
पाल्पा । कृषि ज्ञान केन्द्र पाल्पाले आर्थिक वर्ष २०७९/८० मा ६० दशमलव ४५ प्रतिशत वित्तीय प्रगति गरेको जनाएको छ । आर्थिक वर्षमा सञ्चालित कार्यक्रमको खर्च सार्वजनिक कार्यक्रममा ज्ञान केन्द्र प्रमुख कामना अधिकारीले यो जानकारी गराउनुभएको हो । उहाँले गत आर्थिक वर्षमा संघीय सशर्त र प्रदेश सरकारबाट प्राप्त बजेटमा चालुतर्फ ६० दशमलव शून्य ८ र पूँजिगततर्फ ९८ दशमलव १२ प्रतिशत वित्तीय प्रगति भएको बताउनु भएको हो । ज्ञान केन्द्रले प्राविधिक तथा विशेषज्ञ सेवा, समन्वय तथा नियमन र तथ्यांकका क्षेत्रमा काम गर्ने गरेको प्रमुख अधिकारीले जानकारी गराउनुभयो ।
पाल्पामा कुल खेती योग्य जमिन ५७ हजार १ सय ७२ हेक्टर रहेकोमा कुल खेती ३६ हजार ५ सय ६७ हेक्टरमा हुने गरेको ज्ञान केन्द्रले जनाएको छ । गत आर्थिक वर्षमा ज्ञान केन्द्रबाट ३८ वटा अनुदान वितरण गरिएको छ । जसमा निजी उद्यमी तथा कृषि फर्म २७ वटा, सहकारी २ वटा, समूह ७ वटा, समिति तथा अन्य २ वटा रहेका छन् ।
गत आर्थिक वर्षमा गरिएको कार्यक्रममा प्रविधि प्रदर्शन, सूर्यमुखी फूलको प्रविधि प्रदर्शन, सयपत्री फूलको प्रविधि प्रदर्शन, कुरिलो खेती प्रविधि प्रदर्शन, सिमल तरुल खेती प्रविधि प्रदर्शन, आलु प्रविधि प्रदर्शनका साथै अनुदानमा आधारित कार्यक्रम र सिंचाई सहितको कृषि विकास कार्यक्रममा उल्लेख्य उपलब्धी गरेको प्रमुख अधिकारीले बताउनुभयो । गत वर्ष २ सय १३ जना कृषकहरुको ९ सय १४ रोपनी जग्गामा सिंचाईको सुविधाका लागि कुलो, थोपा सिंचाई वोरिंग र पोखरी निर्माण गरिएको उहाँले बताउनुभयो ।
स्मार्ट कृषि गाउँ कार्यक्रमबाट ९८ जना कृषकहरुले २ सय ८० रोपनी जग्गामा कृषि उपज उत्पादनका सामग्रीहरु प्लाष्टिक गृह, कुलो निर्माण, यान्त्रिकीकरणमा सहयोग गरेको, ८४ जना कृषकहरुलाई एक सय ५० घार, महदानीलगायतका सामग्री वितरण गरिएको ज्ञान केन्द्रले जनाएको छ ।
यसका साथै ब्लक विकास कार्यक्रम अन्तर्गत २ वटा सहकारीमा रहेका ४ सय कृषकहरुको लागि ६ सय भन्दा बढी रोपनी जग्गामा ७ वटा सेमी हाईटेक टनेल, १८ वटा टनेल, ग्रीन नेट १५ सेट वितरण सहित बीउ, विषादी र सिंचाईमा सहयोग गरिएको कार्यालय प्रमुख अधिकारीले बताउनुभयो । उहाँले यसका साथै एक हजार १ सय ७ वटा माटोको नमूना परीक्षण, ५ वटा जिल्लास्तरका तालिम र मागमा आधारित ४ वटा घुम्ती तालिमा गरिएको समेत जानकारी दिनुभयो ।
खर्च सार्वजनिक कार्यक्रमा सहभागीहरुले कृषि क्षेत्रको सम्भावना अनुसार दिगो कृषि विकासका लागि समन्वय र सहकार्यमा काम गर्दा कृषि क्षेत्रमा कृषकहरुको आकर्षण बढाउन सकिने बताएका थिए । अहिले कृषि क्षेत्रको विकास र विस्तारका लागि स्थानीय तहले गरेको काममा लगानी अनुसारको प्रतिफल प्राप्त हुन नसकेको अवस्था रहेको सहभागीहरुको भनाइ थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले स्थानीय सरकार प्रमुखहरुले आÇनो भूमिकाका विषयमा स्पष्ट हुनुपर्ने बताउनुभयो ।
उहाँले कृषकको तथ्यांक र सम्भावनाको क्षेत्रगत अध्ययन गरेर कृषि विकासका लागि संघ र प्रदेशमा समन्वय गर्नुपर्नेमा जोड दिनुभयो । कृषि क्षेत्रमा साझेदारीका नाममा ठूलो रकम खर्च भएको तर उपलब्धी नहुने अवस्थाको अन्त्य हुनुपर्ने उहाँको भनाइ थियो । यसका साथै अध्यक्ष रानाले ज्ञान केन्द्रको वित्तीय प्रगती कम भएको प्रति लक्षित गर्दै पाल्पाली जनताका नाममा आएको बजेट कम खर्च हुन नराम्रो भएको बताउँदै यस तर्फ आगामी दिनमा ध्यान दिनुपर्ने बताउनुभयो ।