पानीले फेरिएको कोटथर

एवत सारु

वर्षौदेखि पँधेराबाट पानी बोकेर घरधन्दा चलाएकी दिलमाया पाडेमगरको जीवन खानेपानीको सुविधा भएपछि फेरिएको छ । खानेपानी अभावमा सधै हतारमा रहने दिलमायालाई आजभोली निकै फुर्सद मिलेको छ । पाडेमगर मात्र हैन आजभोली रम्भा गाउँपालिका २ फोक्सिङ्गकोटमा रहेको कोटथर गाउँका अधिकांश जनतालाई यस्तै अवसर मिलेको छ । घर घरमा खानेपानीको सुविधा पुगेपछि स्थानीयको जीवन सुखमय बन्र्दै गएको छ । रानीबासको कयनखोलाको पानी ४ चरणमा लिफ्टििङ्ग गरी कोटथर गाउँसम्म पु¥याइएको छ ।

हिजका दिनमा पानी बोक्नका लागि खेर जाने समय अहिले तरकारी खेती, बाख्रा पालन, कुखरा पालन जस्ता काममा लगाउन पाउँदा आर्थिक रुपमा समेत बलिया भएका छन् । विद्यार्थीहरुलाई पढ्नको लागि समय मिलेको छ । रम्भा गाउँपालिका २ फोक्सिङ्गकोटको रानीबास लिफ्टिङ्ग खानेपानीलाई विस्तार गरेर कोटथर गाउँमा पु¥याएपछि कोटथर गाउँका जनतालाई खानेपानीको सहज सुविधा भएको हो । रानीबास गाउँको भट्टबारीबाट कोटथरको भुयाँरथान सम्म पानी लिफ्टिङ्ग गरेपछि पानीको सुविधा पुगेको हो । भुयारथानमा झण्डै ५० हजार लिटर क्षमता रहेको टंकी निर्माण गरेर ६६ घरधुरीलाई पानी वितरण गरिएको छ । फोक्सिङ्गकोट वडा कार्यालय तथा सानाहुँगी माध्यमिक विद्यालय समेत यसबाट लाभान्वित भएका छन् ।

पानीको सहज उपलब्धता भएपछि वर्षौं देखि प्रयोगमा आएका ढाकर, नाम्लोको घटेको स्थानीय नरबहादुर पाडेमगरले बताए । पानीको सुविधा भएपछि ढाकर र नाम्लोको खपत घटेको गाउँलेहरुको भनाइ छ । गाउँमा पानीको सुविधा पुगेको एक वर्षलाई नाघ्यो ढाकरको माँग निकै घट्यो हरेक वर्ष ढाकर बेचेर राम्रै आम्दानी गर्दै आएका यमान पाडेमगरले सुनाए । केही वर्ष अगाडि एक घण्टा समय लगाएर धारादी कुँवाबाट पानी बोक्ने गरेका कोटथर गाउँका बासिन्दा घरमै पानी आएपछि लुगा धुने, नुहाईधुवाई गर्ने टाढा जान परेको छैन् । स्थानीय सरकारले खानीपानीको व्यवस्था गरेकोमा खुसी देखिएका स्थानीयले महशुल कम गरिदिए धेरै राहत पुग्ने बताएका छन् । गाउँलेहरु अहिले औसतमा मासिक २ सय ५० रुपैयाँदेखि ४ सयसम्म पानीको महशुल तिर्दै आएका छन् ।

पानी अभावमा बजारबाट तरकारी, खुर्सानी, टमाटर, लसुन किनेर दैनिकी काटेका स्थानीयहरुले अहिले आफ्नै बारीमा फलाउँदा आफूहरुनै दङ्ग परेको वडा सदस्य योगेन्द्र पाडेमगरले बताए । उनी आफैंले २ वटा टनेल निर्माण गरेर तरकारी खेती गरेका छन् । उनको अझ २ वटा टनेल थप्ने योजना रहेको छ । गाउँका मिहिनेती किसानहरुको छनोट गरी गाउँपालिका मार्फत सञ्चालित परियोजनाबाट प्लाष्टिक टनेल, मल्चिङ्ग पेपर, थोपा सिंचाई प्रणाली लगायतका सामाग्री वितरण गरेपछि घरघरमा प्लाष्टिक टनेल निर्माण गरि थोपा सिंचाई प्रणाली जडान गर्ने काम भइरहेको २ नं वडाका वडा अध्यक्ष चेतबहादुर सुनारीले बताए । घरघरमा बालमैत्री सहितको धारा जडान भएको छ । एक घर एक टनेल बनाउने लहड चलेको स्थानीय टकबहादुर पाडे मगर बताए । गाउँपालिकाको सहयोगमा इन्द्रेणी समाज केन्द्र नेपालले कोटथर गाउँका २३ घरका किसानलाई निशुल्क प्लाष्टिक टनेल सहित थोपा सिंचाई प्रणाली वितरण गरेको छ ।

रम्भा गाउँपालिकाले एक घर एक धारा नीति अनुरुप टंकी निर्माण तथा पाइप खरिद गर्न रम्भा गाउँपालिकाबाट पटक पटक गरी साढे २२ लाख रुपैयाँ र स्थानीयवासीको श्रमदान, चन्दा तथा खानेपानी तथा सरसफाई डिभिजन कार्यालयबाट प्राप्त सामान सहितको करिव ४७ लाख रुपैयाँमा आयोजना सम्पन्न गरिएको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । गाउँका ६६ घर मध्ये हरेक घरमा दुईवटा धारा जडान गरिएको छ । अध्यक्ष भण्डारीले गाउँपालिकाले जनतालाई सहज रुपमा खानेपानी उपलब्ध गराउन प्राथमिकतामा राखेर योजना सञ्चालन गरिरहेको समेत बताए ।

सम्बन्धित खवर