पाल्पा । रम्भा गाउँपालिका–१, हुँगीको असेर्दी र सगाहा गाउँमा घरघरमै बिरामी छन् । उनीहरुमध्ये कतिपयको लक्षणसहित छ भने कतिपय शंकास्पद छन् । गाउँमा सबै बिरामी भएपछि अर्को समस्या हुने डरले स्वास्थ्यकर्मी परिचालन गर्नु परेको छ । ‘घरघरमै बिरामी छन्,’ स्थानीय विजय रानाभाटले भने, ‘दुई गाउँमा मात्रै ५० बढी संक्रमित छन् । अझै बिरामी धेरै छन् ।’
रम्भाकै ताहुँमा पनि धेरै बिरामी छन् । कतिपय संक्रमण पुष्टि भइसकेका छन् । कतिपयलाई पुष्टि हुन बाँकी छ । तर घरघरमा जस्ते बिरामी छन् । ‘ताँहुतिर जान पनि डरलाग्दो अवस्था छ,’ छिमेकी गाउँ हुमीनका आषिश श्रेष्ठले भने, ‘जतासुकै बिरामी छन् ।’
जिल्लाको तानसेन नगरपालिका, रम्भा, रिब्दीकोट, रैनादेवी छहरामा पछिल्लो समयमा धेरै बिरामी छन् । घरघरमा जस्तै बिरामी भएकाले समस्या आएको रम्भा गाउ“पालिका स्वास्थ्य शाखा प्रमुख शिव अर्यालले बताए । ‘गाउँगाउँबाट फोन आउँछ,’ उनले भने, ‘धेरै स्थानमा बिरामी भएपछि रेखदेख गर्न पनि समस्या हुने रहेछ ।’
सबै जनाको कन्ट्«याक्ट ट्रेसिङ गर्न समेत समस्या भएको उनले बताए । हुँगी स्वास्थ्य चौकीमा कार्यरत डा. पुजन श्रेष्ठका अनुसार रम्भाको हुँगी क्षेत्र कोरोनाको हटस्पट जस्तै बनेको छ । जुन गाउँमा पनि बिरामी भएको भन्ने जानकारी आएको उनले बताए । प्रयास जति गर्दा पनि सर्ने खतरा बढी रहेकाले आफै ज्यान जोगाउनुपर्ने अवस्था आएको उनले बताए ।
रम्भाकै फोक्सिङकोटको झर्लेङ गाउँमा पनि बिरामी बढेका छन् । लक्षण देखिएका र बिरामी परेका ६ जनाको पिसिआर लिइएको उनले बताए । स्वास्थ्य शाखा प्रमुख अर्यालका अनुसार हुँगीमा डा. पुजन श्रेष्ठ सहित स्वास्थ्यकर्मी खटिएका छन् ।
ताहुँमा पनि उस्तै छ । ताँहुको प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत नौ जना स्वास्थ्यकर्र्मी एकैपटक संक्रमित भए । पिपलडाँडाको लसुने एक सातादेखि सिल जस्तै छ । ‘जता हे¥यो उतै बिरामी जस्तै हुन थाल्यो,’ उनले भने, ‘अब केही दिन सामान खरिद गरेर गाउँपालिका नै पूर्ण सिल गरे हुन्थ्यो भन्ने भएको छ ।’
कतिपय बिरामीलाई पखाला लाग्ने, ज्वरो आउने, टाउको दुख्ने बढी समस्या छ । अक्सिजन लेवल कम भएको पिपलडाँडा हाँकडाँडामा ३५ वर्षका संक्रमितलाइ घरमै अक्सिजन लगेर जडान गरेको उनले बताए । अन्यत्र भने यस्तो छैन । कतिपय संक्रमितलाई स्वास्थ्य सामाग्री पनि दिएका छन् ।
‘म आफ्नो वडामा बिरामीको संख्या बुझ्दै हिडेको छु,’ तिनाउ–२, दोभानका वडाध्यक्ष राजेश श्रेष्ठले भने, ‘गाउँगाउँमा बिरामी छन् । स्वास्थ्य शाखाले खासै वास्ता गरेको छैन । हामी आफै हिडेर अवस्था बुझेका छौं ।’ रिब्दीकोट, ठिमुरेका वडाध्यक्ष तुलबहादुर जीसी, फेकका नारायण बहादुर लामटाङ्गे पनि अवस्था बुझ्न गाउँमा पुगेको बताए ।
उनीहरुका अनुसार गाउँगाउँमा बिरामी छन् । ‘स्वास्थ्यकर्मी पनि ज्वरो आउने संकास्दपद भएपछि डराउने रहेछन्,’ वडाध्यक्ष जीसीले भने, ‘हामीलाई पनि डर लाग्छ । तर अब के गर्नु जसरी पनि उपचारका लागि जान पर्छ भन्ने गरिएको छ ।’
जतासुकै बिरामी छन् । रैनादेवी छहरा, बगनासकाली, तिनाउ, रिब्दीकोटमा पनि बिरामी छन् । निस्दी, रामपुर नगरपालिका, पूर्वखोलाका पनि गाउँगाउँमा लक्षणसहितका बिरामी छन् । तर स्वास्थ्यकर्मीले अघिल्ला वर्ष जस्तो चासो दिएर काम नगरेको स्थानीयको गुनासो छ ।
तानसेन नगरपालिकामा बजार क्षेत्रभित्र कोही पनि स्वास्थ्यकर्मी संक्रमितको घरसम्म पुग्दैनन् । स्वास्थ्यकर्मीलाई एन्टिजेन परीक्षण गर्दै ठिक्क छ । बजारका वडामा स्वास्थ्य चौकी पनि छैन । त्यसले गर्दा पनि समस्या हुन्छ ।
‘हामीलाई अन्य काम गर्दै फुर्सद हुँदैन,’ स्वास्थ्य शाखा प्रमुख झविन्द्र न्यौपानेले भने, ‘बजार क्षेत्रभित्र गएर संक्रमितको स्वास्थ्य अवस्था बुझ्ने कोही नभएकै हो ।’ उनले जनप्रतिनिधिले अहएको र खटाउको काम गर्ने भएकाले पनि आफै निर्णय केही गर्न नसक्ने बताए ।
स्वास्थ्य कार्यालयका सूचना अधिकारी ओमप्रकाश पन्थीका अनुसार तानसेन नगरपालिकामा सबैभन्दा धेरै ७ सय संक्रमित छन् । रैनादेवी छहरा गाउँपालिकामा १ सय ९९, बगनासकाली गाउँपालिकाममा १ सय ३०, रिब्दीकोटमा १ सय २६, माथागढीमा १ सय ६ जना संक्रमित पुगेका छन् । रम्भामा ८६ संक्रमित पुगेका छन् । जिल्लाभर भने १ हजार ५ सय बढी सक्रिय संक्रमित पुगेका छन् ।