पाल्पा, पहाडी मगर बस्तीमा यस पटक सामूहिक माघी मनाइएन । कोरोना भाइरस संक्रमण त्रासका कारण सामूहिक भेला भएर माघी नमनाएका हुन् । अघिल्ला वर्षमा भने मगर बस्तीमा भेला भएर सामूहिक मनाउने गर्थे । पाल्पामा ५२ प्रतिशत बढी मगर समुदायको बसोवास छ । निस्दी, पूर्वखोला, माथागढी, तिनाउ, रिब्दीकोट गाउँपालिकामा मगरबस्ती बढी छ ।
माघे संक्रान्तिलाई मगर समुदायले विशेष पर्वका रुपमा मनाउने गर्छन् । तराईमा थारुको माघी जस्तै पहाडका मगरले संक्रान्ति पर्वलाई धुमधामका साथ मनाउने गर्छन् । नेपाल मगर संघकी अगुवा महिला प्रतिक्षा गाहा सिंजालीका अनुसार कला र संस्कृति प्रदर्शन गर्ने बटुक, तरुल, नाम्या, चोच्याको मासु खाने पर्व माघे संक्रान्ति हो । तर यसवर्ष भने घरघरमै माघी मनाइएको छ । कुनै मेला पर्व भएन । सामूहिक रुपमा माघी मनाइएन ।
माघे संक्रान्ति चाड विशेष त चेली पर्वको रूपमा मनाइन्छ । नयाँ यामको सुरुवात यसै दिनदेखि सुरु भई साउने संक्रान्ति समापन हुनेगर्छ । ‘आफन्तहरू भेटघाट गरी सोरठी, कौडा, मारुनी, झाम्रे, घा“टु नाच नाच्छौं,’ उनले भनिन्, ‘ठाउँ अनुसार तीन दिनसम्म यो चाड मनाउने गरिन्छ ।’ उनका अनुसार यसवर्ष भने सामूहिक रुपमा नमनाउने निर्णय भएको छ । जेठी, माहिली र कान्छी संक्रान्तिसम्म नाचगान, चेलीवेटी भेटघाट, रमाइलो गरेर मनाउने अर्की मगर महिला अगुवा शान्ति झेडीले बताइन् । जिल्लाका सबै मगर बस्तीमा माघीमा विशेष रौनक हुन्छ । चोचे, बंगुर काट्ने, टोलटोलमा भेला भएर नाचगान गर्ने चलन पूरानो हो ।
मगर समुदायले यस पर्वको अवसरमा आफ्नो संस्कृति र परम्परालाई जोगाउने गर्छन् । सामान्यतयाः सुर्यले सबै राशिलाई प्रभावित गरे पनि सुर्यको कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति) प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ । मगरहरु खानपानमा मात्र होइन, कला संस्कृति प्रस्तुत गर्ने गर्छन् । ‘अघिल्ला वर्षमा मेला, पर्व र सामुहिक रुपमा मनाउने गरिन्थ्यो,’ नेपाल मगर संघका जिल्ला अध्यक्ष तेजबहादुर घर्तिले भने, ‘यसवर्ष सामुहिक रुपमा नमनाउने निर्णय भएकाले घरघरमै मनाउने भएका हुन् ।’
माघे संक्रान्तिमा मगर समुदयामा बटुक (झिलिङ्गी, केराउ, बोडीबाट बनाउने परिकार), घर र वन (नाम्या) तरुल खाने गरिन्छ । मगरहरु कला र संस्कृति जोगाउन झाम्रे, कौरा, सालैजो, ठूलो नाच नाच्ने गर्छन् । ‘यसपटक सामुहिक नमनाउने भएपछि घरमै तयारी गरेका छौं,’ उनले भने, ‘घरमै बटुक पोल्ने (पकाउने) तरुल खन्ने खाने गरिन्छ ।’ संक्रान्ति मनाउने वन तरुल (नाम्या) खन्न व्यस्त छन् । मगर वस्तीमा दैनिक जंगल र बारीमा खनेका तरुल बिक्रीसमेत गर्छन् ।
कोलडा“डाका तारा घर्तिले वन तरुल, बारीका रातो तरुलका साथै सखरखण्ड खनेर ३० हजार बढी आम्दानी गरेका छन् । घरमा पाहुना खुवाउने तयारी छ । बढी भएको तरुल, सखरखण्ड बजार पठाएको उनले बताए । ‘माघे संक्रान्तिको बेलामा आम्दानीको स्रोत पनि हो,’ उनले भने । उनी मात्र होइन कोलडा“डाका अधिकांश बस्तीबाट वन तरुल खन्ने र बिक्री गरेर आम्दानी गर्छन् । माघे संक्रान्ति मनाउने र बिक्री गरेर केही आम्दानी पनि गर्छन् । कोलडा“डा, बिस्कुनडाँडा, सत्यवती लगायतका गाउ“मा अहिले वन तरुल बिक्री गरेका छ्न ।
जिल्लाका मित्याल, गल्धा, ज्यामिरे, बहादुरपुर लगायतका गाउ“मा पनि वन, घर तरुल, सखरखण्ड बिक्री गर्न लग्ने चटारो छ । मगर समुदायले बजारमा लगेर बिक्री गर्ने नभई पाहुना र छिमेकलाई खुवाउने गर्छन् । मगर समुदायले माघे संक्रान्तिमा वन तरुल, घर तरुलका साथै सखरखण्ड, बटुक (बारा), चोच्याको मासु खाने गर्छन् । पाहुनालाई मगर समुदायले माघीमा यही परिकार खुवाउछन् । गाउ“का सबै भेला भएर संक्रान्ति मनाउने चलन पनि यसवर्ष रोकिएको छ ।