निस्दीमा दिवा खाजा कार्यक्रमले विद्यार्थीको नियमितता

 धनबहादुर ठाडा

पाल्पा / निस्दी गाउँपालिकाका विद्यालयहरुमा दिवा खाजा कार्यक्रमले विद्यार्थीको नियमित उपस्थिति गराउन सफल देखिएको छ । हाल नेपाल सरकारले सामुदायिक विद्यालयमा अध्ययन गर्ने प्रारम्भिक बाल विकासदेखि ६ कक्षा सम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको छ । निस्दीमा भने पालिका आफैले बजेट व्यवस्थापन गरी ८ कक्षा सम्मका विद्यार्थीले नियमित खाजा उपलब्ध गराउँदै आएको छ । कक्षा ७ र ८ मा अध्ययन गर्ने विद्यार्थीको लागि पालिकाले बजेट विनियोजन गरेको हो ।

निस्दीले चालु आर्थिक वर्ष २०७९/८० को लागि कक्षा ७ र ८ मा अध्ययनरत विद्यार्थीलाई दिवा खाजा कार्यक्रम अन्तर्गत २७ लाख रकम छुट्याइएको जनाएको छ । हाल निस्दीको प्रारम्भिक बाल विकासदेखि ८ कक्षा सम्मका विद्यार्थीले नियमित रूपमा खाजा खाँदै आएका छन् । यहाँ १२ वटा माध्यमिक, १३ वटा आधारभूत र २८ वटा प्राथमिक गरी जम्मा ५३ वटा सामुदायिक विद्यालय रहेका छन् । चालु शैक्षिक सत्रमा प्रारम्भिक बाल विकासदेखि कक्षा १२ सम्ममा ५ हजार एक सय ९ जना विद्यार्थी अध्ययनरत छन् ।

नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको निःशुल्क र अनिवार्य आधारभूत शिक्षा कार्यान्वयनका लागि निःशुल्क तथा अनिवार्य आधारभूत शिक्षा ऐन २०७५ एवं शिक्षा नियमावली २०७७ ले दिवा खाजाको प्रावधानलाई कानुनी रूपमा स्थापित गरेको छ । हाल देशभरका सामुदायिक विद्यालयमा अध्ययन गर्ने प्रारम्भिक बाल विकासदेखि ६ कक्षा सम्मका सबै विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेको छ । प्रायः आधारभूत तह सम्मका विद्यार्थीहरु केटाकेटी नै हुन्छन् । बिहानको खानाले दिनभरलाई पुग्दैन । भोको पेटले विद्यार्थीको पढाइमा असर पर्ने भएकोले हाललाई ८ कक्षासम्म दिवा खाजा कार्यक्रम ल्याएको गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले बताए । साथै आगामी दिनमा यसले सकारात्मक प्रभाव पर्दै गएको खण्डमा माध्यमिक तह सम्म नै दिवा खाजा कार्यक्रमको व्यवस्थापन गर्ने योजना रहेको अध्यक्ष सारुको भनाइ रहेको छ ।
निस्दीमा दिवा खाजा कार्यक्रमले सकारात्मक परिवर्तन आएको देखिन्छ । विद्यार्थीहरु विद्यालयमा नियमित हाजिर हुने, शिक्षक कर्मचारीहरुमा विद्यालय समयावधिभर थप जिम्मेवारी बोध हुने गरेको पाइएको छ । यसले पठनपाठन क्रियाकलापमा पनि धेरै टेवा पुगेको शिक्षा शाखा संयोजक नर बहादुर थापाले बताए । निस्दीका धेरै विद्यालयले दिवा खाजा व्यवस्थापनको लागि आÇनै स्रोतबाट छुट्टै कर्मचारी समेत राखेका छन् । जसलाई त्यहाँका शिक्षक कर्मचारीले सघाएका छन् । केहि विद्यालयले भने कार्यालय सहयोगीमार्फत खाजा खुवाउने काम गरिएको छ । कुनै विद्यालयले अभिभावकलाई पालैपालो परिचालन गरेका छन् । विद्यालयमा विद्यार्थीलाई नियमित खाजा उपलब्ध भैरहेको छ । सकेसम्म सबै विद्यालयले एकरूपता हुनेगरी खाजा खुवाउन सके यसको सकारात्मक प्रभाव बढ्ने प्रमुख प्रशासकीय अधिकृत ध्रुव दयालले बताए । उनले विद्यालयले दिवा खाजा कसरी विद्यार्थीहरुलाई उपलब्ध गराउँदै आएका छन् त्यसको पालिकाले निरन्तर निगरानी गर्दै आएको समेत बताए ।

दिवा खाजाले साच्चिकै निस्दीका विद्यालयमा परिवर्तन र विद्यार्थीहरुमा नियमितता बढेको देखिन्छ । सरस्वती माध्यमिक विद्यालय गल्धामा शिक्षक कर्मचारी र अभिभावक मिलेर नियमित रूपमा खाजा खुवाउने गरेको प्रधानाध्यापक सुशील ढकालले बताए । यसले गर्दा तल्लो कक्षाका विद्यार्थीहरु पनि नियमित रूपमा विद्यालय आउने ढकालको भनाइ छ । साथै दिवा खाजालाई थप व्यवस्थित बनाउन विद्यालय छिट्टै चमेनागृह सञ्चालनको तयारीमा रहेको ढकालले बताए ।

पालिकाले ८ कक्षासम्मका विद्यार्थीलाई दिवा खाजाको व्यवस्था गरेपछि विद्यालयलाई धेरै सजिलो भएको जीवन ज्योति आधारभूत विद्यालय मित्यालका प्रधानाध्यापक चित्र सिंह आलेले बताए । पहिला तल्लो कक्षाका विद्यार्थीले खाजा खाँदा माथिल्लो कक्षाका विद्यार्थीहरु टुलुटुलु हेरेर बस्ने गर्थे, अहिले सबैले खाजा पाएपछि अत्यन्तै खुशी भएको आलेको भनाइ छ ।
सकेसम्म ‘‘हरेक बार खाना चार’’ भन्ने स्वास्थ्यको मापदण्ड अनुसार खाजा खुवाउदै आएका छौँ । खाजाको परिकारमा स्थानीय अन्न, सागपात, गेडागुडी, अण्डा र फलफूल दिने गरेको प्रधानाध्यापक आलेले बताए । यसले विद्यार्थीको स्वास्थ्यमा पनि फाईदा पुगेको छ । विद्यालय क्षेत्रमा जंक फुड प्रयोगमा समेत कमी आएको अभिभावकहरुको भनाइ छ ।

सम्बन्धित खवर