पाल्पाका स्वास्थ्य संस्थाको पानी दुषित

पाल्पा । पाल्पाका २६ स्वास्थ्य संस्थाका ८७ वटा खानेपानीको नमूना परीक्षण गर्दा ३९ प्रतिशत नमुनामा पानी दुषित भेटिएको छ । परीक्षण गरिएका नमुना खानेपानीमा मानव सहित तातो रगत हुने जीवजन्तुको दिसामा पाइने जीवाणु (कोलिफर्म) भेटिएको हो । आर्थिक वर्ष २०७९÷८० मा स्वास्थ्य कार्यालय मार्फत भएको स्वास्थ्य संस्थाहरुमा खानेपानी जाँच कार्यक्रम अन्तरगत जिल्लास्तरीय खानेपानी गुणस्तर सर्भिलेन्स समितिले गरेको पानी परीक्षणमा यो नतिजा प्राप्त भएको हो ।

स्वास्थ्य संस्थाहरुमा बिरामीले पिउने पानीको गुणस्तर जाँच गर्ने, पानीको गुणस्तर बारे जनप्रतिनिधि र स्वास्थ्य संस्थाका कर्मचारीहरु बीच छलफल गराउने, गुणस्तरीय खानेपानीका लागि आवश्यक पृष्ठपोषण दिने र निश्चित समयको अन्तरालमा गुणस्तरको पुनरावोलकन गर्ने उद्देश्यले पानीको परीक्षण कार्यक्रम गरिएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले जानकारी दिनुभयो । सोही अनुसार गत आर्थिक वर्षमा रैनादेवी छहरा गाउँपालिकाको छहरा स्वास्थ्य चौकी र भुवनपोखरी स्वास्थ्य चौकी रिब्दीकोट गाउँपालिकाको कुसुमखोला स्वास्थ्य चौकी र खस्यौली प्राथमिक स्वास्थ्य चौकी, तिनाउ गाउँपालिकाको मस्याम स्वास्थ्य चौकी र दोभान स्वास्थ्य चौकी तानसेन नगरपालिकाको अर्गली स्वास्थ्य चौकी, पाल्पा अस्पताल, आयुर्वेद केन्द्र र स्वास्थ्य कार्यालयमा प्रयोग हुने पानीको नमुना परीक्षण गरिएको कार्यालय प्रमुख डा. गिरीले बताउनुभयो ।

यस्तै माथागढी गाउँपालिकाको रहवास स्वास्थ्य चौकी, झडेवा स्वास्थ्य चौकी र गोठादी स्वास्थ्य चौकी बगनासकाली गाउँपालिकाको नायरनमतलेस स्वास्थ्य चौकी र यम्घा स्वास्थ्य चौकीमा उपलब्ध पानीको पनि परीक्षण गरिएको हो । रम्भा गाउँपालिकाको पिपलडाडा स्वास्थ्य चौकी र फोक्सि·कोट स्वास्थ्य चौकी पूर्वखोला गाउँपालिकाको बिरकोट स्वास्थ्य चौकी र रि·नेरह स्वास्थ्य चौकी, रामपुर नगरपालिकाको रामपुर अस्पताल, गेँझा स्वास्थ्य चौकी र रजघरा आधारभूत स्वास्थ्य केन्द्र निस्दी गाउँपालिकाको बाकामला· स्वास्थ्य चौकी, सहलकोेट स्वास्थ्य चौकी, झिरुवास स्वास्थ्य चौकी र मित्याल स्वास्थ्य चौकीका साथै बगनासकाली १ नं. वडाको घोरबन्दाको विवाहघरमा प्रयोग भएको खानेपानीको परीक्षण गरिएको प्रमुख डा. गिरीको भनाइ छ । परीक्षण गरिएको खानेपानीका नमूनाहरुमा १६ वटा धारा, ३६ वटा टंकी र ड्रम र ३५ वटा फिल्टरमा प्रयोगका लागि राखिएको पानीको नमुना परीक्षण गरिएको स्वास्थ्य कार्यालय पाल्पाका ल्याव टेक्निसीयन अधिकृत मधुसुधन भट्टराईले जानकारी दिनुभयो ।

नमुना परीक्षण गरिएका स्थानीय तहमा सबैभन्दा बढी रिब्दीकोट गाउँपालिकाका स्वास्थ्य संस्थामा प्रयोग भएको पानीको नमुनामा ७५ प्रतिशत दुषित भेटिएको छ । यस्तै तानसेन नगरपालिका भित्रका स्वास्थ्य संस्थाको पानीको नमूनामा सबैभन्दा कम ८ प्रतिशत पानी दुषित रहेको पाइएको ल्याव टेक्निसीयन अधिकृत भट्टराईको भनाइ छ । प्राप्त नतिजा अनुसार स्थानीय तहलाई पत्रचार गरेर खानेपानीको नियमित जाँच तथा अनुगमन गर्नुपर्ने, नागरिकलाई खानेपानी शुद्धिकरणको विधीबारे जानकारी गराउनुपर्नेलगायतका सुझाव दिएको समेत बताउनुभयो ।

नतिजा सार्वजनिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले स्वास्थ्य संस्थामा प्रयोग हुने पानी मात्र नभै सर्वसाधारणले प्रयोग गर्ने पानी खानयोग्य हुनुपर्ने बताउनुभयो । उहाँले स्वच्छ र सफा खानेपानी नहुँदा धेरै किसिमका स्वास्थ्य समस्या आउने बताउदै यस विषयमा स्थानीय तह र सम्बन्धित कार्यालय गम्भीर भएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय पाल्पाका प्रमुख अनोज उपाध्यायले खानेपानी मुहानको सरसफाईमा ध्यान नदिँदा समस्या हुने बताउनुभयो । उहाँले सार्वजनिक मुहानको पानी परीक्षण कार्यक्रम नभएको जानकारी गराउँदै शुद्ध खानेपानी र शुद्धिकरणका विषयमा जनचेतनाका लागि काम गर्ने गरिएको बताउनुभयो । माग र आवश्यकताका आधारमा खानेपानीको नमुना परीक्षण गरिने उहाँको भनाइ छ । कार्यालय प्रमुख उपाध्यायले विशेष रुपमा उपभोक्ताहरुले मूलको स्रोत, सप्लाई क्षेत्र, संकलन टंकी र प्रयोग गर्ने भाँडाको समेत सरसफाईमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले स्वास्थ्य संस्था वा अन्य घटना घटेपछि मात्र खानेपानीको नमुना परीक्षण गर्नुभन्दा समन्वयात्मक रुपमा निरन्तर परीक्षणको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले सबै खाले नगरिकले उपभोग गर्ने पानीको निरन्तर परीक्षण गर्दा दुषित पानीबाट हुनसक्ने जोखिम कम हुने भएकोले स्थानीय सरकार यस विषयमा बढी सक्रिय हुनुपर्ने बताउनुभयो ।

सम्बन्धित खवर