
मुलुकभरका राजमार्गमा सवारी साधनमा यात्रा गर्दा कहिँकतै पटके सवारी कर तिर्नु पर्दैन । तर तानसेन नगरपालिकामा प्रवेश गर्दा भने कानून विपरितको पटके कर नतिरी सुःखै भएन । दुई वर्षअघिको कुरा थियो यो । तर यसवर्ष पनि पुनः पुस २२ गतेबाट पटके सवारी कर उठाउन सुरु गरेको थियो । तर केही दिनअघि मात्र जिल्ला प्रशासन कार्यालयको पत्रबाट उठाउन स्थगन भएको छ । तानसेन नगरपालिकाका अनुसार अहिलेलाई स्थगन भएको हो । तर उठाउने कानूनी बैद्यता छ त ? कानून अनुसार अहिले पटके कर उठाएको होङ्दीमा उठाउन मिल्दैन । यो सहायक राजमार्ग हो । पछिल्लो निर्णय अनुसार यो राष्ट्रिय राजमार्ग हो । राजमार्ग, सहायक राजमार्गमा गुड्ने सवारी साधनलाई अनावश्यक रुपमा दोहोरो कर लगाएको छ । यस विषयमा पाल्पा उद्योग वाणिज्य संघ र पाल्पा व्यापार चुइक्क बोल्न सकेनन् ।
सर्वसाधारण नागरिकमात्र होइन, यातायात व्यवसायी पटके करबाट आजित बनेका छन् । स्थानीय तह भएपनि करको मारमा परेका जनता पुनः पटके कर तिर्दा वाक्क भएका छ्न । तर यसमा अझै पनि तानसेन नगरपालिका कर स्थगन मात्र भएको छ भन्दै छ । किन कर तिर्ने ? के का लागि पटके कर तिर्ने ? नगर प्रवेशको सडकको दुराअवस्था हेर्दा जो कोहीलाई कर तिर्न मन लाग्दैन । बर्तुङदेखि बसपार्कसम्मको सडकको अवस्था मात्र होइन बसपार्कबाट ढुंगाखानी हुँदै भैरवस्थानसम्म बाटो चौडा गर्न नगरपालिका तम्सिन्छ तर यसको स्तरोन्नति छिटो गर्न पर्दैन । नागरिक धुलाम्मे भएर हिडेका छन् । ग्रामीण भुत्ते सडकमा जस्तो खाल्डाखुल्डी छन् । अनि भन्छ, स्थानीय पूर्वाधार उपभोग शुल्क । अनावश्यक रुपमा नागरिकलाई सास्ती दिनु स्थानीय सरकारको मनोमानी हो, स्वेच्छाचारिता हो ।
राजश्व बढाउनका लागि फराकिलो दायरा बनाउने हो । फराकिलो दायरा भनेर कानून विपरित कर उठाउने होइन । संघीय र प्रदेश सरकारले गरेका निर्देशनलाई पालना गर्नुपर्छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ संघीय सरकारले बनाएको हो । उसैले पठाउने निर्देशन पनि त आधिकारिक हुन् । उसले पठाएका निर्णय अवज्ञा गर्ने नगरपालिकालाई किमार्थ छुट छैन । प्रदेश सरकार र संघीय सरकार भन्दा हामी अलग हौ भन्ने स्थानीय सरकारले आफ्नो राजश्वबाट मात्र कर्मचारी पाल्नसमेत सक्दैन । संघ र प्रदेशको बजेटबाट रजाई गर्ने स्थानीय सरकार अहिले आएर उसैले बनाएको कानून मान्दिन भन्न मिल्छ ? त्यसैले प्रश्न यो हो कि, सवारी साधनमा लगाएको पटके कर किन ?