बगनासकाली २ मा व्यवसायिक अदुवा बेसार खेती

 सुमित्रा कंडेल

पाल्पा (करुवा)। बगनासकाली गाउँपालिका वडा नं. २ का महिलाहरु व्यवसायिक अदुवा बेसार खेतीमा लागि परेका छन् । कृषि प्रधान देशका रुपमा रहेको हाम्रो देशमा पछिल्लो समय श्रमप्रतिको आस्था घट्दै गएको समयमा यहाँका महिलाहरुले व्यवसायिक खेतीमा आम्दानी देखेका छन् । उर्वर जमिनमा बस्ती विस्तार हुनुका साथै गाउँघरका अधिकांश खेतीयोग्य जमिन बाँझो राखेर आधुनिक जीवनशैली अपनाइरहेको समयमा गरे गाउँमै सम्भव छ भन्ने तथ्य बगनासकाली–२ का महिलाहरुले सावित गरेका छन् । उनीहरु समूहमा मिलेर खेती सुरु गरेका छन् ।

उनीहरुले महिला समूह बनाएर खेती किसानी गर्दै आएका छन् । वन्यजन्तुबाट खासै समस्या नहुने अदुवा बेसार खेती सुरु गरेर आम्दानी लिन व्यस्त भएका छन् । चालु आर्थिक वर्षमा गाउँपालिकाको संघीय सशर्त अनुदानको १२ लाख र कृषकको १२ लाख गरी जम्मा २४ लाखबाट अदुवा बेसार खेती सुरु गरेको समूहका सदस्यहरुले बताए । बगनासकाली–२ का २० जना महिला मिलेर एक सय ४० रोपनी क्षेत्रफलमा व्यवसायिक रुपमा अदुवा र बेसारको खेती गरिरहेका छन् । भवानी महिला कृषक समूहकी सदस्य कमला बस्यालका अनुसार “गाउँपालिकाले सहयोग गरेपछि अदुवा बेसार खेती गर्न उत्साहित भयौ, हामीले उत्पादन गरेको अदुवा बेसारको उचित बजार मूल्य र उत्पादित उपजको बजारीकरणमा सहयोग गर्ने बचन दिएपछि आÇनै बाँझो बारिमा खनजोत गरेर सामूहिक रूपमा अदुवा बेसार रोपेका छौ” । उनले थपिन “जंगली जनावरको आतंकले मकै खेती गर्न छाडेका थियौ, गाउँपालिकाको सहयोगमा अदुवा बेसार खेती सुरु गरेपछि हामीले उत्तम विकल्प भेटेका छांै।”

बगनासकाली गाउँपालिकाको कृषि पकेट विकास कार्यक्रम अन्तर्गत अदुवा र बेसार खेतीलाई सहयोग भएको हो । समूहलाई बीउ तथा अन्य प्राविधिक सहयोग गाउँपालिकाले गरेको छ । समूहकी अध्यक्ष पबित्रा मुडभरीले महिलाहरुलाई आयआर्जनमा जोड्ने उद्देश्यले अदुवा बेसार खेती गर्ने सोंच बनाएर लागेका छौ । यसबाट आÇनो खर्च आफै चलाउन सक्ने बन्ने उनको भनाइ छ । सामूहिक खेतीबाट आयआर्जन गरी जिविकोपार्जन गर्न सहयोग मिल्नेमा अध्यक्ष मुडवरी विश्वस्त रहेको बताइन् ।

महिलाले आयआर्जनका माध्यमबाट जिवनस्तर उकास्ने अठोट लिएपछि गाउँपालिकाले कृषि समूहलाई सीप, प्रविधी र प्राविधिकको व्यवस्थापनमा सघाएको गाउँपालिका अध्यक्ष सरस्वती चिदीले बताइन् । उनले स्थानीय नागरिकको बाँझो बारीलाई उपयोग गरी आयआर्जन गराउने उद्देश्यले पोखराथोकका किसानलाई अदुवा बेसार खेती कार्यक्रम संचालन गर्न अनुदान दिइएको बताइन् । गाउँपालिका भित्र धेरै कृषिका पकेट क्षेत्र भएपनि अदुवा बेसारलाई अन्य ठाँउबाट माग नआएकाले पोखराथोकका महिलाको मागका आधारमा अनुदान उपलब्ध गराएको अध्यक्ष चिदीको भनाइ छ । यो खेती जंगली जनावरबाट जोगाउन सकिने भएकोले पनि पोखराथोकका किसान यसतर्फ आकर्षित भएको उनको बुझाई छ । कृषकको माग बमोजिम बीउ, कृषि यान्त्रिकीकरण औजार लगायत अन्य आवश्यक सहयोग उपलब्ध गराउँदै जाने अध्यक्ष चिदीले बताइन् । कृषकहरु अदुवा र बेसारको बीउ खरिद गरेर लगाइरहेका छन् । खेतीमा लागेका महिला समूहका सदस्यहरुले उत्पादनका लागि अनुदानसंगै भएको उत्पादित कृषि उपजको बजारिकरणमा सहयोग गर्नुपर्ने बताएका छन् ।

सम्बन्धित खवर