
डिभिजन वन कार्यालयमा डार्टिङ गन नहुँदा वन्यजन्तु उद्दारमा कठिनाई हुने गरेको छ । विगतका वर्षदेखि नै कुरा उठ्दै आएपनि डिभिजन वन कार्यालयले डार्टिङ गनको व्यवस्थापन गर्न सकेको छैन । त्यसैले वन्यजन्तु उद्दारमा कठिनाई भएको हो । यसैसाता तानसेन बजार नजिकै ढुंगा खानीमा रहेको कालिज फार्ममा चितुवा पस्यो । त्यसलाई बेहोस बनाउन नसक्दा कम्तीमा पाँच घण्टा के गर्ने भन्ने अलमल नै भयो । फार्ममा पसेको चितुवाले कालिज मारेर क्षति गरेको छ । चितुवालााई छिटै नियन्त्रणमा लिन सक्ने अवस्था थिएन । रमिते धेरै भए तर काम गर्ने कोही भएन । अन्तत नेपाली सेनाले तारजाली काटेर बाहिर पठाउने काम भयो । डार्टिङ गन हुन्थ्यो भने चितुवालाई बेहोस बनाएर वन्यजन्तु आरक्षणमा पठाउन सकिने थियो ।
फार्म नजिकै रहेको रुखमा चढेर हरियो जाली च्यातेर चितुवा पसेको थियो । गाउँघरमा बाख्राको खोरमा पनि चितुवा पस्छ । चराउन लगेका गाईवस्तु खाइदिने, मान्छेलाई आक्रमण पनि गर्छ । तर पनि यसलाई पक्राउ गर्न भने समस्या नै छ । सुरक्षा निकायको सहयोग सदरमुकाम नजिकै होला तर जतासुकै तत्काल सुरक्षा पाउन समस्या छ । डार्टिङ गन हुन्थ्यो भने तत्काल सहयोग गर्न पुग्न सक्ने थिए । तर बन्दोवस्तीको सामाग्री पनि छैन । गएर रमिते बन्नेभन्दा अरु केही उपाय हुँदैन । उद्दारमा कठिनाई मात्र होइन, वन्यजन्तुको अकालमा मृत्युसमेत हुने गरेको छ । तर वन्यजन्तुलाई बेहोस बनाएर आरक्षमा पठाउन सक्ने हो भने ज्यान पनि जाने थिएन ।
नजिकका जिल्लामा समेत डार्टिङ गन छैन । पोखरा र नेपालगञ्ज, चितवनबाट डार्टिङ गन ल्याउन समस्या नै हुन्छ । गन लिएर आउन्जेल वन्यजन्तुले थप क्षति गर्ने हुन्छ । त्यसैले विभिन्न उपाय अपनाएर बाहिर छाड्ने काम भइरहेको छ । त्यसैले एक जिल्ला एक डार्टिङ गन हुने हो भने वन्यजन्तु नियन्त्रण लिन सहज हुने थियो । किने भने पछिल्लो समयमा मानव र वन्यजन्तुको लडाई भइरहेको छ । वन्दोबस्तीका सामाग्री व्यवस्थापनका लागि प्रदेश सरकारले पनि बेलैमा सोच्नु पर्छ । यस विषयमा स्थानीय प्रशासन, राजनीतिक दल, नागरिक समाजलेसमेत दबाब दिनुपर्ने हुन्छ ।