पाल्पा । रैनादेवी छहरा गाउँपालिकाले चालु आर्थिक वर्षका सबै योजनाहरु जेष्ठमसान्तसम्म फरफारक गर्ने गरी सक्रियाता बढाएको छ । उपभोक्ता मार्फत सञ्चालन भएका योजना तथा कार्यक्रम जेष्ठ १५ र ठेक्काबाट भएका कामहरुको फरफारक जेष्ठ मसान्त भित्र गर्ने गरी कामलाई तीव्रता दिएको गाउँपालिकाले जनाएको छ ।
यस आर्थिक वर्षमा गाउँपालिकाले ४ सय ३ वटा योजना तथा कार्यक्रम गर्ने छ । योजनाका संख्या केही बढी भएपनि कार्यान्वयनमा यो संख्या आएका हो । उपभोक्ता समिति मार्फत ३ सय ८७ योजनाको सम्झौता भएर काम भएको छ । अन्य ठेक्का मार्फत हुने १६ वटा योजना पनि आवश्यक प्रकृया पूरा गरी सम्झौता भएर कार्यसम्पादनको अन्तिम चरणमा रहेको गाउँपालिकाका लेखा अधिकृत लिलामणी बस्यालले जानकारी दिए । उनका अनुसार अहिले सम्म तीन सय योजनाको फरफारक समेत सकिएको छ । प्रतिशतका आधारमा अहिलेसम्म ७० प्रतिशत भन्दा माथि छ । यसका साथै गाउँपालिकाको समग्र वितिय प्रगति ६० प्रतिशत नाघेको लेखा अधिकृत बश्यालले बताए ।
गाउँपालिकाबाट सेवा प्रवाह गर्दा कानुनको अक्षरस पालना गरेर अगाडि बढेमा कुनै समस्या नहुने सिकाई रहेको प्रमुख प्रशासकीय अधिकृत दिनेश सारुले बताए । उनले कानुनलाई ध्यान दिने र देखिएका समस्यालाई सुधार गर्दै आमनागरिकलाई सचेत बनाएर काम गर्दा सहज हुने गरेको अनुभव बताए । यस वर्ष गाउँपालिकाको ८ करोड १९ लाख विगतका वर्षको वेरुजु फस्र्यौट गरेको छ । गाउँपालिकालाई कार्यसम्पादन सुचाङ्कमा पाल्पामै पहिलो र वेरुजुको सूचिमा सबैभन्दा कम वेरुजु भएको गाउँपालिका बनाउन सफल भएको प्रमुख प्रशासकीय अधिकृत सारुको भनाइ छ । गाउँपालिकाले विनियोजित बजेटबाट काम गर्नका लागि सबै योजना तथा कार्यक्रममा सहजीकरण गर्दै आएको छ । तोकिएको समयमा काम सम्पन्न गर्नका लागि उपभोक्ता समिति र निर्माण व्यवसायिहरुलाई ताकेता गरिएको प्रमुख प्रशासकीय अधिकृत सारुले बताए ।
यस वर्ष बजेट भएर पनि ५० लाखको भट्टे लिÇट खानेपानी योजना तीन पटक सूचना प्रकाशन गर्दा पनि टेण्डरमा जान नसकेका कारण काम नहुने अवस्थामा पुगेको गाउँपालिकाले जनाएको छ । यस वर्ष रैनादेवीले स्वास्थ्य, शिक्षा, कृषि, भौतिक पूर्वाधार, सामाजिक तथा आर्थिक विकासका क्षेत्रलाई प्राथमिकतामा राखेर योजना तथा कार्यक्रम सञ्चालन गरेको छ । विकासमा उपभोक्ताहरुको चासो र सक्रियता भएकोले काम गर्न सहज भएको गाउँपालिका अध्यक्ष रुक्माड्डत भट्टराईले बताए । गाउँपालिकाबाट विकास योजनाका लागि काम गर्न वडागत रुपमा प्राविधिकहरुलाई जिम्मेवारी दिइएको छ । प्राविधिक कर्मचारीहरुको समस्या नभएपनि दैनिक सेवा प्रवाहमा प्रशासन क्षेत्रमा आवश्यक स्थायी कर्मचारी नहुँदा समस्या छ । उपलब्ध जनशक्ति र स्रोतको अधिकतम प्रयोग गरे नागरिकलाई सहज रुपमा सेवा प्रवाह गरिएको अध्यक्ष भट्टराईको भनाइ छ ।
गाउँपालिकाका उपाध्यक्ष युवराज थापाले योजनाको काम दिगो र प्रभावकारी बनाउन तालिका अनुसार अनुगमन गर्ने गरिएको बताए । उनले दुई लाख भन्दा कमका योजनाहरुको अनुगमन वडाका जनप्रतिनिधि र प्राविधिकले गर्ने भएपनि गाउँपालिकाबाट छड्के अनुगमन गर्ने गरेको जानकारी दिए । २ लाख भन्दा माथीका योजनाहरुको गाउँपालिकाले योजनाको सञ्चालनको सुरुमा सञ्चालन भैरहदा बीचमा र सम्पन्नको अन्तिम चरणमा अनुगमन गर्ने गरिएको उपाध्यक्ष थापाको भनाइ छ । टेन्डरबाट सञ्चालन भएका योजनाहरुमा प्राविधिकले मात्र अनुगमन गर्ने भनिएपनि गाउँपालिकाले छड्के गर्ने गरेको छ । अनुगमनका क्रममा उपभोक्ताहरुले स्टिमेट नबुझेर फरक काम गर्दा फरफारकमा समस्या देखिने भएकोले अनुगमन समयमा गर्दा तत्काल सुधार गर्नुपर्ने सुझाव दिँदा सहज भएको उपाध्यक्ष थापाले बताए ।