पाल्पामा बसाइँसराईको समस्या गम्भीर बन्दै

विजयकुमार बौडेल

पाल्पा । जिल्लामा बसाइँसराईको समस्या गम्भीर बन्दै गएको देखिएको छ । जन्मेको गाउँठाउँलाई भुलेर सुविधाका लागि बजार रोज्ने नाममा बसाइँसराई गरी अन्यन्त्र जानेको संख्यामा वृद्धि भएको हो ।

शिक्षा, स्वास्थ्य, रोजगारी, यातायात तथा अन्य स्रोत र साधनको अभावका कारण पाल्पा बाट बसाइँसराई गरेर जानेको संख्या बढ्दो भएको हो । पाल्पाबाट रुपन्देहीको बुटवल क्षेत्र नजिक हुनु र सेवा सुविधाका हिसाबले पूर्ण भएकोले पनि पाल्पाबाट बसाइँसराई गरी तयारी क्षेत्रमा झर्नेको संख्या बढेको देखिन्छ ।

आफु बसेको स्थानमा गरिबी, बेरोजगारी, जमिनको अभाव, यातायात तथा सञ्चारको असुविधा जस्ता कारणहरुले मानिसलाई अन्य स्थानमा सर्न बाध्य पारेको जानकारहरुको भनाइ छ । रोजगारीको सुविधा, शहरीकरण, औद्योगीककरण, जमिनको उपलब्धता, यातायात तथा सञ्चारको सहज पहुँच भएका स्थानमा पछिल्लो समय मानिसहरु आकर्षित हुनेगरेका छन् ।

पछिल्लो ७ महिनामा तिनाउ गाउँपालिकाबाट ३४ घरपरिवारले तिनाउ गाउँपालिकाबाट बसाइँसराई गरेर गाउँछाडेका छन् । ३४ घरपरिवारका १ सय १३ जना नागरिक बसाइँसराई गरेर अन्यन्त्र गएका हुन् । त्यस्तै तिनाउमा पछिल्लो ७ महिनामा १४ घरपरिवार बसाइँसराई गरी गाउँपालिकामा आएका छन् । १४ घरपरिवारका ४५ जना नागरिक बसाइँसराई गरी आएका प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले जानकारी दिए ।

त्यस्तै निस्दी गाउँपालिकामा २०७८ सालमा १ सय ६८ घरपरिवारका ७ सय २५ जना बसाइँसराई गरी गएका छन् । यो अबधिमा ४ घरपरिवारका २३ जना मात्र बसाइँसराई गरी गाउँपालिका आएको फिल्ड सहायक श्रीकृष्ण खन गाहाले जानकारी दिए । रिब्दीकोट गाउँपालिकाको बसाइँसराईको अबस्था पनि डरलाग्दो छ । रिब्दीकोटमा पछिल्लो ७ महिनामा ८२ घरपरिवारका २ सय ९१ जना बसाइँसराई गरी गाउँपालिका छाडेका छन् । ६ घरपरिवारका २३ जना मात्र बसाइँसराई गरी आएको रिब्दीकोटकी पञ्जिकरण शाखाकी प्रमुख सिर्जना नेपालले जानकारी दिइन् ।

त्यस्तै तानसेन नगरपालिकाबाट १ सय ५५ घरपरिवारका ५ सय २५ जना बसाइँसराई गरी गएका छन् । ९१ परिवारका २ सय ९९ जना बसाइँसराई गरी आएका छन् । बगनासकाली गाउँपालिकाबाट ५७ घरपरिवारका २ सय ३१ जना बसाइँसराई गरी गएका छन् । १४ घरपरिवारका ३२ जना बसाइँसराई गरी आएकाको तथ्याँक छ । अन्य गाउँपालिका र नगरपालिकामा पनि सम्बन्धित गाउँपालिकाबाट बसाइँसराई गरी जानेको संख्या बढ्दो रहेको छ ।

आफू बसोबास गरिरहेको ठाउँ भन्दा अन्य ठाउँमा बढी सुविधा सहित आर्थिक उन्नति वा प्रगति हुने सम्भावना देखेर मानिसहरु वासस्थान परिवर्तन गर्ने गरेको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले बताए । आफू बसेको वासस्थानमा भएको खराब वातावरण, कम उब्जाउ जमिन, भौगोलिक विकटता वा विषमताका साथै बाढिपहिरो, भूकम्पजस्ता प्राकृतिक प्रकोपका कारणले पनि मानिसहरु एक ठाउँ छोडेर अर्को ठाउँमा बसाई सर्न बाध्य हुने बगनासकाली गाउँपालिकाकी अध्यक्ष सरस्वती चिदीले बताइन् ।

बढ्दो सहरीकरण, सेवासुविधाको उपलब्धता, अर्थतन्त्रको क्रमिक संरचनात्मक परिवर्तन, सुरक्षा लगायत विविध कारणले आन्तरिक बसाइँसराईको आयतन निकै बढ्दै गएको छ । आन्तरिक रूपमा हुने बसाइँसराई खासगरी गाउँबाट सहरतर्फ हुनेगरेको छ । यसको नियन्त्रणका लागि स्थानीय तहहरु गम्भीर भएर योजना लागु गर्नुपर्ने देखिएको जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनालले बताए ।

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय