ग्रामीण भेगका घरघरमा लक्षणसहितका बिरामी छन् । तर उनीहरु आरटि पिसिआर र एन्टिजेन परीक्षण गर्न मान्दैनन् । स्वास्थ्यकर्मी र जनप्रतिनिधि उनीहरुलाई सम्झाउँदा बुझाउँदा हैरान खेप्न थालेका छन् । स्थानीय तहले नजिकको पायक पर्ने स्थान तोकेर वडावडामा स्वाब संकलन गर्न पुग्छन् । तर गाउँमा ज्वरो, रुघाखोकी, ज्यान दुख्ने, पखाला लाग्ने बिरामी प्रशसत छन् । यसरी लक्षणसहितका बिरामी जाँच गर्न आउन नमानेपछि गाउँमा संक्रमण दरमा कमी आउन सकेको छैन । यसरी परीक्षण गर्न नमान्दा ग्रामीण भेगमा अझ बढी संक्रमण फैलिने हो कि भन्ने डर सुरु भएको छ । अर्को कुरा मानेनन् भनेर स्वास्थ्यकर्मी र जनप्रतिनिधि हात बाँधेर बस्ने हो भने के हुन्छ ? यसमा ध्यान दिनुपर्छ । खेती किसानी गर्ने, वर्मपर्म गर्न जाने, गाई वस्तु चराउने, बजार हिड्ने समय भएकाले पनि झन् समस्या आउन सक्ने स्थानीयको भनाई छ ।
अहिले हरेक स्थानीय तहका गाउँगाउँमा लक्षणसहितको बिरामी छन् । उनीहरुको तथ्यांक संकलन गरेर सबै वडामा पुगेर नमुना परीक्षणका लागि आरटिपिसिआर गर्नुपर्ने हो । तर परीक्षणको दायरा नै बढाएका छैनन् । जनप्रतिनिधिहरु अन्यत्र काममा व्यस्त छन् । कतिपय स्थानीय तहले झन् वडा वडामा पुगेर स्वाब संकलन, एन्टिजेन परीक्षणलाई वेवास्ता गर्दै आएका छन् । हुन त स्वास्थ्य कार्यालयले अझै पनि कतिपय स्थानीय तहले नमुना परीक्षण र कन्ट्याक्ट टे«सिङ नै नगरेको स्वीकार्छ । यसले गर्दा समुदायमा फैलने र नियन्त्रणमा कठिनाइ भएको छ । ढिलो गरेर स्वाब संकलन गर्दा संक्रमणको अवस्था जटिल भएर मृत्यु दर पनि बढेको छ ।
केही स्थानीय तह तिनाउ, तानसेन नगरपालिका, रैनादेवी छहरा, माथागढी गाउँपालिकाले वडावडामा पुगेर पिसिआर परीक्षण शिविर नै संचालन गरेका छन् । तर जाँच गराउन आउनेको संख्या भने धेरै कम छ । लक्षण देखिएकाले समेत जाँच गराउन नमान्ने र जाँच गराएको भिटिएम परीक्षणमा पाल्पा अस्पताल प्रयोगशालाले ढिलाई गर्दा गाउँगाउँमा कोरोना संक्रमण फैलिएको गुनासो पनि छ । यस्ता गुनासालाई सम्बोधन गर्न नसक्ने र संक्रमितहरु गाउँघरमा नतिजा नआउँदै खेतबारीमा काम गर्न हिड्ने, परिवारसँग घुलमेल हुने, मेलापात जाने समस्याले नियन्त्रणमा कठिनाई हुने पक्का भएकाले पनि परीक्षणलाई घटाउन हुँदैन । परीक्षणको दायरा बढ्यो भने मात्र समुदायमा अवस्था थाहा पाउन सकिन्छ ।