पाल्पा, यसवर्ष जिल्लाका अग्ला डाँडामा रहेका कोताघर सुनसान बने । तरवार ठोक्काएर नाचिने सराय पनि यस वर्ष नाचिएन । कोरोना भाइरस संक्रमणको त्रास र जिल्ला प्रशासनको आग्रहलाई मध्य नजर गर्दै यसवर्ष कोतघरमा सराय ननाचिएको हो । देवीका मन्दिर र कोतघरमा पहाडी जिल्ला पाल्पाका विभिन्न स्थानमा सराय नाचिन्छ ।
घटस्थापनादेखि सुरु भएको बडादसैं शनिबार कोजाग्रत पूर्णिमासँगै सकिएको छ । फुलपाती, जमरा, टिका बिसर्जन सामान्य ढंगबाट गरियो । सहरबजारमा जमरा राखेका माटो दोबाटो र अगाडि लगेर बिसर्जन गरी राखे । गाउँघरमा कुवा, नदी, नजिकका धारा, पधेरा र दोबाटोमा लगेर बिसर्जन गरे । त्यस्तै जलराखी स्थापना गरिएको घट अर्थात् कलशको जलले घरका सबै कोठामा छर्केर पवित्र पारी दसैंको विदाई गरिने ऐतिहासिक दसैं घरका पुजारी निलकण्ठ गौतमले बताए ।
उनका अनुसार कोजाग्रत पूर्णिमा (को जागा बस्छ ?) को रातमा धनधान्यकी देवी महालक्ष्मीको पूजाआराधना र भजनकिर्तन गर्ने चलन छ । लक्ष्मीको स्वागतार्थ रातभर उज्यालो पारेर राख्ने चलन पनि गर्थेे । अहिले यस्तो चलन हराउँदै गएको पण्डित गौतमले बताए । यसै रातदेखि एक महिनासम्म घरघरमा छाना अथवा कौसीमा अग्लो बाँस राखेर त्यसामा आकाशदीप बाल्ने गरिन्छ ।
पाल्पाको पश्चिम भेगमा पूर्णिमाकै दिन सराय खेल्ने गरिन्छ । पन्चेबाजाको तालमा नाचगान गर्दै दसैंको विदाई गर्ने चलन थियो । कोरोना भाइरसको महामारीका कारण यसवर्ष मेला लागेनन् । प्रतियोगिता भएनन् । सराय नाच्न पनि सकिएन । जिल्लाका मुझुङ्, अर्गली, बौघागुम्हा, लिपिन्देवी लगायतका स्थानमा राष्ट्रियस्तरमा ख्यातीप्राप्त कलाकारलाई बोलाएर नाचगान गर्ने गर्थे ।
पूर्वभेगमा भने सप्तमीदेखि सुरु हुन्छ । कालरात्रीबाटै नाच्न सुरु हुन्छ । देवीका मन्दिरमा नाच्ने, तरबार ठोक्काउने, पञ्चेबाजा बजाउने, वाख्वाई ह्वा भन्दै रमाइले गर्ने परम्परा थियो । अग्लो स्थानमा रहेका कोतघर र शक्तिपिठहरुमा सराय नाच्थे । मुझुङ्का रामबहादुर कार्कीका अनुसार यो नाच फरक स्थानमा फरक दिनमा नाच्ने चलन छ ।
पाल्पाको केही भागमा दसैंको अष्टमीको राती (कालरात्री) देखि नै नाच्ने चलन छ । कतिपय स्थानमा दसैंको राती र द्वादसीपछि पनि नाचिन्छ । रैनादेवी छहरामा पूर्णिमाको चारदिनपछि ‘दमिनी सराय’ निकाल्ने चलन रहे पनि यसवर्ष कोरोना कहरले सामान्य मन्दिर घुम्ने र परम्परा धान्ने योजना रहेको रैनादेवी छहरा–४, छहराका वडाध्यक्ष विष्णु पोखरेलले बताए ।
पहाडी बस्तीमा रमाइलो मेलासहित यो नाच देख्न पाइन्छ । यसलाई एक प्रकारको खेलका रुपमासमेत लिइन्छ । पञ्चेबाजा बजाएर मन्दिरमा चढाएका खुकुरी, तरबार र खुँडा नचाएर एकापसमा जोडिएर सराय नाच्ने र खेल्ने गरिन्छ ।
कोतघरको आँगनमै पनि यो नाच्ने चलन रहेको बन्दीपोखराका शेरबहादुर खातीले बताए । ऐतिहासिक हातहतियारको भण्डार पनि कोतघरमा हुने हुँदा कोत नजिकै सरायामा उत्सवको नाच खेलिने साँस्कृतिक परम्परा भएकाले यस नाचलाई सराय नाच भन्ने गरिएको इतिहासविज्ञ निर्मल श्रेष्ठले बताए ।
सरायले ऐतिहासिक संस्कति जोगाउने काम गर्छ । अहिले पनि कोतघरमा नाचिने सराय हेर्न धेरै ठूलो भीड जम्मा हुन्छ । परम्परादेखि नै गाउँको देवी मन्दिरमा भएका सयौं खुँडाहरुलाई धारिलो बनाई प्रत्येक वर्ष विशेषगरी कोजाग्रत पूर्णिमामा निकालेर ठोक्काउने चलन रहेको छ । इतिहासविद् श्रेष्ठका अनुसार भुरे–टाकुरे राजाहरुको युद्धमात्र होइन दैत्यामाथि देवीको विजयको उत्सवको रुपमा मनाइने यो नाचमा पौराणिक युद्धमा प्रयोग हुने हतियार प्रदर्शन गर्ने चलन छ । सराय नाचको प्रचन बाइसे–चौबिसे राज्यकाल ( १५ औं शताब्दि) बाट सुरुवात भएको हो ।
खालीवन, जव्गादी, सिलुवा, गेझा, गल्धा लगायतका स्थानमा फुलपाती दसैंघरमा लगि विर्सजन गर्ने दिनबाटै सराय सुरु गरिन्थ्यो । अष्टमी, नवमी र दशमीको दिनमा तरवार ठोक्काउने, बली दिइएका पशुको टाउकोलाई वाख्वाई ह्वा गर्दै नचाउने, रमाईलो गर्दै सराय खेल्ने र नाच्ने चलन छ ।
कोतघर, देवीको मन्दिरमा राखिएका हतियारलाई प्रदर्शन गर्दै पन्चेबाजाको तालमा नाच्दै, खेल्दै, रमाउदै परिक्रमा गरिन्छ । अष्टमीको दिनमा बली दिने र देवी खुसी पार्न तरवार ठोक्काउने र नचाउने गर्दा हेर्नेले समेत रमाईलो मान्दै आनन्द लिन्छन् । खेलमा युवाहरु साथै अधवैशे लोग्नेमानिसले भाग लिएका हुन्थे ।
पञ्चेबाजाको डुंग, डुंग कि डुंगको तालमा खुकुरी, खुडा, तरवार नचाउने र खेल प्रदर्शन गर्ने चलन छ । विभिन्न हतियार प्रयोग गरिने भएकोले यो डरलाग्दो साथै रमाईलो खेलको रुपमा लिइन्छ । तरबार, खुँडा, भाला, ठोक्काएर नचायो भने देवी खुसी पार्न सकिन्छ भन्ने यस क्षेत्रमा जनविश्वास छ ।
विभिन्न रंगका बस्त्र पहिरेर, टिका, ध्वजा पतका लगाई दसैंको विदाइको रुपमा सराय खेल्ने पुरानो चलन हो । सरायलाई विजय पछिको हर्ष बढाईको खेलको रुपमा समेत लिइने बन्दीपोखराका दामोदर घिमिरेले बताए ।
राक्षसमाथि विजय हासिल गरेपछि सत्यका पुजारीहरुले लडाईको सम्झना गर्दै लडाईमा प्रयोग भएका हतियारको प्रदर्शन र लडाईको छनक देखाएर हर्ष बढाई गर्ने चलन रहेको छ ।