कृषि र पशुपालनमा फड्को

संघीय र प्रदेश सरकारको प्राथमिकतामा कृषि र पशुपालन पर्न सकेको छैन । गफ कृषि प्रधान देशको लगाइन्छ तर बजेटमा प्राथमिकता पूर्वाधारमै छ । कृषि र पशुपालनमा लगानी नभएको पनि होइन । लगानी अनुसारको प्रतिफल नै देखिएको छैन । प्रतिफल नदेखिनुमा टाठावाठा, पहुँचवालालाई मात्र अनुदान दिने नीति भएका कारण नै हो । अन्यथा कृषि र पशुपालनमा लगानी नभएको भन्न भने सकिदैन । पाल्पाको रिब्दीकोट गाउँपालिकाले चालु आर्थिक वर्षमा कृषि र पशुपालनमा जोड दिएको छ । यो लगानीबाट उसले कृषि र पशुपालनमा फड्को मार्नुपर्छ । किन भने विभिन्न गैरसरकारी संस्थासँग मिलेर काम गर्न मात्रै २ करोड ६० लाख रुपैयाँ विनियोजन गरेको छ । लगानी सही ढंगले कार्यान्वयन होस् भन्ने कुरा महत्वपूर्ण नै हो ।

गुणस्तरीय दुध र दुधजन्य परिकार तथा अर्गानिक तरकारी खेतीमा प्राथमिकता दिएको छ । गाउँपालिकाले कृषिमा भएको क्षति सम्बोधन, कृषि ऋणमा व्याज अनुदान, कृषि तथा पशु कार्यक्रम, बाँझो जमिनमा खेती, उत्पादनमा आधारित अनुदान व्यवस्था गरेको छ । सहकारीसँगको सहकार्य, मुख्यमन्त्री ग्रामीण विकास तथा रोजगार अन्तर्गत पनि केही बजेट खर्च हुनेछ । एक घर एक करेसाबारी कायृक्रम, एक स्थानीय तह एक उत्पादन कार्यक्रम, कृषि ऋणमा व्याज अनुदान कार्यक्रम, प्लाष्टिक पोखरी, टनेल, स्प्रे टंकी उपलब्ध गराइएको छ । नमूना संकलन गरी प्राप्त नतिजा अनुसार विज्ञबाट जानकारी दिने काम अघिल्लो वर्षमा पनि भएको छ ।

तरकारी पकेट संचालन गर्ने, तरकारीका बीउबिजन, कृषि सामाग्री, सिँचाई व्यवस्थापन, डिजिटल काँटा लगायतका सामग्री उपलब्ध गराइएको छ । लैना भैसी, खोरसुधार, बंगुर पाठा बितरण लगायतका काममा पनि सहयोग गर्दै आएको छ । मागमा आधारित कार्यक्रम अन्तर्गत व्यवसायीक फर्मको लागि उन्नत जातको बोका खरिद गर्नेछ । यसरी गाउँपालिकाले धेरै कार्यक्रम तय भएका छन् । यी कार्यक्रम सही ढंगले कार्यान्वयन हुनु जरुरी छ । कार्यक्रम वडामा पनि पुग्छ । तर सही ढंगले कार्यक्रम हुन सकेन भने प्रतिफल राम्रो हुँदैन । त्यसैले कार्यक्रम बन्नु, बजेट पर्नु भन्दा पनि यसको सही कार्यान्वयन चुनौती छ । त्यसैले कृषि र पशुपालनमा सही ढंगले काम गरेर विपन्न वर्गको जीवनस्तर उकास्नेतर्फ सोँच बन्नु जरुरी छ ।

सम्बन्धित खवर