खडेरी बढेसंगै डढेलोले वन सखाप

पाल्पा । जिल्लाका दर्जन बढी जंगलमा डढेलो लागेको छ । डिभिजन वन कार्यालयका अनुसार डढेलो नियन्त्रणमा लिने प्रयास जारी छ । कतिपय स्थानमा डढेलो नियन्त्रणमा आएपनि केही स्थानमा भने नियन्त्रण बाहिर छ ।

ढुंगा खस्ने, नजिक जान नसकिने स्थानमा डढेलो नियन्त्रणमा लिन नसकेको हो । डढेलोले धेरै स्थानमा जंगल सखापै पारेको छ ।
रामपुर नगरपालिकाको हरियाली र लाम्टाङ सामुदायिक वन उपभोक्ता समूहको सिमानामा लागेको डढेलो नियन्त्रणमा लिइएको छ । अन्य केही स्थानमा डढेलो नियन्त्रणमा आएका छन् ।

तर अन्यत्र भने बस्तीमा आउन नदिन पहरा दिएर बस्नु परेको डिभिजन वन कार्यालयका रेञ्जर यमलाल पोखरेलले बताए ।

उनका अनुसार निस्दी गाउँपालिका–२, सहलकोट सुकेकोटको सामुदायिक वन क्षेत्रमा भीषण आगलागी भैरहेको छ । मसारडाँडा सामुदायिक वन क्षेत्रको पोखराबारी, मोचोडाँडा, रातोपहाड, गम्भारी, चौरी खाल्टा क्षेत्रमा आगो फैलिएको सहलकोटका शिक्षक उमेश कुमार गाहाले बताए ।

सुकेकोट गाउँ भन्दा तल्लो क्षेत्रमा रहेको वनमा लागेको डढेलो तीव्रगतिमा फैलिएको छ । नियन्त्रणमा लिन कठिनाइ भएको गाहाले बताए । जंगलको बीचमा रहेका पोखराबारी र गम्भारी क्षेत्रका दुई वटा घरलाई जोगाउने प्रयास भैरहेको छ ।

रिब्दीकोट गाउँपालिकाको खस्यौली, भैरवस्थान, कुसुमखोलाका जंगलमा पनि डढेलो लागेको छ । तानसेन नगरपालिका–११, बौघापोखराथोक र तानसेन नगरपालिका–५ राउतेडाँडामा पनि रातभर डढेलो लागेको छ ।

खडेरी बढेसंगै जंगलमा डढेलो लाग्ने क्रम बढेको हो । दिनुहुँ जंगलमा डढेलो लागेको खबरले प्रहरी, प्रशासन र डिभिजन वन कार्यालय हैरान बनेका छन् । डिभिजन वन कार्यालयका अनुसार जिल्लाका ४७ सामुदायिक वनमा डढेलो लागेको छ । जंगलमा लागेको डढेलोले १ हजार ३ सय ३१ हेक्टर जंगल सखाप पारेको छ ।

तानसेन नगरपालिकाका सबैभन्दा धेरै १४ वटा सामुदायिक वनमा डढेलो लागेको छ । डिभिजन वन कार्यालयका रेञ्जर यमलाल पोखरेलका अनुसार तिनाउ गाउँपालिकाका १०, निस्दीमा २, रैनादेवी छहरामा ५, माथागढी र रिब्दीकोटमा ८ वटा सामुदायिक वनमा डढेलो लागेको छ ।

रिब्दीकोटमा सबैभन्दा धेरै ४ सय ७९ हेक्टर जंगल डढेलोबाट सखाप भएको रेञ्जर पोखरेलले बताए । ख्याहाको मधुवन सामुदायिक वन, भैरवस्थानको महजिर सल्लेरी सामुदायिक वन, लेकको, भालेगैरा, खुटीलाम ख¥यान सामुदायिक वन लगायतमा बढी डढेलोले जंगल सखाप पारेको छ ।

सामुदायिक र सरकारी जंगलमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । कतिपय स्थानमा छिटो घा“स पलाउने बहानामा डढेलो लगाएको हुन सक्ने तिनाउ सब–डिभिजनका सहायक वन अधिकृत रामध्यान शाहले बताए ।

कतिपय सामुदायिक वनमा भने बाहिरका मान्छेले डढेलो लगाइदिएका हुन् । केही दिनयता बढेको खडेरीले बढी डढेलो लागेको उपभोक्ता तिनाउ वन समन्वय समितिका पूर्व अध्यक्ष अमर प्रधानले बताए ।

डढेलोले जंगलका काठ, दाउरा, जडीवुटी तथा नयाँ पालुवा जलेर नष्ट भएको उनले बताए । माथागढीको झडेवा, गोठादी, तिनाउको दोभान, मस्याम लगायतका स्थानमा डढेलो लागेको छ । रामपुर नगरपालिका, पूर्वखोला र रम्भा गाउ“पालिकामा अहिलेसम्म डढेलो लागेको छैन ।

‘कसले बदमासी गरेको हुन्छ थाहा नै नहुने रहेछ,’ तिनाउ वन समन्वय समितिका अध्यक्ष पदमलाल शाक्यले भने, ‘यसरी डढेलो लगाउनेलाई भेटाउन नसकिने र गर्मीले गर्दा निभाउन जान पनि समस्या नै छ ।’

खडेरी र बढ्दो गर्मीले सामुदायिक वनका उपभोक्ता डढेलो निभाउन जंगल जान सक्ने अवस्था छैन । रैनादेवी छहरा–७, बल्ढेङ्गढीका उपभोक्ता रमेश खड्काले डढेलो नियन्त्रण गर्न खोज्दाखोज्दै नसकिएको बताए ।

चुरे र तराईसंग जोडिएका जंगलमा पनि डढेलो लागेको उनले बताए । ‘जंगली जनावर, चराचुरुङगी तथा वन नजिकका बस्तीहरुमा जोखिम बढेको छ,’ उनले भने, ‘जंगलमा कटानी, छटानी गरेर नया“ पालुवा हुर्काउने बेलामा भएको आगलागीले समस्या हुन्छ ।’ गर्मीले गर्दा आगो अघि पर्न समस्या छ ।

नवलपरासी र रुपन्देहीको सिमाना चुरे पहाड जंगलमा सिमानाभन्दा अगाडिबाटै आगो लगाइदिने गर्छन् । तिनाउ वन समन्वय समितिका वरिष्ठ उपाध्यक्ष दलबहादुर गुरुङका अनुसार डढेलोबाट अमला, हर्रो, बर्रो, दालचिनी, गानेगुर्जो, पिपला, सिसनी लगायतका बहुमुल्य जडीवुटी समेत नष्ट भएका छन् ।

चुरेक्षत्रमा तराईतर्फबाट लागेको डढेलो पहाडी बस्तीमा निभाउने प्रयास भएपनि नसकिने उनले बताए ।

सम्बन्धित खवर