पाल्पा । सरकारका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठन भएको तीन वर्षमै छिमेकी देशहरूसँगको सम्बन्ध सुधार भएको बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले नाकाबन्दीले बिगारेको दक्षिणतर्फ छिमेकी भारतको सम्बन्ध सुध्रिएको बताए ।
उनले भारतसँगको सिमाना कालपानी, लिपुलेक, लिम्पियाधुरा समेटेर नयाँ नक्सा नेपाल सरकारले प्रकाशन भएपछि भने भारतसँगको सम्बन्ध केही चिसिएको बताए । पछिल्लो समयमा सम्बन्धमा सुधार भएको बताउँदै उनले छिमेकी मुलुकसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको दाबी उनको छ । कुटनीतिक माध्यमबाट समस्या समाधान गर्न दुवै देश सहमत भएको कुरा नराम्रो मान्न नसकिने उनले बताए ।
छिमेकी मुलुकको सम्बन्धलाई राम्रो बनाउन उत्तरतर्फको चीन र दक्षिणतर्फको भारतलाई बराबरीमा हुनुपर्नेमा मन्त्री ज्ञवालीले जोड दिए । राष्ट्रिय हितलाई केन्द्रमा राखेर सम्बन्ध कायम हुने बताउँदै उनले दुई देशका सीमा क्षेत्रमा अतिक्रमित भूमि फिर्ता हुनु पर्ने बताए । उनले १९५० को सन्धिका कतिपय प्रावधान पुनरावलोकन हुनुपर्ने बताउँदै धेरै वर्ष पहिलेदेखि अधुरा रहेका कतिपय समस्या यथावत रहेकाले तत्काल समाधान गर्नुपर्ने लगायतको काम बाँकी रहेको मन्त्री ज्ञवालीले बताए ।
मन्त्री ज्ञवालीले फरक प्रसंगमा बोल्दै सदनमा बहुमत प्राप्त प्रधानमन्त्रीलाई चौतर्फी घेराबन्दी गरेर काम गर्न अवरोध सिर्जना भएपछि प्रतिनिधिसभा विघटन गर्न बाध्य भएको बताएका थिए । उनले प्रतिनिधिसभा विघटन संवैधानिक र लोकतान्त्रिक भएको पनि दाबी गरे । मन्त्री ज्ञवालीले प्रतिनिधिसभा विघटन राष्ट्र र नेपाली जनताको हितमा चालिएको यो बाध्यात्मक कदम भएको बताए । उनले केही नेताहरूको पद लोलुपताको कारण यो परिस्थिति आएको पनि जिकिर गरे । उनले केही नेताहरुको कहिल्यै तृप्त नहुने पदको महत्वकांक्षा बढिरहेको बताए ।
‘जतिचोटी अध्यक्ष भए पनि नहुने, जतिपटक प्रधानमन्त्री भएपनि नहुने, घुमिफिरी उहाँहरुलाई नै पद चाहिने, त्यो पनि कुनै विधिबाट होइन । केही नेताहरूको यस्तो प्रवृत्तिलाई अन्त्य गर्न र उनीहरूको स्वार्थले अप्ठ्यारोमा पर्न थालेको मुलुकलाई बचाउन प्रधानमन्त्री यो कदम चाल्न बाध्य हुनु भएको हो । यो कुनै लहड वा सनकका भरमा होइन । सोँचबुझका साथ भएको हो ।’
मन्त्री ज्ञवालीले सरकारले गरेका काम जनतालाई चित्त बुझिरहेको पनि दाबी गरे । उनले भने, ‘नाकाबन्दीको बेला सरकारले लिएको अडान, कालापानी लिपुलेक, लिम्पियाधुराबारे सरकारले लिएको अडान र निर्णयबारे जनता खुसी छन् । केही नेतालाई चित्त नबुझे फरक पर्दैन । सरकार ती नेता रिझाउन नभई जनताको बीचमा जान खोजेको हो । लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष नै यही नै हो । जनतामा जान्छु भन्नु कसरी अलोकतान्त्रिक र गैरसंवैधानिक भयो ?’ उनले भने ।
उनले महाधिवेशनबाट निर्वाचित भएर अध्यक्ष र ताजा जनादेशबाट प्रधानमन्त्री बनेर देखाउन चुनौती दिए । ‘संसद विघटनको मुद्दा सर्वोच्चमा विचाराधीन छ । यसको अन्तिम फैसला गर्ने अख्तियारी जनतालाई मात्र हुनेछ । बैशाखमा हुने निर्वाचनले राजनीतिको शुद्धीकरण गर्ने छ,’ उनले भने । पत्रकार भेटघाट कार्यक्रम नेपाल पत्रकार महासंघका अध्यक्ष राजेशकुमार अर्यालको अध्यक्षता र सचिव किरण कौशलको संचालनमा सम्पन्न भएको हो ।
उता, मन्त्री ज्ञवालीले नेपाल कम्युनिस्ट पार्टी पाल्पाका ओली समूहका अगुवा कार्यकर्ता भेलालाई समेत सम्बोधन गरेका छन् । मन्त्री ज्ञवालीले मुलुक निर्वाचनमा होमिएकाले विना कुनै द्विविधा निर्वाचनको तयारीमा लाग्न कार्यकर्तालाई आग्रह गरे । उनले पार्टी भित्रैबाट देखिएको समस्या र काम गर्न नपाएकाले निर्वाचनको घोषणा गर्नु परेको बताए ।
देशमा यति बेला जीवन र जिविका व्यवस्थापन गर्नु पर्ने बेला भएको उनले बताए । तर राजनीतिक अवस्थाले फरक रुप लिएको मन्त्री ज्ञवालीले बताए । उनले अहिले प्रचण्ड नेपाल समुहले नेपाली जनताबाट प्राप्त उपलव्धिको बेवास्ता गर्दै पदका लागि तृप्त नहुँदा अहलिेको अवस्था आएको बताए । तानसेनमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले २०७४ को चुनावपछि नै पुष्पकमल दाहाल प्रचण्डले अनेक बखेडा झिकेको आरोपसमेत लगाए ।
मन्त्री ज्ञवालीले केपी ओलीले कुनै सनकका भरमा प्रतिनिधि सभा विघटन गरेको नभई सरकार गठन भएपछि प्रचण्ड र माधव कुमार नेपालबाट विभिन्न बहानामा खुट्टा तान्ने अनेकौ प्रयास भएपछि अन्तिम अस्त्रका रुपमा अहिलेको अवस्था निम्तिएको बताए । उनले मानव विकासको हिसाबले नेपाल मध्यम स्थान आएको बताउँदै नेपालको प्रत्येक सूचकांकमा सकारात्मक प्रगति हुँदै गएको बताए । पार्टी गतिशील हुने बताउँदै जनताका मुद्दामा जोडिएर पार्टी अगाडि बढनुपर्ने उनले बताए । पार्टीमा संख्याले मात्र होईन गतिशील महत्त्वपूर्ण भुमिका खेल्ने उनको भनाई थियो ।
कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य धनेन्द्रराज घिमिरेले राम्रो काम गर्दागदै पनि आफ्नै पार्टीका साथीहरुले काम गर्न नदिएकाले अहिलेको परिस्थिति सिर्जना भएको बताए । केन्द्रीय सदस्य झपेन्द्र जिसी, प्रदेशसभा सदस्य युबराज खनाल, जिल्ला अध्यक्ष तथा प्रदेशसभा सदस्य नारायण आचार्य, निस्दी गाउँपालिकाका अध्यक्ष मुक्त बहादुर सारु लगायतले पार्टीले कोही कसैलाई कारबाही नगरेको र सडकमा ओर्लिएकाहरु पनि पुनः यही पार्टीमै समावेश हुन सक्ने बताएका थिए । कार्यक्रम नेकपा जिल्ला अध्यक्ष नारायण आचार्यको अध्यक्षता, लक्ष्मी पाठकको स्वागत, मीरा मरासिनीकाो धन्यवाद र रामजी पोखरेलको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा विभिन्न पार्टीबाट नेकपामा प्रवेश गर्नेहरुलाई परराष्ट्रमन्त्री ज्ञवालीले टिका लगाएर स्वागत गरे । मन्त्री ज्ञवालीले केन्द्रीय सदस्यसँग समेत भेटघाट तथा छलफल गरेका थिए ।