किसन पोखरेल
पाल्पा । लकडाउनले गाउँ फर्केका पूर्वखोला गाउँपालिका–१, सिलुवाका २० वर्षीय विजय विक पुनः भारत नफर्कि सुखै भएन । भारतको मुम्बईमा मःम पसलमा काम गर्थे । मासिक भारतीय ९ हजार कमाई गर्ने उनी घर फर्केर पनि खासै काम गर्न सकेनन् । महामारीको डरले हतारमा घर फर्केका उनी अहिले पुनः अर्को ठाउँमा रोजगारका लागि गए । ‘हाम्रो लागि यहाँ कोही कसैले कामका विषयमा केही सोध्न आएको छैन,’ उनले भने, ‘कमाई केही नभएपछि अब भारत नगई सुःखै भएन ।’
उनी मात्र होइन, सिलुवाकै २५ वर्षीय टुकबहादुर सारुको पनि नेपालमा बस्न मन लागेन । उनलाई कहिले खुल्छ र जान पाउने हो भन्नेमै छन् । ‘गाउँघरमा परिवारसंग बस्दा खुसी थिए’ उनले भने, ‘तर आम्दानीको स्रोत भने केही भएन ।’ भारतको महाराष्ट्र मुम्बईबाट फर्केका उनले घरायसी काम गर्ने बाहेक आम्दानीको बाटो केही देखेनन् र पुनः उतै फर्केका हुन् । मुलुकमा संघीय, प्रदेश र स्थानीय सरकार छ । तर यसरी विदेशबाट फर्केका युवाका लागि अहिलेसम्म ठोस योजनासहित कोही गाउँ पुगेको छैन । त्यसैले विक र सारु जस्ता सयौं युवा पुनः भारत फर्किए । पूर्वखोलाको सिलुवामा मात्रै २ सय बढी युवा भारतबाट फर्केका छ्न् ।
उनीहरु अहिलेसम्म कोही पनि व्यवसायमा लागेका छैनन् । घरायसी काम बाहेक कुनै आम्दानीको स्रोत भेटाउन सकेनन् । स्थानीय सरकार पनि उनीहरुको घरदैलोसम्म पुगेर योजना माग्न सकेन । ‘परिवारसंग बसेर केही आम्दानी गर्न पाउने हो भने धेरै खुसी भएर बस्ने थियौं,’ सारुले भने, ‘अब यतै बसेर सानो तिर्न काम गर्न पाए जान मन छैन । तर केही काम पनि छैन ।’ रोजगार र स्वरोजगारमा सबैले सहयोग गर्ने हो भने भारत पुनः नजाने अर्का युवा सन्तोष रानाको सोँच थियो । तर बाध्यताले उनी पनि भारत फर्किसकेका छन् ।
कामका लागि पुनः भारत फर्किने रहर भने पटक्कै छैन । बाध्यताले पुनः भारत फर्किनुपर्ने उनले बताए । गाउँमै आत्मनिर्भर बन्न सके भारत नजाने उनको योजना छ । ‘तर के गर्नु कोही कसैले यस्तो योजना छ भन्ने आएनन्,’ उनले भने, ‘त्यसैले अब जोखना हेरेर भारत पुनः नफर्कि हँुदैन जस्तो छ ।’ १३ वर्षदेखि भारत बसेका रामपुर, गाँडाकोटका रामबहादुर अर्याल पनि गाउँमै स्वरोजगार हुन चाहान्थे । गाउँमा नगदका लागि कुनै माध्यम नभएपछि विदेश भौतारिन परेको उनको गुनासो छ । घरपरिवारमा गुजारा नभएपछि भारत जानु परेको उनले बाध्यता सुनाए । अब स्थानीय तहले सीप, अनुदान र निर्वियाजी ऋण दिए पुनः भारत नफर्किने युवाको भनाई छ । ‘काम गर्ने हो तर के काम गर्दा बजार सुनिश्चित हुन्छ भन्ने पनि भएन,’ उनले भने, ‘त्यसैले घरको आम्दानीका लागि पनि भारत नगई सुःखै भएन ।’
युवालाई परिवार छाडेर विदेशिने कुनै रहर छैन । परिवारसँग बसेर केही काम गर्ने वातावरण मिले पुनः भारत नजाने युवाको योजना थियो । तर स्थानीय, संघीय र प्रदेश सरकारले ठोस योजना ल्याउनै सकेनन् । सिलुवाका वडा सदस्य गिरमान आलेका अनुसार अहिलेसम्म प्रधानमन्त्री रोजगार कार्यक्रम बाहेक युवाका लागि कुने काम छैन । गतवर्ष वडामा ५९ जनाले फराम भरेकामा यसवर्ष २ सय ५० बढीले रोजगारका लागि फाराम भरेका छन् । ‘१० दिन भन्दा बढी रोजगार दिन सकिदैन,’ उनले भने, ‘अनि कसरी युवालाई टिकाउन सकिन्छ ?’
स्थानीय तहले गाउँ फर्केका युवाका लागि ठोस योजना भने बनाइ सकेका छैनन् । पूर्वखोला गाउँपालिकाका सूचना अधिकृत मोहन ढकालका अनुसार व्यवसायिक बाख्रापालन, कुखुरापालन, तरकारी खेतीका लागि अनुदानका कार्यक्रम छ । प्रदेश सरकारले पनि आव्हान गर्छ । तर गाउँ फर्केका युवासम्म सूचना पुग्न सक्देन । टाठाबाठा, राजनीतिक दलका कार्यकर्ताले नै त्यस्ता योजना हत्याउँछन् । ‘युवाले गर्न चाहने हो भने पालिकाले अनुदान दिन्छ,’ सूचना अधिकारी ढकालले भने, ‘तर सबै युवाका लागि रोजगारका लागि भनेर ठ्याक्कै ठोस कार्यक्रम भने छैन ।’
पूर्वखोला गाउँपालिका कार्यपालिका सदस्य राजु नेपालीले पनि युवाहरु धेरैले भारत फर्किन चाहेको बताए । गाउँमा बसेर काम गर्दा बजारको सुनिश्चितता नभएकाले पनि बढी भारत फर्किन खोजेको उनले बताए । रामपुर नगरपालिकाले गाउँ फर्केकालाई कृषि, पशुपालनमा आकर्षित गर्ने योजना ल्याएको छ । तर ठोस योजना भने नबनेको रामपुर नगरपालिकाले जनाएको छ ।
तानसेन नगरपालिका र रम्भा गाउँपालिकाले बिनाधितो सहुलियत ब्याजदरमा कर्जा दिएको छ । तानसेनले १ सय २० जनालाई नेपाल बैंक लिमिटेडमार्फत् युवालाई ऋण लगानी गरेको नगर प्रमुख अशोककुमार शाहीले बताए । अन्य पालिकाको युवालाई ऋण दिने ठोस योजना नै बनाएका छैनन् । सहुलियत कर्जाका लागि विदेशबाट फर्किएका युवाले योजना तथा कार्यक्रम पेश गर्नुपर्छ । त्यसका आधारमा नगरपालिकाले बिनाधितो ऋणका लागि वित्तीय संस्थामा सिफारिस गर्ने गरेको रम्भा गाउँपालिका अध्यक्ष विष्णु प्रसाद भण्डारीले बताए ।
तानसेन नगरपालिकाले ५० हजारदेखि बढीमा १० लाखसम्म विनाधितो ऋण दिने योजना बनाएको छ । रम्भाले बढीमा ५ लाख रुपैयाँसम्म प्रदान गर्नेछ । अन्य पालिकाले उत्पादनमा आधारित अनुदान दिने घोषणा गरेका छन् । विदेशबाट रोजगार गुमाई फर्किएकालाई समन्वय नै गरेका छैनन् । स्थानीय तहले स्वरोजगार बनाउने घोषणा गर्ने तर कार्यान्वयन पक्षमा भने अझै पुगेका छैनन् । रिब्दीकोटले भैसी, कुखुरा, बंगुर, बाख्रापालन गर्नेलाई अनुदानको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष नारायण बहादुर जीसीले बताए । तिनाउले युवालाई तालिम दिने योजना अघि सारेको छ । रामपुर नगरपालिका, रैनादेवीछहरा, माथागढी, पूर्वखोला, बगनासकाली गाउँपालिकाले दुई वर्षदेखि बाँझो जग्गामा पुनः खेती गर्ने किसानका लागि प्रतिरोपनी पाँच हजारसम्म अनुदानको व्यवस्था गरेको छ । यसवर्ष ३ सय बढी बढी परिवारले बाँझो जमिनमा तरकारी तथा फलफूल लगाएका छन् । युवाको रोजगार र स्वरोजगारको ग्यारेन्टी भने कुनै पनि पालिकाको योजना छैन ।