नीति तथा कार्यक्रमका लागि माथागढीको सुझाव संकलन

पाल्पा । माथागढी गाउँपालिकाले वार्षिक नीति तथा कार्यक्रमको विषयमा सुझाव संकलन तथा अन्र्तक्रिया कार्यक्रम गरेको छ । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम निर्माणको समयमा अन्र्तक्रिया गरिएको हो । योजना तर्जुमा प्रकृयामा सबैको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले विभिन्न विषयगत समितिहरुसंगको छलफल र अन्र्तक्रियाबाट सुझाव संकलन गरिरहेको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रमका माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदीले गाउँपालिकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा यस वर्षदेखि नविनतम कामहरु सुरुवात गर्ने गरी अगाडि बढेको बताए । उनले शिक्षाको शैक्षिक र गुणात्मक विकासका लागि विद्यालयका प्रधानाध्यापक र शिक्षकको भूमिका महत्वपूर्ण हुने भएकाले त्यसको लागि नतिजा सुधार हुने गरी काम गर्नुपर्नेमा जोड दिए । सबैको सुझावलाई ध्यानमा राखेर योजना तथा कार्यक्रम सञ्चालन गरिने अध्यक्ष चिदीको भनाइ छ ।

सुझाव संकलन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष विष्णुमाया लुंङचेले विद्यालय स्तरको शैक्षिक विकास, स्वास्थ्य क्षेत्रको विकाससँगै मानव विकासको सूचक समेत बढ्ने भएकाले यी क्षेत्रको विकास केन्द्रीत कार्यक्रम सञ्चालनमा ध्यान दिनुपर्ने बताइन् । उनले बजेट माग गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्ति बढेको भन्दै विकासमा राजनीति भन्दा काम गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा गाउँपालिका भित्र रहेका विद्यालय, स्वास्थ्य संस्थाहरुले आÇनो काम, राम्रा अभ्यास, समस्या, सम्भावना बारे सुझाव सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालयको भौतिक, शैक्षिक र समग्र सुधारको लागि गाउँपालिकाले आगामी वर्षको बजेटमा समेट्नुपर्ने बताए ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक राजकुमार पन्थीले गाउँपालिकाको शिक्षा र स्वास्थ्यको सुधार हुने गरी काम गर्नुपर्ने बताए । उनले विद्यालयको भौतिक संरचनामात्रै ठूलो कुरा नभएको बताउँदै छाप्रोबाट सुरु गरेको विद्यालयले समेत उत्कृष्ट नतिजा दिने गरेको बताए । शैक्षिक गुणस्तर वृद्धि हुने खालको कामका लागि गाउँपालिकाले प्राथमिकतामा राखेर बजेट बिनियोजन गर्ने उनको भनाइ छ ।

कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख केशबबहादुर जिसी, शिक्षा शाखा प्रमुख प्रेम बाह्रघरे, योजना अधिकृत नित्यानन्द खनाल, शिक्षा उपप्रमुख अमृत अधिकारी लगायतले आफ्नो भनाइ राखेको थिए । कार्यक्रममा शौभाग्य मा.वि.का प्रधानाध्यापक कृष्ण प्रसाद खनाल, दिव्यज्योति मा.वि.का प्रधानाध्यापक लोकेन्द्र थापा, कर्णधार मा.वि.का सहायक प्रधानाध्यापक राजन अधिकारी, साहरादेवी आधारमूत विद्यालयका प्रधानाध्यापक भीम बहादुर थापा, ज्ञानोदय आधारभूत विद्यालयका शिक्षक मेनुका थापा, रत्न मा.वि.का प्रधानाध्यापक निरबहादुर सारु, किसान मा.वि.का सहायक प्रधानाध्यापक श्याम बहादुर ढेंगा, सातपोखरी माध्यमिक विद्यालयका प्रधानाध्यापक दुर्गा प्रसाद काÇले, ग्रामोदय मा.वि.का प्रधानाध्यापक मिलन थापा लगायतले प्रस्तुति राखेका थिए । यस्तै हात्तिलुंग मा.वि. का प्रधानाध्यापक उमा थापा, सिद्धार्थ माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक लिलबहादुर राना, धारादेवी मा.वि.का प्रधानाध्यापक केशव दर्लामीले समेत आफ्नो प्रस्तुति राखेका थिए । उनीहरुले शैक्षिक अवस्था सुधारका लागि आवश्यक नीति निर्माणको लागि सुझाव राखेका थिए ।

यस्तै स्वास्थ्य तर्फ रुप्से स्वास्थ्य चौकीका सुनिता थापा, कसेनी स्वास्थ्य चौकीका पविसरा चिदी, झडेवा स्वास्थ्य चौकीका लक्ष्मण गाहा, गोठादी स्वास्थ्य चौकीका गिता थापा, रहबास स्वास्थ्य चौकीका भीम बहादुर राना, बहादुरपुर स्वास्थ्य चौकीका प्रमुख तेज बहादुर कुमाललगायतले स्वास्थ्य सम्बन्धी प्रतिवेदन प्रस्तुत गरेका थिए । उनीहरुले नागरिकहरुका लागि स्वास्थ्य सेवाको सहज पहुँच वृद्धि गर्न आवश्यक योजना तथा कार्यक्रम निर्माणका लागि राय सुझाव राखेका थिए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय