विजयकुमार बौडेल
पाल्पा/ पोषिलो फलफूलभित्र पर्ने सिउँडी प्रजातिको ड्रागन फलको व्यावसायिक खेतीमा लागेका छन् माथागढी ३ का तारा बहादुर सारु । काठमाडौंबाट घरमा आउँदा छोराहरुले ल्याएको फल खाएपछि खेती गर्न इच्छा गरेका सारुले युट्युब हेरेरै खेती सुरु गरेको बताए । सारुले युट्युव हेरेरै फलबारे ज्ञान लिएको र त्यसलाई कसरी रोप्ने, कसरी स्याहार गर्ने, उत्पादनमा कस्तो प्रविधि प्रयोग गर्ने भन्ने सिकेका हुन् । अहिले सारुको ड्रागन फल खेती राम्रोसँग फस्टाउँदै गएको देखिएको छ ।
सारुले पहलिो पटक एक सय २० बोट ड्रागन फल लगाएका हुन् । ति बिरुवाले अहिले फल दिन थालिसकेका छन् । फल लागेको पहिलो वर्षबाटै फल्न थाल्ने भएकोले यस वर्ष सारुले करिव २० हजार रुपैंया आम्दानी गरेको बताए । सारुले यो खेतीमा करिव एक लाख ६० हजार रुपैंयाँ लगानी गरेका काम सुरु गरेको बताए ।
यो फलको स्वाद नेपाली जिब्रोमा झुण्डिने खालको छ । एकचोटी खाने धेरैले ड्रागन फल पछिपनि खोज्ने गरेका छन् । सामान्यतया ड्रागन फल दुई प्रकारका छन् । सारुले ति दुवै खाले फल रोपेका छन् । आँपको सिजन सकिन लागेको र सुन्तलाको सिजन सुरु नहँदै बजारमा आउने ड्रागन फलको माग बजारमा बढी छ ।
असार लागेसँगै बजारमा आउन थाल्ने यो फल पुष महिनासम्म रहने गर्दछ । पाकेको ड्रागन फललाई लामो समयसम्म सामान्य तापक्रममै भण्डारण गर्न सकिने हुनाले पनि यसको बजार सम्भावना बढेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन एकाइ पाल्पाका बरिष्ठ कृषि अधिकृत दिपक भट्राईले बताए । उनले प्रशस्त मात्रामा भिटामिन र मिनरल हुने ड्रागन फलमा क्यान्सर प्रतिरोधी गुण हुने जानकारी दिए ।
यो फलको एउटै वोटबाट अरु विरुवाको वृद्धि विकास गर्न सकिन्छ । एक पटक बिरुवा लगाएपछि समय समयमा सामान्य गोडमेल र सिंचाई बाहेक अन्य गोडमेल गर्नु नपर्ने र रोपेकै वर्षदेखि लामो समय फलबाट आम्दानी लिन सकिने कृषक सारुको भनाइ छ । प्रत्येक लटमा फूल फुलेको ३५ देखि ४० दिनसम्ममा फल पाकिसक्छ । फल पाँच् सय ग्राम देखि ७ सय ५० ग्राम सम्म हुने गर्छ । यसलाई पिलर गाडेर, पातलो हारमा मिलाएर लगाउन सकिन्छ । सारुको घरको छत पनि ड्रागन फलका बोटले भरिएको छ । छतको चारैतिर माटो तथा प्लास्टिकका गमलामा ड्रागन फलका बिरुवा छन् ।
सारुले लगाएको खेती देखेका माथागढी गाउँपालिका ३ का वडाध्यक्ष तेज घर्तीमगरले गाउँपालिका क्षेत्रमा ड्रागन फलको खेतीको सम्भावना रहेको बताए । उनले थोरै लगानीमा राम्रो प्रतिफल प्राप्त हुने खेती देखिएकोले स्थानीय तहले यूवाहरुलाई जोडेर आर्थिक आर्यआर्जन बढाउने योजना ल्याउने बताए ।