लुम्बिनी प्रदेश सरकारको मौलिक पहिचान भएका कृषिवस्तु तथा सेवाको उत्पादन तथा प्रवद्र्धनका लागि कृषक समूहको सहकार्यमा प्रदेश निर्वाचन क्षेत्रमा स्मार्ट कृषि गाउँ कार्यक्रम लागु भएको छ । पाल्पाका प्रत्येक निर्वाचन क्षेत्रको कम्तीमा एक स्थानमा दिगो कार्यक्रम सञ्चालन गरी रोजगारी सिर्जना गर्दै कृषकको आयस्तर वृद्धिका साथै खाद्य सुरक्षामा सुधार गर्ने उद्देश्यले कार्यक्रम गरिएको हो । प्रदेश सभा सदस्यहरुको प्रस्तावमा पाल्पामा ४ स्थानमा स्मार्ट कृषि गाउँ कार्यक्रम आर्थिक वर्ष २०७६÷७७ देखि सञ्चालनमा रहेको छ । कृषि उत्पादन लाई बजारमुखी, व्यवसायमुखी, नाफामुखी र आत्मनिर्भर बनाई कृषकहरुको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी दिगो आयस्तर विकासमा गर्न कार्यक्रमले मद्दत गरेको विश्वास लिइएको छ । महिला तथा युवा उद्यमशीलताको विकास गर्दै कृषिमा रोजगारीका अवसरहरु सिर्जना गरी बेरोजगारी समस्या न्यूनीकरणमा सहयोग गर्न कार्यक्रम गरिएको हो ।
मैदानका ५० घरधुरी स्मार्ट कृषि गाउँकार्यक्रमा समेटिएको छ । कार्यक्रम सुरु गर्दा करिव ७ सय हाराहारीमा बाख्रा संख्या भएकोमा कार्यक्रम सुरुभएपछि बाख्राको संख्या दुई हजार नाघेको छ । जसमा मासु्का लागि करिव एक हजार दुई सय बाख्रा तयारी अवस्थामा अहिले पनि छन् । अधिकांश कृषकको घरमा २० देखि ६० को संख्यामा बाख्रा पाल्ने गरेका छन् । आधुनिक खोरमा उमेर अनुसारका बाख्रा राखेर व्यवसायिक रुपमा काम गर्दा आम्दानी लिन सकिने कुरा कृषकले बुझेका छन् । बाख्रापालक किसानहरुले सामान्य रुपमा सानो संख्यामा अव्यवस्थित रुपमा गर्दै आएको कामका लागि ज्ञान, सीप र पूवार्धारमा सहयोग गरेपछि आर्थिक आर्यआर्जन भविष्य देखेको पाइन्छ । खरि र वोयर जातका बाख्रा पालेका समूहमा आबद्ध कृषकहरुले हाल वार्षिक दुई लाख देखि १५ लाख बढी आम्दानी गर्ने गरेको बताउदै आएका छन् ।
लागत साझेदारीमा भएको स्मार्ट गाउँ कार्यक्रमकामा भटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाले पहिलो वर्ष ८० प्रतिशत र पूर्वखोला गाउँपालिका र समूहको २० प्रतिशत, दोस्रो वर्ष विज्ञ केन्द्रको ७० प्रतिशत र पूर्वखोला गाउँपालिका र समूहको ३० प्रतिशत र अन्तिम वर्ष ५० प्रतिशतमा काम भएको हो । जसमा जलवायु स्मार्ट, सिंचाई स्मार्ट, खाद्य तथा पोषण स्मार्ट, प्रविधि स्मार्ट र बजार स्मार्टका क्षेत्रमा काम भएको छ । सूचना केन्द्र व्यवस्थापनदेखि भुई घास तथा डाले घास र वहुवर्षीय घाँस खेति, फिड सप्लिमेण्ट वितरण र परजीवि नियन्त्रण, आधुनिक खोर निर्माण, उन्नत नश्लको बोका खरिद, पशु स्वास्थ्य शिविर, यान्त्रिकीकरण कार्यक्रम, संकलन केन्द्र निर्माण, डिजिटल तराजु खरिद जस्ता काम भएका छन् । कार्यक्रमबाट आम्दानीको बाटो खुलेको छ । यसलाई कार्यक्रम सकिएपछि पनि निरन्तरता दिनुपर्छ । जसका लागि बाख्रापालनमा उत्साहित भएर लागेका कृषकहरुलाई सहकारी संस्था वा अन्य कुनै समूहमार्फत संस्थागत गरेर काम गर्ने वातावरण निर्माणमा सरोकारवालाहरुको ध्यान जानुपर्छ ।