
पाल्पा । माथागढी गाउँपालिको चालु आर्थिक वर्षका अधिकांश योजनाको काम अन्तिम चरणमा रहेको कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षका ९० प्रतिशत भन्दा बढी योजना तथा कार्यक्रमको सम्झौता भएर काम सकिने अवस्थामा रहेको जनाएको हो । यस आर्थिक वर्षमा गाउँपालिकाले ६ सय बढी योजना तथा कार्यक्रम छनोट गरेर बजेट विनियोजन गरेको थियो । गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकतामा राखेर तयार गरेको नीति तथा कार्यक्रम अनुसार नै योजनाहरु छनोट र कार्यान्वयन गरिरहेको गाउँपालिकाका अध्यक्ष यमबहादुर चिदीले जानकारी दिए । उनका अनुसार प्राथमिकतामा स्वास्थ्य, शिक्षा भएपनि अन्तिममा प्रगति पूर्वाधारमा देखिन्छ । सबैको आवश्यकता र माग अनुसार पनि पूर्वाधारमा लगानी बढी हुने उनको भनाइ छ ।
गाउँपालिकामा यस आर्थिक वर्षको स्वास्थ्य क्षेत्रमा नागरिकको स्वास्थ्य सेवामा सहज पहुँचका लागि ५ दुर्गम स्थानमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको छ । जसमा ठूलो रकम खर्च भएको प्रत्येक इकाईमा २÷२ जना स्वास्थ्यकर्मीको व्यवस्थापन गरिएको छ । यसका साथै नागरिकका लागि विभिन्न स्वास्थ्य शिविरहरु पनि सञ्चालन गरिएको छ । शिक्षा सुधारका लागि व्रीटीस काउन्सिलसँगको सहकार्यमा परियोजना चलाइएको छ । जसबाट शिक्षकहरुको क्षमता विकासका तालिमहरु सञ्चालन भएका छन् । गाउँपालिका भित्र योजना तथा कार्यक्रम सञ्चालनका लागि उपभोक्ताहरु उत्साहित भए पनि सरकारी दररेट र बजार मूल्य एउटै नहुँदा उपभोक्ता मर्कामा परेका छन् । प्राविधिक स्टीमेट अनुसार बजार मूल्य नहुने र वर्षातबाट हुने क्षतीलगायतका समस्याले गर्दा विकासमा नागरिकको
सहभागिता घट्दो रहेको अध्यक्ष चिदीले बताए । उनका अनुसार सहरी वस्तीमा उपभोक्ता समितिले काम गर्ने अवस्था छैन भने ग्रामीण वस्तीमा श्रमदान गर्ने उपभोक्ताको अवस्था नभएकोले पनि समस्या थपेको छ । तर पनि न्युनतम रुपमा दश प्रतिशत लागत सहभागितामा काम भैरहेको अध्यक्ष चिदीले बताए । छनोट भएका योजनाहरुमा कतिपय भवन निर्माणका योजनाहरु यस वर्ष कार्यान्वयन हुने अवस्थामा छैनन् । भवन निर्माण गर्नका लागि संस्था वा समूहको आÇनै नाममा लालपूर्जा हुनुपर्ने कानुनको कडाईका कारण समस्या भएको हो । माथागढी गाउँपालिका भित्रका सबै वडामा बाह्रै महिना सवारीसाधन सञ्चालन हुन्छ । तुलनात्मक रुपमा वडा कार्यालय पनि व्यवस्थित रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका केही सडक महत्वकांक्षी योजनाहरु अघि सारेको छ । जसका लागि प्रदेश र संघीय सरकारसँग समन्वय र सहयोगको लागि प्रस्ताव गरेको छ । प्रस्तावित योजनाहरुमा दुई प्रदेश जोड्ने सिद्धार्थ राजमार्ग, महेन्द्र राजमार्ग र कालीगण्डकी करिडोरलाई जोडने बाँसटारी झडेवा रहवास हुँदै दुम्कीबास सडक, अन्तरपालिका पूर्वखोलाको देविनगर हुँदै माथगाढीको झडेवा गोठादी देखि सुनवलसम्मको सडक र अगाहाखोला चिदीपानी फेदी झडेवा गोठादी हुँदै सुनवलसम्मको सडकहरु रहेको गाउँपालिका अध्यक्ष चिदीले बताए ।
गाउँपालिकामा आन्तरिक स्रोत कमी भएका कारण पनि आवश्यक योजनाहरु सञ्चालनमा समस्या रहेको गाउँपालिकाले जनाएको छ । जसका कारण सम्भावना भएका पर्यटकीय क्षेत्रको व्यवस्थापन गर्न सकिएको छैन । पर्यटकीय क्षेत्रको व्यवस्थापन गरेर आर्थिक रुपमा गाउँपालिकालाई समृद्ध बनाउन सकिने भएपनि स्रोत अभावका कारण हुन सकेको छैन । आन्तरिक आयवृद्धिका लागि खानीजन्य पदार्थको चुहावट कम गर्न पहल भएको र करको दायरा बढाउने तयारीमा
गाउँपालिका रहेको छ ।
यसका साथै अहिले अर्थमन्त्रालयले वित्तिय समानिकरणको तेस्रो चौमासिकको किस्ता रकम ५० प्रतिशत कम गर्ने र राजश्व
बाँडफाँडको रकम पूरा नआँउदा विकास निर्माणमा थप समस्या पर्ने अध्यक्ष चिदीले बताए । प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले हालसम्म पूँजिगत तर्फको वित्तिय प्रगति २५ प्रतिशत रहेको जानकारी दिए । उनले ठूला योजना ठेक्का मार्फत सञ्चालन भएको र योजना सम्पन्नको अन्तिम चरणमा रहेकोले वित्तिय प्रगति कम देखिएको बताए । गाउँपालिकाको यस आर्थिक वर्षका साना योजनाहरु करिब एक सय ५० बन्दा बढी फरफारक भएको छ ।
यस वर्ष ठूलो योजनामा गाउँपालिकाको प्रशासनीक भवनको एक करोडको काम नहुने बताए । अन्य अधिकांश योजनाहरु सम्पन्न गर्ने गरी काम भएको छ । गाउँपालिकामा दैनिक सेवा प्रवाहमा प्रशासनतर्फका कर्मचारी कम भएपनि विकास योजनाका लागि प्राविधिकको समस्या नभएको प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले बताए । सञ्चालित योजनाको अनुगमनका लागि बिहीबार र शुक्रबार गर्ने तयारी छ । गाउँपालिकामा ५ लाख भन्दा बढीको योजना उपाध्यक्षको नेतृत्वमा अनुगमन गरिन्छ भने ५ लाख भन्दा कमका योजनाहरु वडास्तरीय समितिले गर्ने गरेको उनको भनाइ छ ।