पाल्पा । माथागढी गाउँपालिका भित्र रहेका ६९ जना अंग्रेजी शिक्षकका लागि ६ दिने अंग्रेजी प्रोफिसिएनसी तालिम दिइएको छ । गाउँपालिकाको समग्र शैक्षिक अवस्था सुधारका लागि सञ्चालित सक्षम परियोजना अन्र्तगत शिक्षकहरुलाई अंग्रेजी विषयको तालिम दिइएको हो । यस अघि अंग्रेजी विषय कसरी पढाउने भन्ने विषय सिकेका शिक्षकहरुका लागि अहिले अंग्रेजी विषय अध्यापनका चरणहरुका विषयमा सिकाइएको हो । यसका साथै शिक्षकहरुका लागि अनलाइन कक्षा पनि सञ्चालन गरिएको छ ।
ब्रिटिश काउन्सिल सँगको सहकार्यमा सुरु भएको तीन वर्षे परियोजना भित्र रहेर शिक्षकहरुलाई तालिन दिइएको हो । गुणस्तरीय शिक्षाले विद्यार्थीको सिकाई उपलब्धिमा सहयोग गर्ने र गुणस्तरीय विद्यालय निर्माणका लागि शिक्षकहरुलाई तालिम सञ्चालन गरिएको माथागढी गाउँपालिकाकाअध्यक्ष यमबहादुर चिदीले बताए । उनका अनुसार शिक्षाको विकासका लागि पूर्वाधार भन्दा शिक्षकहरुको क्षमता विकास आवश्यक पर्ने बताए । अध्यक्ष चिदीले शिक्षक, अभिभावक र विद्यार्थीको क्षमता विकास, समान बुझाई नहुँदा सम्म शैक्षिक उपलब्धि नहुने बताए । जसका लागि परियोजनाले सहजीकरण गर्ने विश्वास व्यक्त गरे ।
तालिमको पहिलो चरणमा गाउँपालिकाको वडा न १, २ र ३ का विद्यालयका ३३ जना र दोस्रो चरणमा गाउँपालिकाको वडा न ४, ५, ६, ७ र ८ का विद्यालयका ३६ जना शिक्षकहरुका लागि तालिम सञ्चालन गरिएको हो । पहिलो चरणको तालिममा ब्रिटिश काउन्सिलका प्रशिक्षक राधा पुन र प्रेम थापको सहजीकरण र कार्यक्रम अधिकृत रोशनी थापाकोे सुपरिवेक्षणमा चलेको हो । यस्तै गरी दोस्रो चरणको तालिममा ईश्वर कंडेल र अम्रिता सिंजापतीले सहजीकरण गरेका थिए ।
गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक तथा वडा नंं १ का वडाध्यक्ष राजकुमार पन्थीले शैक्षिक पूर्वाधारको विकाससँगै शिक्षण सिकाईको वृद्धिका लागि शिक्षकका लागि तालिम अनिवार्य रहेको बताए । उनले शिक्षकहरु सीपयुक्त हुँदा माथागढीको समग्र शिक्षाको गुणस्तर सुधार हुने बताए । शिक्षक क्षमतावान हुँदा विद्यार्थीको सिकाई उपलब्धिमा प्रभाव पर्ने समेत बताए ।
वडा न ३ का वडा अध्यक्ष तेज बहादुर घर्तीमगरले भूगोलका हिसाबले पछाडी परेको गाउँपालिकाको शैक्षिक उपलब्धि कमजोर रहेकोले तालिम पछि विद्यार्थीको सिकाई उपलब्धिको ग्राफ बढ्ने, शिक्षकहरुमा शिक्षण सिकाईको सीपमा वृद्धि हुने विश्वास लिए । वडा न २ का वडा अध्यक्ष बोम बहादुर ठाडा र वडा नं. ४ का वडाध्यक्ष शंकर दर्लामीले तालिममा प्राप्त ज्ञान शिक्षकले कक्षाकोठामा अध्यापनका समेत अधिकतम प्रयोग गर्नुपर्ने बताए । उनीहरुले निरन्तर सिकाईले नै शिक्षकलाई शिक्षणसीपमा पोख्त बनाउने बताए ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश ज्ञवालीले शैक्षिक अवस्था सुधारका लागि समय अनुसार शिक्षकहरुलाई तालिम कार्यक्रम राम्रो भएको बताए । समय अनुसार प्रविधिको प्रयोग र सीप सिकाउने शिक्षकहरुलाई सीप उपलब्ध गराउँदा विद्यालयको सिकाई उपलब्धि वृद्धिमा सहयोग पुग्ने बताए ।
माथागढी गाउँपालिकामा ४ संस्थागत र ४१ सामुदायिक विद्यालयहरु रहेका छन् । सबै विद्यालयको समान सिकाई उपलब्धि गराउने गरी गाउँपालिकाले कार्यक्रम गरेको छ । गुणस्तरीय शिक्षाका लागि गाउँपालिकाको अवस्थाका विषयमा आधारभूत सर्वेक्षण गरेर काम अगाडि बढाइएको गाउँपालिकाका शिक्षा सहायक विष्णु चिदीले बताए । उनका अनुसार सर्वेक्षणमा प्राप्त नतिजाको विश्लेषण अनुसार शिक्षकहरुलाई तालिम दिइएको बताए ।
परियोजनाले कम्तिमा चार प्रतिशत शिक्षकले अंग्रेजी सही रुपमा अध्यापन गराउन सक्ने अपेक्षा लिएको छ । यसका साथै चालिस प्रतिशत शिक्षकहरुले प्रभावकारी शिक्षण सिकाई कार्यको तालिम दिन सक्षम हुने विश्वास रहेको परियोजनाका संयोजक अशेष भट्टराईले जानकारी दिए ।