाख रुपैया बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताउनुभयो । उहाँले विनियोजित बजेटबाट वन्यजन्तु बाट बाली नियन्त्रणका लागि कृषकहरुको सुझाव संकलन सहित कार्यक्रम तय गरिने बताउनुभयो । जिल्लाका अधिकांश स्थानमा बाँदर कै समस्या छ । स्थानीय सरकारले यस विषयमा चासो दिए पनि समाधानका लागि ठोस पहल हुन सकेको छैन । अनुदान र सहयोग मात्र वितरण नगरी कृषकहरुको बाली जोगाउनका लागि आवश्यक योजना सञ्चालन गर्नसके मात्र स्थानीय तहको लगानीले प्रतिफल दिनसक्ने कृषि विज्ञहरुको भनाइ छ ।