
पाल्पा । तिनाउ गाउँपालिका–५, गिट्टीखानी हिउँदेखोला क्षेत्रमा खसेको पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ । दुई जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
पहिरोमा पुरिएर ४५ वर्षीय बीर बहादुर गुरुङ र ४ वर्षीय आरम्भ परियारको घटनास्थलमै मृत्यु भएको थियो । पहिरोले पुरिएर गम्भीर घाइते भएकी ७५ वर्षीय सुन्दरी गुरुङको लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो ।
घाइते गुरुङलाई उद्धार गरी मेडिकल कलेजमा ल्याइएको थियो । उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सन्तोष कुमार भट्टराईले जानकारी दिए ।
उनका अनुसार शवको पोष्टमार्टम गरी आफन्तलाई बुझाइएको छ । पहिरोले बगाउँदा सात जना घाइते भएका थिए भने सात जनाले पहिरोमा भागेर ज्यान जोगाएका थिए ।
पीडित परिवार कल्याणी आधारभूत विद्यालयको भवनमा आश्रय लिएका छन् । उनीहरुलाई तिनाउ गाउँपालिका, सत्यवती खानी, डोलोमाइट चुनढुंगा, रेडक्रस, लायन्स, कांग्रेस पाल्पाले राहत बितरण गरेको छ ।
माथिल्लो भेगमा रहेको खानी उद्योगले थुपारेका डेबरेजका कारण यहाँ ठूलो पहिरो खसेको हुन सक्ने वडाध्यक्ष दलबहादुर दर्लामीले बताए । हिउँदेखोला र गिट्टीखानीको बीच क्षेत्रको खोल्सी धेरै माथिबाट बग्छ । तर यस क्षेत्रमा अन्य समयमा पानी नै बग्दैन ।
सुख्खा रहने भएकाले यति ठूलो बाढी आउने कुनै कल्पना गरिएको थिएन । तर माथिल्लो भागमा डोलोमाइट चुनढुंगा प्रालिले खानी संचालन गरेको छ । पहिरोमा पनि चुनढुंगा खानीका डेबरेज मात्र होइन निकासी गर्ने खालका चुनढुंगा नै खसेको छ । ‘खानीक्ष्ँेत्रको कारढा पनि हुनसक्छ,’ वडाध्यक्ष दर्लामीले भने, ‘कतै पानी रोकिएर एकै पटक भेल आएर पनि यति ठूलो क्ष्ँति गरेको हुनसक्छ ।’
राजमार्गको छेउसम्म ठूलाठूला ढुंगा बगाएर ल्याएको छ । चुनढुंगाका डेबरेज पनि प्रशस्त छ । माथिल्लो भागमा जथाभावी रुपमा खनिएका कारण पनि अहिलेको अवस्था आएको हुन सक्ने स्थानीयको गुनासो छ । चुनढुंगा उत्खनन गर्दा डेबरेजहरु जथाभावी फालिन्छ ।
त्यसलाई भेलले बगाएर कतै अड्किएर ताल बनेको र एकैपटक डेबरेजसहित पानीको भेल आएर ठूलो नोक्सानी गरेको हुन सक्ने वडाध्यक्ष दर्लामीले बताए । स्थानीय बासिन्दा भने यस विषयमा बोल्नसमेत चाहेनन् । कतिपयले खानी संचालनका कारण यस्तो विपत्ती निम्तिएको उल्लेख गर्न नचाहेको स्थानीय प्रेम श्रेष्ठले बताए ।